Logo
|
Thursday 28th March 2024
Logo

epaper

कोरोना भाइरस (कोभिड) विरुद्धको ‘क्लिनिकल ट्रायल’ मा रहेको हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट नेपालमा नै उत्पादन, कुनकुन कम्पनिले गर्छन् ? जानौ



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) विरुद्ध ‘क्लिनिकल ट्रायल’मा रहेको हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेटको उत्पादन नेपालमै पर्याप्त हुने गरेको छ । देउराली जनता फर्मास्युटिकल्स, क्युमेड फर्मुलेसन र मारुती फर्माले यो औषधि उत्पादन गरिरहेको औषधि व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नारायण ढकालका अनुसार मारुती फर्माले हालै उत्पादन सुरु गरेको हो। देउराली जनता र क्युमेडले भने लामो समयदेखि उत्पादन गर्दै आएका छन् ।

कोरोनाविरुद्ध भारतलगायतका मुलुकले क्लिनिकल ट्रायलका रूपमा यसको प्रयोग गर्दै आएको महानिर्देशक ढकालले बताए । ‘यो औषधिको प्रयोग सफल भएको खण्डमा नेपालमै पनि पर्याप्त मात्रामा उत्पादन गर्न सकिन्छ’, उनले भने, ‘कच्चा पदार्थ विदेशबाट ल्याएर स्वदेशमै पर्याप्त औषधि उत्पादन गर्न सकिने देखिएको छ ।’

देउराली जनताले आवश्यक परे सरकारलाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले माग गरेको अवस्थामा १५ हजार जनाको उपचार पुग्ने ४ लाख ट्याब्लेट उत्पादन गरिने देउराली जनताले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले हाइड्रोक्सिक्लोरोक्वाइन स्टक राख्ने काम भइरहेको बताए । ‘तत्कालै ४ लाखभन्दा बढी ट्याब्लेट स्टकमा राख्ने योजनाअनुरुप काम अघि बढेको छ’, उनले भने ।

हाइड्रोक्सिक्लोरोक्वाइन उत्पादनका लागि औषधि उत्पादकले भारतबाट कच्चा पदार्थ ल्याउने गरेका छन् । भारतकै तीन कम्पनीबाट उत्पादित हाइड्रोक्सिक्लोरोक्वाइन नेपाली बजारमा बिक्रीवितरणसमेत भइरहेको औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले बताए।

उनका अनुसार इप्का ल्याबरोटरिज प्रालि, एलेम्बिक फर्मा र वालेस फर्माबाट उत्पादित ट्याब्लेट नेपालमा खपत हुने गरेको छ । इप्काको नेपालस्थित आयातकर्ताको गोदाममा २ सय एमजीको ३ लाख ट्याब्लेट सञ्चित छ । त्यस्तै, ४ सय एमजीको ६० हजार ट्याब्लेट, ३ सय एमजीको १२ हजार ट्याब्लेट गोदाममा छ । एलेम्बिक कम्पनीको २ सय एमजीको १३ सय ट्याब्लेट औषधि पनि गोदाममा रहेको जनाइएको छ ।

वालेस फर्माको ५० हजारभन्दा बढी ट्याब्लेट औषधि रक्सौल नाकामा रोकिएको महासचिव आचार्यले बताए । मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्कीले नाकामा रोकिएको औषधि तथा औषधिजन्य कच्चा पदार्थ कूटनीतिक माध्यम प्रयोग गरी ल्याइने बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। मन्त्रालयमा आइतबार देउराली जनता फर्मास्युटिकल्सका तर्फबाट प्राप्त १ लाख ५० हजार थान हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझेपछि यस्तो बताएका हुन् । मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन सकियोस् भनेर काम गर्नुपर्ने बताए । सम्पूर्ण औषधि व्यवसायीले आफ्नो उत्पादन बढाउनुपर्ने भन्दै उनले त्यसका लागि आवश्यक वातावरण तयार गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘औषधिहरू पर्याप्त उत्पादन गर्नुस् उत्पादन गर्ने कुरामा कठिनाइ छन् भने त्यसलाई हटाउन सरकार तपाईंहरूको साथमा हुनेछ’, उनले भने । देउराली जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माले आफू सधैं सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

विदेशमा माग बढ्दै

यो औषधि उत्पादन र निर्यातमा भारत अग्रणी मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हाइड्रोक्सिक्लोरोक्विन माग गरेका छन् । त्यस क्रममा ट्रम्पले चेतावनीको शैली प्रयोग गरेकामा भारतीयले त्यसको विरोध गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई औषधि निर्यात गर्न आग्रह गर्दै औषधि नपठाए जवाफी कारबाही गर्ने चेतावनी दिएका थिए ।

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले अमेरिकाले गरेको मागअनुसार औषधि निर्यात गर्न तयार रहेको जनाएका छन् । पहिलो पटक ३ करोड टयाब्लेट पठाउने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतबाट यो औषधि माग गर्ने मुलुक बढेका छन् । ब्राजिलका राष्ट्रपति जयर बोलसनोरोले हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई सञ्जीवनी बुटीको संज्ञा दिँदै निर्यात गरेकोमा भारतीय प्रधानमन्त्रीको प्रशंसा गरेका छन् ।

अमेरिकासँगै रुस, ब्राजिल, इजरायल, जर्मनी, फ्रान्स, स्पेनलगायत मुलुकले औषधि माग गरेका छन् । भारतमा कोरोना संक्रमित बढिरहेका बेला औषधिको माग बढेपछि निर्यातका विषयमा भारतीय अधिकारीले योजना बनाएका छन् । कांग्रेस नेता एवं पूर्वकेन्द्रीय मन्त्री शशि थरुरले घरेलु आपूर्तिका लागि हाइड्रोक्सिक्लोरोक्विन उत्पादन गरिएको उल्लेख गर्दै भारतले औषधि बिक्री गर्ने निर्णय गरे मात्र निर्यातको विषय बन्ने ट्विट गरेका छन् ।

भारतले मानवताका आधारमा यो औषधि निर्यात गर्ने निर्णय गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवका अनुसार भारतमा रहेका संक्रमितको अवस्थालाई मध्यनजर गरी निर्यात गरिनेछ । भारतले गत सोमबार १४ किसिमका औषधिको निर्यात रोकेको थियो ।

कति प्रभावकारी छ ?

औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले कोरोनाको प्रभावकारी उपचारका लागि यो औषधि उपयुक्त भएको भन्ने वैज्ञानिक आधार नभएको बताए । ‘क्लिनिकल परीक्षण भइरहेको छ’, उनले भने, ‘कोरोना भाइरसको उपचारका लागि सहयोगीसिद्ध हुन सक्छ ।’

मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्कीले विगतमा मलेरियाविरुद्ध प्रयोग भइरहेको यो औषधि ‘सपोर्टिभ केयर’ का रुपमा प्रयोग हुन थालेको बताए । ‘कोरोना भाइरसको असर न्यून गर्ने भएकोले पूर्वतयारीका लागि सञ्चय गर्न लागिएको हो’, उनले भने ।

वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. अर्जुन कार्कीले हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रभावकारिताको प्रमाणित भइनसकेको बताएको अन्नपूर्णपोष्टमा उल्लेख छ । । ‘यो औषधिको प्रभावकारिताको वैज्ञानिक पुष्टि नभइसकेकाले वैज्ञानिक आधारबिना केही भन्न सक्ने अवस्था छैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्