Logo
|
Thursday 25th April 2024
Logo

epaper

क्षेत्रपाटीमा सुरु भयो कोभिड विशेष अस्पताल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरको सहयोगमा आजदेखि क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज कोभिड विशेष अस्पतालको उद्घाटन गर्नुभयो ।

यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र मासिक सञ्चालन खर्चवापत् करीब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ व्यहोर्नेछ । यसका लागि गएको बैशाख ३१ गते सम्झौता भएको थियो ।

महानगरलाई भगिनी सहर ल्हासाले उपलब्ध गराएका भेन्टिलेटरमध्ये २ वटा क्षेत्रपाटी चिकित्सालयलाई दिएको छ । यसैगरी अस्पतालले खरिद गर्ने थप ३ वटा भेन्टिलेटरको रकम महानगरले भुक्तानी गरिदिनेछ ।

‘अस्पतालको पूर्वाधार सुधारका लागि हामीले ३० लाख रुपैयाँ खर्च गरेर लिफ्ट जडान गरिदिएका छौँ । नयाँ भवन निर्माण गर्न करीब ५ करोड रुपैयाँ विनियोजन गरेका छौँ’ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो ।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अक्सिजन व्यवस्थापनमा अझै डर लागिरहेकाले अस्पतालमै प्लान्ट स्थापना गर्ने योजनामा रहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेड छन् ।

महानगरले विभिन्न मितिमा १२ वटा अस्पतालहरुसँग सम्झौता गरिसकेको छ ।

यससँगै ८८ अक्सिजनसहित २०० वेडको राधास्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ वेडको एचडीयू र २५ वेडको गरी ५० वेडको आइसोलेसन सञ्चालनमा आइसकेका छन् ।

यस्तै विभिन्न अस्पतालहरुमा ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन ९सी प्याप०, १० थान वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन ९वी—प्याप० सहित उपकरण जडान हुँदैछन् ।

महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका ४ थान भेन्टिलेटरमध्ये २ वटा क्षेत्रपाटी चिकित्सालयलाई र २ थान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्