Logo
|
Saturday 20th April 2024
Logo

epaper

उचाई बढाउन सकिन्छ ? जानौँ । 



डा. नरेश पराजुली / मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ

हाम्रो समाजमा होचा कद भएका मानिसहरु धेरै छन् । उचाई कम हुनुलाई कतिपयले नकारात्मक दृष्टिले हेर्ने गर्दछन् । उनीहरुलाई डल्ले/डल्ली, पुड्के / पुड्की लगाएतका अनेक उपनामले बोलाउने र जिस्काउने गरिन्छ । वास्तवमा यो गलत हो । उचाइको आधारमा कसैलाई फरक दृष्टिले हेर्नु अपराध हो ।
बच्चा जन्मिए पछि उमेर अनुसार उसको उचाई पनि बढ्दै जान्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बच्चा जन्मिदा उसको सरदर उचाई ५० सेन्टिमिटर हुनुपर्दछ । यसलाई सामान्य मानिन्छ । त्यसको एकवर्ष भित्र उसको उचाई बढेर ७५ सेन्टिमिटर हुनुपर्दछ । त्यसपछि प्रत्यक वर्ष ७ देखि ८ सेन्टिमिटरको दरले विस्तारै उचाई बढ्दै जानु पर्दछ । उमेर अनुसार उचाई कम भएमा या उचाई नबढ्नुलाई होचो कद या कम कद भन्ने गरिन्छ । ग्रोथ चार्ट प्लटिङबाट कद मापन गरिन्छ ।

सामान्यतया गर्भावस्था, वाल्यअवस्था, यौन परिपक्कताको अवस्था र वयस्क अवस्थामा मानिसको उचाई बढ्ने गर्दछ । उचाई बढाउन ग्रोथ हर्मोनको अहम भुमिका रहन्छ । किशोरी महिनावारी हुने (१० देखि ११ वर्ष) उमेरलाई यौन परिपक्कताको अवस्था भनिन्छ । महिनावारी हुनुभन्दा अगाडी र महिनावारी भएको १ देखि २ वर्षसम्म किशोरीहरुको उचाई १० देखि १४ सेन्टिमिटर सम्म बढ्ने गर्दछ । केटाहरुको हकमा १२ देखि १४ वर्षको उमेरमा १० देखि १४ सेन्टिमिटर सम्म उचाई बढ्न सक्छ । त्यसपछि भने प्रत्यक वर्ष ७ देखि ८ सेन्टिमिटरले बढ्दै जान्छ ।
उचाई नबढ्नु पछाडी विभिन्न कारणहरु छन् । त्यसमध्ये हर्मोनल कारण एउटा पाटो हो । यसबाहेक गर्भावस्थामा आमाको र बच्चाको स्वास्थ्य अवस्था, गर्भावस्थामा आमाले पौष्टिक तत्व कम सेवन गर्नु, मुटु, पेट, मिर्गौला या अन्य कुनै रोग लागेमा बच्चाको उचाई नबढ्न सक्छ । कतिपय बालबालिकाहरुमा वंशाणुगत कारणले उचाई नबढेको पाइएको छ । यसकाअलावा क्षणिक ढिलाई अर्थात बच्चाको उचाई बृद्धि गर्ने हर्मोनको प्रभाव कम भएमा पनि होचो कद हुन सक्छ ।

के उचाई बढाउन सम्मभ छ ?

यदि वंशाणुगत कारण बच्चाको उचाई नबढेको हो भने यसको उपचार सम्भव छैन । यदि थाइराइड हर्मोन र ग्रोथ हर्मोन, पौष्टिक तत्वको कमी या कुनै रोग लागेर उचाई बढ्नमा समस्या भएको अवस्थामा उपचार सम्भव छ । उनीहरुको उचाई बढाउन सकिन्छ । यसका लागि समयमै हर्मोन रोग विशेषज्ञसँग परामर्श लिनुपर्दछ ।
(डा. नरेश पराजुली मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्