Logo
|
Wednesday 2nd December 2020
NEWS PAPER

पहुँचबिहीनहरु समक्ष आँखा स्वास्थ्यको पहुँच पुर्याउन जरुरी



नेपालमा सन् १९८१ मा विश्व स्वास्थ्य संगठनको सहकार्यमा नेपाल नेत्रज्योति संघले गरेको नेपालको पहिलो अन्धोपन सर्वेक्षणमा ०.८४ प्रतिशत जनसंख्या दृष्टीबिहिन थिए । उनीहरुमध्ये १.७ प्रतिशतको एउटा आँखा दृष्टिबिहीन रहेको, १.८५ प्रतिशतमा न्युन दृष्टीको समस्या रहेको,
९२ प्रतिशत दृष्टिबिहीन ग्रामीण क्षेत्रमा रहेको र ८० प्रतिशत अन्धोपन रोकथाम र उपचारबाट निवारण गर्न सकिने रहेको तथ्य उजागर गरेको थियो ।

उक्त सर्वेक्षणको नतिजाबाट देशमा ७२.१ प्रतिशत अन्धोपन मोतिबिन्दुका कारणले भएको र अन्धोपनका अन्य कारणहरुमा ट्रकोमा, भिटामिन ‘ए’ को कमी, जलबिन्दु, दृष्टिपर्दाका रोगहरु र आँखाका अन्य संक्रमण रहेको तथ्य पनि प्रकाशमा आएको थियो ।

अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहकार्यमा देशका विभिन्न भागहरुमा आँखा अस्पताल र प्राथमिक उपचार केन्द्रहरुको स्थापना, आँखा शिविरहरु आदि कारण सन् २०११ को रेपिड एसिस्मेन्ट अफ एभ्वाइडेबल ब्लाइन्डनेस् (र्याब) सर्भेक्षणको प्रतिवेदनले नेपालमा अन्धोपनको
स्थिति ०.३५ प्रतिशतमा झरेको देखाएको छ । यो नेपालको लागि निकै सुखद समाचार हो । नेपालमा अन्धोपनको ८० प्रतिशत कारण मोतिबिन्दु भएकोमा घटेर ६० प्रतिशतमा पुगेको छ । अब नेपालमा मोतिबिन्दुबाट अन्धोपन भएर बस्नुपर्दैन । स्वदेशमा नै इन्ट्रा अकुलर लेन्सको उत्पादन र आँखाको नानी प्रत्यारोपण कार्य व्यापक भइरहेकाले यसमा अब नेपाल आत्मनिर्भर बनिसकेको छ ।

अति न्यून शुल्कमा अत्यधिक गुणस्तरीय तरिकाले लेन्स प्राप्त गर्नुका साथै आँखाको नानी प्रत्यारोपण भइरहेको छ । तर जनसंख्या बृद्धिसँगै बढ्दो जीवनशैलीसम्बन्धि रोगका कारण आँखाको समस्या दिनप्रतिदिन बढ्दो छ । मधुमेह, उच्चरक्तचाप जस्ता जीवनशैलीसँग जोडिएर आएका रोगहरुले पछिल्लो समयमा आँखा गुमाउनेहरुको संख्या पनि बढिरहेको छ ।

यसका साथै पिछडिएका समुदायमा आँखा स्वास्थ्य पु¥याउन नसक्नु ठूलो चुनौति रहेको छ । अहिलेसम्म दुई तिहाई महिलाहरुको आँखा स्वास्थ्यमा पहुँच पुग्न नसकेको विभिन्न अध्ययनहरुले पनि देखाएका छन् । नेपालका १० प्रतिशतभन्दा धेरै बालबालिकाले आँखा उपचार सेवा प्राप्त गर्न सकेका छैनन् । त्यसैले सामान्य स्वास्थ्य उपचार सेवा अन्तर्गत हरेक हेल्थपोष्टबाट आँखाको उपचार सेवा उपलब्ध हुनुपर्छ ।

स्वास्थ्य नीति २०७६ ले पनि आँखा स्वास्थ्यलाई आधारभूत सेवाको रुपमा राखेकाले जतिसक्दो जाँडो यसलाई कार्यान्वयनमा ल्याएर पहुँचबिहीनहरु समक्ष आँखा स्वास्थ्यको पहुँच पुर्याउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्