Logo
|
Thursday 25th April 2024
Logo

epaper

खाली अक्सिजन सिलिन्डर तत्काल भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रित्ता अक्सिजन सिलिन्डर तत्काल भरेर राख्न आग्रह गरेको छ । केही दिनयता कोरोना भाइरसको सङ्क्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेको भन्दै रित्ता अक्सिजन सिलिन्डर भर्न मन्त्रालयले आग्रह गरेको हो ।

खाली सिलिन्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो पर्ने भएकाले सिलिन्डर भर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर व्यक्तिका घर, टोल, आइसोलेशन केन्द्र र अस्पतालमा भएका रित्ता सिलिन्डर जुन उद्योगको हो त्यही उद्योगमा भर्नका लागि उपलब्ध गराउन पनि आग्रह गरेको छ ।

साथै अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न, अक्सिजन प्लान्ट वा ट्याङ्क मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

‘अक्सिजन जस्ताे औषधिकाे रूपमा प्रयाेग हुने विषयलाई अनावश्यक रूपमा वितरण र प्रयाेगलाई प्राेत्साहन गरी मानिसकाे ज्यानै जाने जाेखिम हुने खालका कामहरू नगर्न नलगाउन सबैमा सचेत गराइन्छ’, विज्ञप्तिमा भनिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्