Logo
|
Thursday 25th April 2024
Logo

epaper

पछाडिबाट ल्याएर हालेको कपाल फेरी झर्दैन डा. साब ?

डा. कमल राज धिताल



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  सामान्यतया स्कारिङ र नन् स्कारिङ गरी दुई प्रक्रियाबाट कपाल झर्छ । नन् स्कारिङ एलोपिसिया जसमा कपालको जरा मरेको हुँदैन । स्कारिङ एलोपिसियामा कपालको जरा पनि मर्छ । जसले गर्दा फेरि कपाल पलाउने सम्भावना हुँदैन । नन् स्कारिक एलोपिसियामा टेलोजिन एफ्लुभियनका कारण नुहाँउदा, कपाल कोर्दा, सग्लो कपाल झर्नसक्छ । साथै थायराइड, रक्तअल्पता, हेमोग्लोविनको कमी, दीर्घ रोग, ज्वरो, शल्यक्रिया आदि कारणले कपाल झर्नसक्छ । बच्चा जन्मिसकेपछि महिलाहरुमा यस प्रकारको

डा. कमल राज धिताल ,कपाल प्रत्यारोपण विशेषज्ञ

समस्या देखिनसक्छ । यस प्रकारको कपाल झर्ने कारण पत्ता लगाएर मेडिकल उपचार गरेमा केहि समयपछि कपाल आफैं पलाउँदै जान्छ । स्कारिङ एलोपेसियामा चोटपटकलगायत विभिन्न कारणले टाउकोको कपालको जरा मर्छ ।

मेडिकल उपचारले कपाल पलाउँदैन । यस्तो अवस्थामा कपाल प्रत्यारोपण नै मुख्य विकल्प हो ।  कपाल प्रत्यारोपण गर्दा पछाडीको भागको कपाललाई निकालेर अगाडी पट्टी खाल्टा बनाएर रोपिन्छ । कतिपय मानिसहरु प्रश्न गर्छन्, के पछाडिबाट ल्याएर हालेको कपाल फेरी झर्दैन डा. साब ? यसको उत्तर के छ भने पुरुषको कपाल झर्ने प्रक्रियालाई एन्ड्रोजेनेटिक एलोपिसिया भनिन्छ । यो टेस्टोस्टेरोन हर्मोनको कारणले कपाल झर्ने समस्या हो । हर्मोन बढी भएर झर्ने होइन । हर्मोन समान्य भएपनि झर्न सक्छ । टेस्टोस्टेरोन हर्मोनले पुरुषको शरीरमा दाह्री जुङ्गा ल्याउने र पुरुषको जस्तो शारीरिक बनोट बनाउने काम गर्छ । तर यो हर्मोनको नकारात्मक पक्ष भनेको अन्यन्त्र सबै भागमा कपाल ल्याउँछ । तर टाउकोको अगाडी पट्टीको भागको कपाल झार्दछ । टाउकोको पछाडिको कपाललाई हर्मोनले कुनै असर गर्दैन । त्यसकारण कपाल प्रत्यारोपण गर्दा हर्मोनले मार्न नसक्ने कपाल प्रत्यारोपण गरिने हुँदा प्रत्यारोपण गरिएको कपाल फेरि झर्दैन ।

अगाडीपट्टी टाउकोको कपाललाई तिन भागमा विभाजन गरिएको हुन्छ । फ्रन्ट जोन, मिड स्काल्प र टुप्पी आउने क्षेत्र जसलाई भटिक्स भनिन्छ । कपाल कति झरेको छ त्यहि अनुसार हिसाब गरेर रौँ झिकेर हालिन्छ । पछाडीबाट ४ हजार देखि ४५ सय सम्म कपाल निकालिन्छ । यदि नपुगेको अवस्थामा दाह्रीबाट पनि निकाल्न सकिन्छ । नेपालमा धेरैजसो फोलिक्युलर युनिट एक्ट्रयाक्सन (एफयुई) प्रविधिबाट कपाल प्रत्यारोपण गरिन्छ । एउटा एउटा गरेर रौँ निकाले र कपाल नभएको अगाडि पट्टीको भागमा खाल्टो बनाएर प्रत्यारोपण गरिन्छ ।
कपाल प्रत्यारोपण गर्दा अपनाउनुपर्ने साबधानी
२५ वर्ष भन्दा कम उमेर भएका मानिसलाई कपाल प्रत्यारोपण गरिँदैन । कपाल प्रत्यारोपण गर्ने व्यक्तिको रक्तचाप र मधुमेह नियन्त्रण हुनुपर्छ । मुटु सम्बन्धि समस्या भएका बिरामीहरुलाई प्रत्यारोपण गर्न मिल्दैन । धेरै अपेक्षा गर्ने मानिसलाई पनि प्रत्यारोपण गरिदैँन । जस्तै कसैको कपाल असाध्यै पातलो छ तर उनीहरु कपाल बाक्लो आउँछ भन्ने धारणा राख्छन् भने उनीहरुलाई पनि प्रत्यारोपण गरिँदैन । धेरै टाउकोमा संक्रमण भइरहने मानिसलाई पनि प्रत्यारोपण गर्न मिल्दैन । २५ वर्ष माथि ७५ बर्ष सम्मका व्यक्तिलाई कपाल प्रत्यारोपण गर्न सकिन्छ । कपाल प्रत्यारोपण गर्न चाहने व्यक्तिले कम्तिमा एक डेढ महिना अघिदेखि धुम्रपान छाड्नुपर्छ । मद्यपान सेवन पनि कपालका लागि राम्रो मानिदैन । बिरामीले औषधि लिइरहेको अवस्थामा औषधि रोक्नुपर्ने हुन्छ । कपाल प्रत्यारोपण गरिसकेपछि केही समयका लागि नियमित औषधि लगाइरहनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्