Logo
|
Friday 19th April 2024
Logo

epaper

कता हरायो रेम्डिसिभिर ? कागजी कोटामा पुग्ने तर वास्तविक कोभिड बिरामीले नपाएको गुनासो

अस्पतालमा तोकिएजतिको रेम्डिसिभिर पठाएको छैन



पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ बिरामीहरुको उपचारका लागि प्रयोग गरिने रेम्डिसिभिर औषधि राजधानीलगायत राजधानी बाहिरका अस्पतालहरुले दिने भनिएको जति भाइल प्राप्त गर्न सकेका छैनन् ।

औषधि व्यवस्था विभागको समन्वयमा गरेको कोटा कागजमा सिमित भएको छ । अहिलेसम्म बैशाख २१ गते ३ हजार र २२ गते ४ हजार गरी जम्मा ७ हजार भाइल रेम्डिसिभिर आइसकेको छ ।


व्याक्सिमो फर्मास्युटिकल्स प्रा.लि. बंगलादेशको रेम्डिसिभिर औषधि व्यवस्था विभागबाट आयात अनुमति पाएको हाम्रो मेडि कन्सर्न प्रा.लि. ले वैशाख २१ गते ३ हजार भाइल काठमाडौं ल्याएको थियो । त्यो दिन नेपालगञ्ज मेडिकल कलेजलाई १०८ भाइल रेम्डिसिभिर दिने कोटा छुट्याएकोमा ८१ भाइल मात्र प्राप्त गरेको कलेजका निर्देशक डा.नितेश कनोडियाले बताउनुभयो । त्यो दिन मुलुकभरका कोटा प्रणाली अनुसार ५० वटा स्वास्थ्य संस्थालाई २ हजार ४ सय ९ भाइल र सोझै बिरामीलाई २०० भाइल वितरण गरिएको औषधि व्यवस्था विभागको वेभसाइटमा तालिका सहित राखिएको थियो । रेम्डिसिभिरको अधिकांश वितरण काठमाडौं केन्द्रित थियो । राजधानी बाहिर निकै थोरै मात्रामा वितरण गरिएको थियो ।


यसैगरी बंगलादेशबाट आयात अनुमति पाएको आयान हेल्थकेयरले वैशाख २२ गते करिब ४ हजार भाइल रेम्डिसिभिर काठमाडौं भित्र्याएको थियो । तर उसले राजधानीलगायत राजधानीबाहिरका अस्पतालमा तोकिएजतिको रेम्डिसिभिर पठाएको छैन ।


वैशाख २२ गते आएको रेम्डिसिभिर भेरि अञ्चल अस्पताललाई १९८ भाइल उपलब्ध गराउने औषधि व्यवस्था विभागको वितरण तालिकामा उल्लेख गरिएपनि आजसम्म सो औषधि प्राप्त नभएको अस्पतालका फार्मेसी इन्चार्ज पदम अर्यालले बताउनुभयो । उहाँले आयान हेल्थकेयरका कसैले पनि फोन नउठाएको गुनासो गर्नुभयो ।
‘सामाजिक सञ्जालमा ७२ भाइल रेम्डिसिभिर वितरणमा अस्पतालले पनि पाउने जानकारी प्राप्त भएको थियो । तर पाइएको छैन । सप्लायर्सहरुले फोन उठाउँदैनन् । फोन नलाग्ने गरी राखेका छन् । लौ न कसरी हुन्छ समन्वय गरौं ।’—लुम्बिनी प्रदेश अस्पतालका फार्मेसी इन्जार्च पदम खानाले भन्नुभयो— ‘अहिले अस्पतालमा ८५ जना भन्दा धेरै कोभिड संक्रमित बिरामी भर्ना छन् । त्यसमध्ये चिकित्सकहरुले ५० जना जतिलाई रेम्डिसिभिर औषधिको जरुरत भएको सिफारिस गर्नुभएको छ । हामीसँग शुन्य मौज्दात छ ।’

