Logo
|
Saturday 11th May 2024
Logo

epaper

ह्याम्समा क्यान्सर सर्भाइभर स्क्रिनिङ क्लिनिक शुरु

१२ वर्षमा १२ पटक क्यान्सरको शल्यक्रिया



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व क्यान्सर दिवसको अवसरमा काठमाडौं धुम्बाराहीस्थित ह्याम्स हस्पिटले क्यान्सर सर्भाइभर स्क्रिनिङ क्लिनिक सञ्चालनमा ल्याएको छ । बुधबार हस्पिटलमा आयोजित एक कार्यक्रमबीच नेपाल क्यान्सर सर्भाइभर सोसाइटीकी अध्यक्ष प्रनिता खनालले केक काटेर सो क्लिनिकको उद्घाटन गर्नुभएको हो ।


सो कार्यक्रममा बोल्दै क्यान्सर विजेतासमेत रहेकी अध्यक्ष खनालले ९ वर्षअघि आफूलाई स्तन क्यान्सर भएको र बेलैमा पहिचान र उपचार गरेकाले अहिले पनि सक्रिय जीवन जीउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो—‘क्यान्सर हुँदैमा आत्तिनु हुँदैन । परिवारको साथ र सहयोग आवश्यक पर्छ । उपचारमा संलग्न चिकित्सक र नर्सको नम्र काउन्सिलिङले क्यान्सर बिरुद्ध जुध्न अझ साहस बढ्ने रहेछ ।’


कार्यक्रममा बोल्दै अर्की क्यान्सर बिजेत बिनु केसीले आफूलाई १२ वर्षअघि स्तन क्यान्सर भएको स्मरण गर्दै क्यान्सर शरीरका विभिन्न अंगमा फैलिएपछि १२ पटकसम्म पाठेघर, फोक्सोलगायतका अंगको अप्रेसन गरेको बताउनुभयो । उहाँले उपचारका क्रम र उपचारपछि पनि परिवारको साथ र सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो ।


नार्कोनन नेपालकी अध्यक्ष पूजा कुँवरले आफू पनि स्तन क्यान्सर बिजेता भएको उल्लेख गर्दै गाउँ गाउँमा क्यान्सरबिरुद्ध जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यस्तै विगत ३ महिनादेखि स्तन क्यान्सरको उपचारमा जुटिरहेकी संजिता थापाले सेकेन्ड स्टेजमा पहिचान भएपनि क्यान्सर शरीरभर फैलिसकेको बताउनुभयो । उहाँले धैर्य नगुमाई उपचार भइरहेको र क्यान्सर जित्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।


कार्यक्रममा ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक एवं वरिष्ठ मुटु सर्जन डा. ज्योतीन्द्र शर्माले क्यान्सर रोकथाम र उपचारमा प्राइमरी रिस्पोन्सिबिलिटी राज्यको भएको उल्लेख गर्नुभयो । उहाँले क्यान्सर विरुद्ध जनचेतना अभिवृद्धि गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।


अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले शुरुको स्टेजमा क्यान्सरको सहि पहिचान र उपचार पाएमा कतिपय क्यान्सर शत्प्रतिशत निको हुने बताउनुभयो । उहाँले हरेक व्यक्ति क्यान्सरप्रति सजग र सचेत भएमा क्यान्सर नियन्त्रण गर्न सहज हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्