Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

वर्षेनी तीन हजार जनाको मिर्गौलामा समस्या



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा वर्षेनी तीन हजार जनाको मीर्गौलामा समस्या देखिने गरेको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अनुसार नेपालमा १० जनाको मिर्गौला जाँच गर्दा एक जनामा मिर्गौलाको समस्या हुने गरेको पाइएको छ । नेपालमा प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको बताइएको छ । नेपालमा करिब ३० लाख मानिसमा कुनै न कुनै रूपमा मिर्गौलाको समस्या रहेको विभिन्न अध्ययन–अनुसन्धानले देखाएको छ । यद्यपी, सरकारले मिर्गौला फेल भएका नागरिकको तथ्यांक एकीकृत गरेको छैन ।


स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार ४ हजार ८ सय जनाले मिर्गौलाको डायलाइसिस गर्दै आइरहेका छन् । एक जनाको एकपटक डायलाइसिस गर्न सरकारले २ हजार ५ सय रुपैयाँ छुट्याएको छ । चिकित्सकहरूका अनुसार अचानक वा दीर्घ रूपमा शरीरको मिर्गौलाले काम गर्न छाडेको अवस्थामा शरीरमा जम्मा हुन पुग्ने विकारजन्य पदार्थलाई मेसिनको सहायताले शरीरबाट बाहिर निकाल्ने प्रक्रिया डायलाइसिस हो ।


राष्ट्रिय मिर्गाैला उपचार केन्द्रका अनुसार हरेक वर्ष ३० हजार नयाँ मिर्गौलामा समस्या भएका व्यक्तिहरू थपिने गरेका छन् । सरकारले मिर्गाैला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निःशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख रुपैयाँ सहुलियत रकम सहयोग गर्दै आइरहेको छ ।


सरकारले सूचीकृत गरेका डायलाइसिस सेन्टरबाट विपन्न नागरिकको डायलाइसिस गर्दा कुनै पनि शुल्क लाग्दैन । त्यसका लागि स्थानीय तहले विपन्न नागरिक भनेर प्रमाणीकरण गर्नुपर्ने हुन्छ । मिर्गौला रोग विशेषज्ञहरुका अनुसार मिर्गौलामा समस्या आएपछि रगतको फोहोर र पानी शरीरमै बस्ने भएकाले समस्या देखापर्छ र मिर्गौलाले काम गर्न छोड्नु मिर्गौला फेल हो ।

प्रतिक्रिया दिनुहोस्