Logo
|
Friday 19th April 2024
Logo

epaper

बिडम्बना ! नेपालमा मरणोपरान्त कोरोना पुष्टि, १३ जनामध्ये अधिकांशले थाहा नपाइ ज्यान गुमाए



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोभिड १९ संक्रमण भएका व्यक्तिहरुमध्ये मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

शनिबार दुई जना मृतकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । डोल्पाको जगदुल्ला गाँउपालिका–३ एक ५८ वर्षीय पुरुषको जेठ २१ गते दिउँसो २ बजे मृत्यु भएको हो । उनी दमको रोगी रहेको र उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भएको हो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । सुरक्षाका उपाय अपनाई उनको दाहसंस्कार गरिएकाले गाँउपालिकाका सबै नाका सिल गरिएको छ । उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए । उनीहरु हाल क्वारेन्टाइनमा छन् ।

त्यसैगरी धनगढीको सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्की एक मृतक ५५ वर्षीय महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । उनी मिर्गौला रोगसँग लडिरहेकी थिइन् । उनको डायलासिसकै क्रममा जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको थियो । त्यसपछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । उनमा कोरोनाको कुनै लक्षण नदेखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा शनिबार थप ३२३ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ३ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

मुलुकमा कोरोना जित्नेहरुको संख्या ३ सय ६५ पुगेको छ । कोरोना संक्रमितमध्ये १३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्