Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा कोरोनासंक्रमण मुक्त हुने दर कम, हिउँदमा चिन्ताजनक अवस्था आउनसक्ने विज्ञको भनाई



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना संक्रमित निको हुने दर दक्षिण एशियाली देशहरुको तुलनामा कम भएको पाइएको छ ।  नेपालमा संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ७६० पुग्दा १ लाख ६० हजार ५७७ जना अर्थात ८० प्रतिशत संक्रमणमुक्त भएका छन ।
दक्षिण एशियाली देशहरुको तुलना गर्दा नेपालको संक्रमण मुक्त हुने दर छैटौँ स्थानमा छ । कोरोना संक्रमण मुक्त हुने दर पाकिस्तानमा सबैभन्दा राम्रो छ ।

सुरुमा संक्रमित र मृत्युदर धेरै भएको पाकिस्तानमा संक्रमण मुक्त हुने दर ९३.६ प्रतिशत रहेको छ । त्यसपछि माल्दिभ्समा ९३ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा धेरै दोस्रो प्रभावित देश भारतमा पनि कोरोना संक्रमित निको हुने दर नेपालको भन्दा धेरै राम्रो छ । त्यहाँ ९२ प्रतिशत संक्रमित निको भइसकेका छन । त्यस्तै भुटानमा पनि संक्रमण हुने दर ९१ प्रतिशतको हाराहरीमा रहेको छ ।

अफगानिस्तानमा मृत्युदर धेरै भएपनि कोरोना संक्रमण मुक्तहुने दर नेपालको भन्दा राम्रो छ । त्यहाँ हालसम्म ८३.३ प्रतिशत कोरोना संक्रमित निको भइसकेका छन ।

नेपालपछि संक्रमण मुक्त हुने दर बंङ्ग्लादेश र श्रीलङ्कामा कम छ । बंङ्ग्लादेशमा ७९.९ प्रतिशत छ भने श्रीलङ्कामा सबैभन्दा कम ४७ प्रतिशत कम रहेको छ ।

नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त हुने दर तुलनात्मक रूपमा कम रहेको हुँदा हिउँदमा चिन्ताजनक अवस्था आउनसक्ने विज्ञहरू बताउँछन ।

जाडोयाम नजिकिँदा सङ्क्रमणमुक्त हुने दर बढाउने चुनौतीपुर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीले बताउनुभयो ।

उहाँले भन्नुभयो -‘कोरोनाभाइरस बाहेक जाडो बढेसँगै स्वासप्रश्वाससम्बन्धी सङ्क्रमणको समस्या पनि बढ्छ र वृद्धवृद्धामा समस्या देखिएसँगै मृत्युदर पनि बढ्न सक्छ ।’

उहाँले व्यवस्थापकको कमजोरीका कारण नेपालमा सङ्क्रमितहरू अन्य देशमा भन्दा लामो समय उपचारमा बस्ने र त्यसले सङ्क्रमणमुक्त हुने दर कम देखिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्