Logo
|
Thursday 25th April 2024
Logo

epaper

खाद्यपदार्थ राखेको खोलबाट कोरोनाभाइरस सर्ने खतरा कति हुन्छ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । हालै चीनमा विदेशबाट आयात गरी चिस्यानमा भण्डारण गरिएका झिँगे माछा र कुखुराको मासु राखिएको खोलमा कोरोनाभाइरसको अवशेष फेला परेको विवरण आयो। यसले खाद्यपदार्थ राख्न प्रयोग गरिने खोलबाट कोरोनाभाइरस सर्न सक्छ कि सक्दैन भन्ने प्रश्न फेरि उत्पन्न भएको छ।

सम्भावना कति छ?

सिद्धान्तत: खाद्यपरदार्थ प्याक गर्ने सामग्रीबाट कोभिड-१९ सर्ने सम्भावना हुन्छ। प्रयोगशालामा आधारित अध्ययनहरूका अनुसार खाद्यवस्तु राख्न प्रयोग हुने धेरै किसिमका प्लास्टिक र कागजका केही सामग्रीमा भाइरस धेरै दिनसम्म नभए पनि घण्टौँसम्म भने बाँच्न सक्छ। कम तापक्रममा भाइरस थप स्थिर रहन सक्छ र त्यसरी कम तापक्रममा राखेर नै धेरै खानेकुराहरू एक ठाउँबाट अन्यत्र पुर्‍याइन्छ। यद्यपि केही वैज्ञानिकहरूले भने प्रयोगशालाबाहिर पनि यस्तै परिणाम आउन सक्नेबारे प्रश्न उठाएका छन्।

यूनिभर्सिटी अफ लेस्टरमा कार्यरत श्वासप्रश्वास विज्ञानका सहप्राध्यापक डाक्टर जुलियान ट्याङ बाहिरी संसारमा पर्यावरणीय अवस्था एकदमै छिट्टै परिवर्तन हुने र त्यसले गर्दा भाइरस लामो समयसम्म बाँच्ने बताउँछन्।

रट्गर्ज यूनिभर्सिटीमा सूक्ष्मजीव विज्ञानका प्राध्यापक इम्यानुअल गोल्डम्यानले जुलाईको द ल्यान्सेटमा लेखेका छन्: “मेरो विचारमा निर्जीव सतहबाट सर्ने सम्भावना एकदमै न्यून हुन्छ। तर सङ्क्रमित व्यक्तिले कुनै ठाउँमा खोक्यो वा हाच्छिउँ गरेको छ र त्यहाँ अर्को कुनै व्यक्तिले दुई घण्टाभित्र छोयो भने सम्भावना रहन्छ।”

भाइरस कसरी सर्न सक्छ?

प्याकिङको काम गर्ने ठाउँमा कामदारले सङ्क्रमित ठाउँमा छोएर नाक मुख र आँखामा त्यही हातले छुँदा सङ्क्रमण सर्ने खतरा बढी हुने अनुमान गरिन्छ। वैज्ञानिकहरू भने अहिले कोभिड-१९ सर्ने यो मुख्य तरिका नभएको ठान्छन्।

“भाइरस भएका कुनै सामान वा भुइँ छुँदा त्यसबाट मानिसलाई कोभिड-१९ सर्ने सम्भावना छ,” अमेरिकी स्वास्थ्य निकाय सेन्टर फर डिजीज कन्ट्रोलले आफ्नो वेबसाइटमा लेखेको छ। तर उसले थपेको छ, “भाइरस फैलिने मुख्य तरिका नै यही हो भन्ने चाहिँ ठानिँदैन।” व्यक्तिबाट व्यक्तिमा निम्न लिखित तरिकाबाट सर्ने र फैलिने बताइन्छः

  • दुई मिटरभन्दा नजिक रहने व्यक्तिव्यक्तिबीच
  • सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा कुरा गर्दा निस्किने छिटाले
  • ती छिटा जब कुनै नजिकैको व्यक्तिको मुख वा नाकमा पुग्छ

प्याक गर्दा नै कुनै व्यक्तिलाई भाइरस सर्‍यो भन्ने प्रमाणित गर्न गाह्रो हुने डा. ट्याङ बताउँछन्। खानेकुरा पोको पार्दा नै सङ्क्रमण भएको हो भन्ने कारण पत्ता लगाउनका लागि त्यो व्यक्ति अन्य कुनै ठाउँमा गएको छैन वा उसले सम्भावित ठाउँमा छोएको छैन र लक्षण नभएका व्यक्तिहरू नजिक पनि पुगेको छैन भन्ने यकिन हुनुपर्छ।

आफू सुरक्षित कसरी रहने?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार खानेकुरा वा प्याक गरिएको खानेकुराबाट अहिले कोरोनाभाइरस सङ्क्रमण भएको कुनै पुष्टि भएको छैन। तर सङ्क्रमणबाट जोगिन केही उपायहरू अवलम्बन गर्न सुझाव दिइएको छ। प्याक गरिएका खानेकुरालाई निस्सङ्क्रमित गर्न आवश्यक छैन तर पोको पारिएका खानेकुरा चलाएपछि वा खानुअघि राम्रोसँग हात धुनुपर्छ।

खानेकुराको किनमेल गर्दै हुनुहुन्छ भने सम्भव भएसम्म बजार छिर्नुअघि हातमा स्यानिटाइजर लगाउनुपर्छ र किनमेल सकेपछि राम्ररी हात धुनुपर्छ। अनि किनेका सामग्री मिलाएर चलाइसकेपछि वा भण्डारण गरिसकेपछि पनि राम्ररी हात धुनुपर्छ।

यदि सामान ढुवानी गरिदिने मानिसले सरसफाइमा राम्ररी ध्यान दिएको छ भने त्यसरी सामान ल्याउनु सुरक्षित हुन्छ। तर उसले ल्याइदिएका सामान आफूले लिएपछि हात राम्ररी धुनुपर्छ। केही विज्ञहरूले भने प्लास्टिकको झोला एक पटकमात्रै प्रयोग गर्न पनि सुझाएका छन्। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्