Logo
|
Wednesday 26th January 2022
E-paper Magazine

नेपालमा अक्सफोर्डले विकास गरेको कोरोना विरुद्धको खोप कहिलेसम्म आइपुग्ला ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालसहित थुप्रै विकासोन्मुख देशले आँखा लगाएको कोरोनाभाइरसविरुद्ध अक्सफर्ड यूनिभर्सिटी तथा औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले विकास गरेको खोपलाई यूके सरकारले बुधवार आकस्मिक प्रयोग अनुमति दिइसकेको छ भने छिमेकी भारतको नियामक निकायले पनि चाँडै नै त्यसबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।

भारतको विश्वविख्यात खोप निर्माता सीरम इन्स्टिच्यूटले उत्पादन गरिरहेको अक्सफर्डको खोप हालै अमेरिकामा अनुमतिप्राप्त खोपहरूभन्दा निकै धेरै सस्तो मात्र होइन नेपालजस्ता देशका निम्ति आपूर्ति र भण्डारण गर्न सकिने प्रकृतिको पनि छ।

अमेरिकी खोप २०-३० डलर पर्ने तुलनामा उक्त खोपको एक मात्रा तीन डलरजतिमा आउने अपेक्षा छ। साथै सामान्य चिसो तापक्रममा पनि यो भण्डार गर्न सकिन्छ। अर्थात् नेपालले साविकका अरू रोगका खोपहरू जसरी राख्ने व्यवस्था मिलाइरहेको छ त्यसैबाट काम लिन सकिन्छ।

त्यसैले उक्त खोप सकेसम्म चाँडो देश भित्र्याउने प्रयास भइरहेको कोभिड-१९ खोपविज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेतीले बीबीसीलाई बताएका छन्।

उक्त खोप भित्र्याउन दुई थरी पहल भइरहेको उनले जानकारी दिए।

“एक त भारत सरकारसँग नै उसले सीरमसँग उक्त खोप खरिद गर्दा हामीलाई पनि २० प्रतिशत पुग्नेगरी थप खरिद गर्न र त्यसको भुक्तानी लिन भनिरहेका छौँ। दोस्रो, सीरम कम्पनीसँग पनि सोझै खरिदको पहल गरिरहेका छौँ,” उनले भने।

राजदूत आचार्य र प्रकाश सिंह
गत साता दिल्लीस्थित नेपाली दूतावासमा राजदूत नीलाम्बर आचार्यले सीरम इन्स्टिच्यूटका वरिष्ठ अधिकारी प्रकाश सिंहसँग कुराकानी गरेका थिए

सकारात्मक प्रतिक्रिया पाए पनि यी पहलको ठोस उत्तर प्राप्त भइनसकेको उनले बताए।

“ठ्याक्कै यति नै परिमाणमा यतिखेर पठाउँछौँ भन्ने जबाफ पाएका छैनौँ।”

भारतमा केही दिनमा उक्त खोपको प्रयोगलाई अनुमति दिने निर्णय भएमा केही सातामा त्यहाँ खोप अभियान सुरु हुने बताइएको छ।

उक्त कम्पनीले सोही प्रयोजनका निम्ति तीन-चार करोड मात्राको खोप उत्पादन गरिसकेका विवरणहरू पनि भारतीय सञ्चारमाध्यमहरूमा आएका छन्।

कोभ्याक्सबाट खोप आउन अझ केही महिना

नेपालले कोभ्याक्समार्फत् पनि कोभिड-१९ विरुद्ध आउने अपेक्षा गरेको छ।

विपन्न तथा कमजोर देशहरू ‘खोप राष्ट्रवाद’को सिकारमा नपरून् र कम्तीमा अत्यावश्यक मात्राको खोप समयमै तिनको निम्ति जोहो गर्न सकियोस् भनेर विभिन्न अन्तर्राष्ट्रिय निकायहरूको पहलमा कोभ्याक्स स्थापित गरिएको थियो।

उक्त संस्थाले सुरुमा तीन प्रतिशत र अनि १७ प्रतिशत जनसङ्ख्यालाई पुग्ने परिमाणको खोप निःशुल्क उपलब्ध गराउने भनिएको छ।

“तर त्यसको निम्ति पहिलो कुरो त विश्व स्वास्थ्य सङ्गठनले कुनै खोप सिफारिस गर्नुपर्छ। हालसम्म डब्ल्यूएचओले कोभिड-१९ विरुद्ध कुनै खोप सिफारिस गरेको छैन। अर्को कोभ्याक्समार्फत् पहिलो खेपको खोप आउन पनि थप तीन-चार महिना लाग्ने देखिन्छ,” डा. उप्रेतीले भने।

नेपालमा पुन: अनुमति लिनुपर्छ

तत्काल आवश्यक पर्ने कोभिडविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरूलाई मात्रै भए पनि अमेरिकी फाइजर कम्पनीका खोपहरू वितरण गर्ने पहल भइरहेको उनले बताए। तर त्यसको ठोस समयतालिका खुलेको छैन।

विभिन्न देशले खोपलाई अनुमति दिएर प्रयोगमा ल्याए पनि नेपालभित्र प्रयोग गर्न यहाँको सम्बन्धित निकाय अर्थात् औषधि व्यवस्था विभागको अनुमति आवश्यक हुन्छ।

तर असाधारण परिस्थितिका कारण द्रुत गतिमा त्यस्तो अनुमति दिन सकिनेगरी औषधिसम्बन्धी अध्यादेश पारित गरिएको उप्रेतीले बताए।

आपूर्ति र वितरणको तयारी

अहिलेको निम्ति देशका १५ वर्षभन्दा कम उमेरका मानिसहरू अर्थात् कुल जनसङ्ख्याको ७० प्रतिशत मानिसलाई कोभिडको खोप लगाउने सरकारको योजना छ।

त्यसको लागि अधिकतम ४८ अर्ब रुपैयाँ खर्च लाग्न सक्ने आकलन गरिएको छ।

खोप आउन थालेपछि त्यसको व्यवस्थित भण्डारण र वितरणको तयारी भइरहेको डा. उप्रेतीले बताए।

“हामीसँग खोप अभियान चलाएको लामो अनुभव छ। सन् २००४/०५ तिर मात्रै हामीले एक करोड मानिसलाई छोटो समयमा खोप लगाएका थियौँ। गाउँदेखि केन्द्रसम्मका निकाय तथा जनशक्तिलाई तालिम दिँदैछौँ।”

उनले हजारौँ महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि खोपमा सहयोगका लागि खटाइने बताए। बीबीसी

प्रतिक्रिया दिनुहोस्