Logo
|
Friday 19th April 2024
Logo

epaper

उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल १६ औं वर्षमा प्रवेश

न्युरो इन्टरभेन्सन प्रविधिले दर्जनौंलाई प्यारालाइसिसबाट जोगाउँदै



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आयोजना गरिएको निःशुल्क बहिरंग सेवा र रक्तदान कार्यक्रममा करिब ५० भन्दा बढीले रक्तदान गरेका थिए ।

न्युरो हस्पिटलबाट १३ अप्रिल २००६ देखि सेवा सञ्चालन शुरु भएको थियो । त्यो बेला वरिष्ठ न्युरोसर्जन स्वर्गाीय प्रा.डा. उपेन्द्र प्रसाद देवकोटाका बेलायतका गुरु ग्राहम टिज़डेल (जसले मुर्छित मान्छेको मस्तिष्कमा कतिको चोट लागेको छ भन्ने बुझ्न सक्ने पद्धति ग्लास्गो कोमा स्केल (जिसिएस) को विकास गर्नुभएको थियो ) ले सेवा उद्घाटन गर्नुभएको थियो ।


हस्पिटलको बार्षिकोत्सवका अवसरमा हस्पिटलकी अध्यक्ष प्रा.डा. मधु दिक्षित देवकोटाले भन्नुभयो– आज मेरो मनमा धेरै थरीका भावनाहरु उम्लिरहेका छन् । विगतलाई सम्झिरहेको छु । आज विटर स्विट (तितो मिठो) भइरहेको छ । १५ वर्ष पूरा गरेकोमा खुशीयाली र प्रा.डा. उपेन्द्र देवकोटाले न्युरो साइन्स सम्बन्धि सेवालाई नेपाली जनता समक्ष सर्वसुलभ बनाउन बेलायतबाट फर्केर गरेको नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसको परिकल्पनाको सम्झना आइरहेको छ । त्यो बेलाको असहज परिस्थितिमा हस्पिटल सञ्चालनमा ल्याउन सफल भएका थियौ ।


प्रा.डा. देवकाटाले बीर हस्पिटलमा रहेर २० बर्ष भन्दा बढी सेवा गर्नुभएको थियो । त्यसपछि न्युरो हस्पिटलको स्थापना गरी सेवा सञ्चालनमा ल्याउन सफल हुनुभएको थियो । अहिले प्रा.डा. देवकोटा त हुनुहुन्न । तर उहाँले सिकाएका चेलाहरुले प्रदान गरेको सेवाबाट हजारौं बिरामीहरुले नयाँ जीवन प्राप्त गरिरहेका छन् ।


विगत एक वर्षदेखि बाँसबारी न्युरो हस्पिटलमा मस्तिष्कघात र एन्युरिजम समस्यामा विना शल्यक्रिया हात वा गोडाको नसाबाट क्याथेटर छिराएर गरिने उपचार पद्धति न्युरो इन्टरभेन्सन प्रविधिबाट दर्जनौंले नयाँ जीवन प्राप्त गरिरहेका छन् यसले वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाको अधुरो सपना पूरा भएको छ । मस्तिष्कघात भएर ६ घण्टाभित्र आइपुगेमा ब्रेनका टिस्यु बचाउन सकिन्छ र बिरामीलाई प्यारालाईसिस हुनबाट जोगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्