Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित



जनस्वास्थ्य सरोकार, जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो ।

गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार बाहिरबाट आएको कुनै पनि व्यक्ति गाउँमा प्रवेश पाउने छैन । रावतबाडा र खड्काबाडाबीच आवतजावत पनि बन्द गरिएको छ । यी दुबै जोडिएका गाउँ हुन् । गाउँमा कोरोना सङ्क्रमित बढ्न सक्ने भएकोले गाउँपालिकाले आइसोलेशन कक्ष थप गर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

मङ्गलबार गाउँका २७ जनामा एन्टिजेन परिक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबैलाई गाउँपालिकाले बनाएको आइसोलेसन केन्द्रमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बुधबार गाउँका ५५ घरधुरीका १०९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको बताउनुभयो । परीक्षण गरिएको स्वाबको नतिजा आइसकेको छैन ।

यसअघि रावतबाडा गाउँमा विवाहलगायतका सामूहिक गतिविधि तीव्र भएका थिए । काठमाडौँ, सुर्खेत र भोजपुरलगायतका जिल्लाबाट मान्छे भित्रिएका थिए । गाउँमा कोरोना लक्षणका बिरामी बढेको थाहा पाएपछि वडाध्यक्ष विशाल खड्काले स्वास्थ्यकर्मीसहित गाउँमा पुगेको बताउनुभयो।

उहाँका अनुसार बिरामीको अवस्थाबारे जानकारी लिएर पहिलो दिन एन्टिजेन परीक्षणका लागि कोभिड अस्पतालमा २७ जनालाई पठाइएको थियो । गाउँमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारी पुगेर सचेतना फैलाउनेदेखि लक्षणअनुसारको औषधि दिने गरिएको स्वास्थ्य शाखा संयोजक चौलागाईंले जानकारी दिनुभयो ।

बुधबार जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रकाशन गरेको तथ्याङ्कअनुसार जुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ४२८ पुगेको छ भने १८९ जना निको भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले पिसिआर र एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्