Logo
|
Thursday 28th March 2024
Logo

epaper

अस्पतालमा अक्सिजनको चरम अभाव, कोरोनाका बिरामी प्रभावित



जनस्वास्थ्य सरोकार । ब्रजिलको मनाउस नगरका अस्पतालमा कोभिड-१९ का बिरामीलाई दिन चाहिने अक्सिजन अभाव भएको छ। अमेजोनस प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने मृत्युको सङ्ख्या वृद्धि भएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमले स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै सहयोग र अक्सिजनको अभावमा धेरै मानिसको मृत्यु हुनसक्ने समाचार छापेका छन्। ब्रजिलमा अहिलेसम्म दुई लाख पाँच हजार जनाको कोभिड- १९ का कारण मृत्यु भइसकेको छ। कोभिडबाट सबभन्दा धेरै मृत्यु बेहोरेको देशमध्ये पहिलो अमेरिका र दोस्रोमा ब्रजिल पर्छ।

अमेजोनसमा कोरोनाभाइरस सङ्क्रमणको पहिलो चरणमा पनि धेरै मानिसको मृत्यु भएको थियो। दोस्रो चरणको सङ्क्रमणले पनि यो क्षेत्र नराम्ररी प्रभावित भएको छ। अस्पतालमा शवहरू राख्न कप तापक्रम कायम गर्न सकिने कन्टेनरहरू ल्याइएको छ।

फिओक्रुज अमेजोनिया साइन्टिफिक इन्भेस्टिगेशन इन्स्टिट्यूटकी जेसेम ओरेलानाले एएफपीलाई बताएअनुसार मनाउसस्थित अस्पतालहरूमा अक्सिजनको अभाव भएको छ र कैयौँ बिरामीका लागि अस्पतालका कक्षहरू सास फेर्न मुस्किल पर्ने च्याम्बर बनेका छन्।

अमेजोनसका गभर्नर विल्सन लिमाले उक्त प्रदेश महामारीको सङ्कटपूर्ण घडीमा रहेको भन्दै रातको समयमा कर्फ्यू घोषणा गरेका छन्।

ब्रजिलका उपराष्ट्रपतिले ट्विटरमा वायुसेनाले अक्सिजन सिलिन्डरसहित अस्पतालका लागि विभिन्न सामग्री ओसारेको तस्बिर प्रेषित गरेका छन्।

आईसीयू शय्याको अभाव भएकाले केही बिरामीलाई हवाईमार्गबाट अन्यत्र उपचारका लागि लगिने स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्