यसैगरी २१ गते ५४ भाइल रेम्डिसिभिर पाएको काठमाडौं मेडिकल कलेजलाई २२ गते दिइएन । स्वास्थ्य मन्त्रालयलाई हार गुहार गरेपछि २३ गते बिहान ४८ भाइल उपलब्ध गरायो । काठमाडौं मेडिकल कलेजमा १ सय भन्दा बढी कोभिड संक्रमित बिरामीहरुमध्ये धेरैलाई रेम्डिसिभिर चलाउनुपर्ने आवश्यकता चिकित्सकहरुले औंल्याएका छन् । ‘बिरामीका आफन्तहरुले निकै मानसिक दवाव दिने गरेका छन् । बिरामीका आफन्तले औषधि हस्पिटलले लुकाएको शंका गर्छन् । तर हामीले के गर्ने ? काठमाडौं हस्पिटल फार्मेसीका सञ्चालक अनिल शर्माले जनस्वास्थ्य सरोकारसँग गुनासो गर्नुभयो ।

कोभिड संक्रमित बिरामीलाई शुरुमा २ भाइल दिनुपर्छ । एक भाइलमा १ सय एमजी हुन्छ । त्यसपछि बिरामीको अवस्था हेरेर हरेक दिन एक भाइलका दरले न्युनतम ६ देखि १४ डोजसम्म दिनुपर्ने हुनसक्छ । कलेजलले २ सय भाइलको अग्रिम रकम आपूर्तिकर्तालाई दिइसकेको उहाँले जानकारी दिनुभयो । काठमाडौं मेडिकल कलेजले १ हजार भाइलको माग पत्र पनि मन्त्रालयमा बुझाएको छ । तर केमएसीलाई आवश्यक छैन भनेर नदिएको शर्माले गुनासो गर्नुभयो ।


नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठ भन्नुहुन्छ—‘हामी औषधि व्यवसायीहरु धेरै सकसमा छौं । अनुकूल समयमा औषधि तथा औषधिजन्य वस्तुको बिक्री वितरण गर्ने हामी । तर आजको यस विषम परिस्थितिमा रेम्भिडसिभिर उपलब्ध गराउन त परै को कुरा कहाँ पाइन्छ ? भनेर सल्लाह दिन पनि असमर्थ छौं । किनकि औषधि व्यवस्था विभागको समन्वयमा गरेको कोटा पनि कागजमा मात्र सीमित भएको यस दुःखद घडीमा हामी साह«ै चिन्तित छौं ।’

‘सम्बन्धित सरोकार टिम बसी वितरणका लागि गरिएको समन्वय सारै सराहनीय छ । तर सम्बन्धित स्थलमा पुर्यान सहजीकरण र सही समयमा सम्बन्धित स्थानमा पुगे नपुगेको अनुगमन पनि होस्’—महासचिव श्रेष्ठले आग्रह गर्नुभयो ।

औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी भन्नुहुन्छ—‘रेम्डिसिभिर वितरणले टाउको खाएको छ । डाक्टरको दिमागमा पनि नपस्ने, सबैथोक रेम्डिसिभिर हो भनेर बस्छन् । डेक्सामेथाडोनहरु चलाउदा हुने बिरामीहरुलाई पनि रेम्डिसिभिर सिफारिस गरिन्छ ।’
राजधानीलगायत राजधानीबाहिरका अस्पतालहरुले कोटा अनुसारको रेम्डिसिभिर औषधि पाउन सकेका छ्रैनन् नि भन्ने जनस्वास्थ्य सरोकारको जिज्ञासामा के.सीले भन्नुभयो— सरकारी तथा निजी सबै अस्पतालहरुले आयातकर्ताबाट खरीद गरेर लानुपर्छ । सरकारी अस्पतालहरुमा निःशुल्क हो कि भन्ने भ्रम पनि रहेछ । यहाँबाट बाँडेपछि सित्तै पुग्छ भन्ने भ्रम नपाल्नुहोस् । ढुवानीको व्यवस्था सकेसम्म आयातकर्ताले मिलाउँछ नभए आफैँले मिलाउनुपर्छ ।’

औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल भन्दा बढी रेम्डिसिभिर औषधि आपुर्तिका लागि विभिन्न आयातकर्तालाई अनुमति प्रदान गरेको छ । सो औषधि एक महिना भित्र सबै नेपाल आइपुग्ने केसीले बताउनुभएको छ । तर वितरण प्रणालीलाई पनि विभागले व्यवस्थित गर्नुपर्ने सर्वत्र आवाज उठेको छ ।


भारतबाट निर्यात प्रतिबन्ध भएका कारण रेम्डिसिभिर औषधि आपुर्तिमा असहज भएको थियो । अहिले बंगलादेशको हेल्थकेयर, एसिआइ, इन्सेप्टा, बेकोन र व्याक्सिमो फर्मास्युटिकल्सका उत्पादन आपुर्तिका लागि विभागले स्वीकृति प्रदान गरेको छ ।

वैशाख २१ गते रेम्डिसिभिर प्राप्त गर्ने कोटामा परेका स्वास्थ्य संस्थाहरु

त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्ज १३५, नेपाल पुलिस हस्पिटल १०८, ग्रान्डी हस्पिटल ५४, चियायु नेशलन हस्पिटल, ५४, केडिसी २७, भक्तपुर हस्पिटल २७, मध्यपुर हस्पिटल १२, ह्याम्स हस्पिटल १०८, बी एण्ड बी ५४, नर्भिक ५४, शहीद शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पताल १०८, काठमाडौं मेडिकल कलेज ५४, हेल्पिङ ह्यान्स सामुदायिक हस्पिटल २७, ओम हस्पिटल ५४, निदान हस्पिटल ५४, मेडिकेयर हस्पिटल ५४, बयोधा हस्पिटल १२, ग्रिनसिटी हस्पिटल ५४, खांग्री हस्पिटल १२, मनमोहन मेमोरियल हस्पिटल २४, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र १२? नेपाल आर्मी हस्पिटल ५४, नेपाल शसस्त्र प्रहरी अस्पताल ५४, सुमेरु सिटी हस्पिटल १८, मेडिप्लस १२, कोरियन मैत्री हस्पिटल १२, शिर मेमोरियल १२, बीर हस्पिटल ५४, मेडिसिटी हस्पिटल १०८, नेपाल मेडिकल कलेज १२, पाटन हस्पिटल ५४, स्टार हस्पिटल १२, मेघा हस्पिटल २७, सिभिल सर्भिस हस्पिटल १०८, नेपाल नेशनल हस्पिटल ५४, नारायनी उपक्षेत्रीय हस्पिटल ५४, भरतपुर १८, फिस्टेल हस्पिटल पोखरा २७, कीर्तिपुर हस्पिटल २७, दीर्घायु गुरु हस्पिटल २७, काठमाडौं मोडेल हस्पिटल २७, लुम्बिनी लुम्बिनी प्रादेशिक अस्पताल १०८, युसिएमएस ५४, राप्ती उपक्षेत्रीय अस्पताल ५४, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर १०८, स्वास्थ्य सेवा विभाग १०८, सिविक हस्पिटल २७, शहीद मेमोरियल हस्पिटल २७, विपी स्मृति हस्पिटल २७, नेपाल भारत मैत्री हस्पिटललाई २७ भाइल वितरण गरिएको उल्लेख छ । २०० भाइल सिधै बिरामीलाई उपलब्ध गराइएको जनाइएको छ ।


वैशाख २२ गते रेम्डिसिभिर प्राप्त गर्ने कोटामा परेका स्वास्थ्य संस्थाहरु

प्रतिक्रिया दिनुहोस्