Logo
|
Wednesday 28th July 2021
E-paper Magazine

कोरोना भाइरसका विभिन्न भेरिअन्टका लागि खोप कति प्रभावकारी ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सबै भाइरस प्राकृतिक रूपमा नै उत्परिवर्तित हुने गर्छन्। सन् २०२० को प्रारम्भमा सार्स कोभ टुको पहिलो पटक पहिचान गरिएपछि हजारौँ उत्परिवर्तन देखा परेका छन्।

त्यसरी उत्परिवर्तित भएका भाइरसहरूलाई भेरिअन्ट भनिन्छ। अधिकांश परिवर्तनमा थोरैदेखि कुनै प्रभाव देखिएनन्।

तर आक्कलझुक्कल कुनै पनि भाइरस उत्परिवर्तित हुँदा त्यसले यसलाई जीवित रहन र थप भाइरस जन्माउन मद्दत गर्छ।

विश्वभरका विज्ञहरूले भाइरसमा देखा परेका परिवर्तनलाई सरकारहरूले उपयुक्त ढङ्गले सम्बोधन गर्न सकुन् भनेर सार्स(कोभ(टुको विकासक्रमलाई अनुगमन गरिरहेका छन्।

प्रमुख भेरिअन्ट कुन कुन हुन् ?

विज्ञहरूले मुख्य रूपमा चारवटा सार्स कोभ टुका भेरिअन्टलाई लिएर चिन्ता प्रकट गरिरहेका छन्।

तीनमा यूकेमा सबैभन्दा पहिले देखा परेको अल्फा भेरिअन्ट, दक्षिण अफ्रिकामा देखिएको बीटा भेरिअन्ट, ब्रजिलमा पहिले देखा परेको गामा भेरिअन्ट र भारतमा देखा परेको डेल्टा भेरिअन्ट छन्।

कोरोनाभाइरसमा हजारौँ उत्परिवर्तन देखा परेका छन् ।

डब्ल्यूएचओलेले यी सबै भेरिअन्टहरूलाई जनस्वास्थ्यमा उच्च जोखिम देखिएका कारण चिन्ताका भेरिअन्टको सूचीमा राखेको छ।

उदाहरणका लागि यिनले गम्भीर प्रकारका बिरामी बनाउने वा बढी अनुपातमा खोपहरूलाई प्रतिरोध गर्नसक्ने भनिएको छ।

कैयौँ देशहरूमा यी भेरिअन्ट पुगिसकेकाले तीनले समूहमा सङ्क्रमण फैलाएकाले पनि तीनलाई लिएर चिन्ता व्यक्त गरिएको हो।

डेल्टा भेरिअन्ट के हो ?

हालै बढी जोड डेल्टा भेरिअन्टलाई दिइएको छ किनभने यो विगतमा देखिएका भेरिअन्टभन्दा बढी खतरनाक देखिएको छ।

यसको सङ्क्रमण दर सबैभन्दा सुरुमा देखिएको कोरोनाभाइरसभन्दा ५० प्रतिशत बढी भएको अल्फा भेरिअन्ट भन्दा करिब ६० प्रतिशतले बढी छ।

डेल्टाले गएको एप्रिल र मे महिनामा भारतमा खतरनाक दोस्रो लहर निम्त्याएको थियो र यो यूकेमा पनि प्रमुख भेरिअन्टका रूपमा देखा परेको छ।

अहिलेसम्म ९० वटाभन्दा बढी देशमा पहिचान गरिएको यो भेरिअन्टका कारण अमेरिका, चीन, अफ्रिका, स्कान्डीनेभिया र प्यासिफिक क्षेत्रमा महामारी देखा परेको छ।

यूकेको तथ्याङ्कले अल्फा भेरिअन्टबाट सङ्क्रमितको तुलनामा डेल्टा भेरिअन्ट सङ्क्रमितहरू अस्पताल भर्ना हुने सम्भावना दुई गुणा बढी रहेको पाइएको छ।

अध्ययनहरूले कोरोनाभाइरसका विगत प्रकार भन्दा डेल्टा भेरिअन्टका लक्षण फरक रहेको देखाएको छ।

यूकेको न्याश्नल हेल्थ सर्भिसले नियमित खोकी, ज्वरो र स्वाद वा गन्ध छुट्याउन नसकिने अवस्थालाई कोभिडको लक्षण मानेको छ।

तर एपमा आधारित कोभिडको लक्षणसम्बन्धी अध्ययन सञ्चालन गरिरहेका प्राध्यापक टिम स्पेक्टर डेल्टामा ज्वरो सामान्य लक्षण रहेपनि गन्ध हराउने प्रमुख १० लक्षणभित्र नपर्ने बताउँछन्।

टाउको दुख्ने, घाँटी दुख्ने र सिँगान आउने जस्ता सङ्केतलाई यूकेमा प्रमुख लक्षणका रूपमा राखिएको छ।

डेल्टा प्लस र ल्याम्ड भेरिअन्ट के हुन् ?
जुन २३ मा भारतले डेल्टा भेरिअन्टको उत्परिवर्तनका रूपमा देखा परेको डेल्टा प्लसलाई चिन्ताको भेरिअन्टको सूचीमा राख्यो।

सबैभन्दा सुरुमा पब्लिक हेल्थ इङ्ग्ल्यान्डले यसलाई डेल्टा भेरिअन्टसँग मिल्दो जुल्दो भएपनि प्रोटिन स्पाइकमा थप उत्परिवर्तन ९केफोरवानसेभेनएन० भएका कारण यो भाइरस सङ्क्रमित कोषसँग टासिएर बसिरहनसक्ने भनि व्याख्या गरेको थियो।

डेल्टा प्लस अमेरिका, यूके, पोर्चुगल, स्विट्जरल्याण्ड, जापान, पोल्यान्ड, नेपाल, रुस र चीन गरी नौवटा देशमा देखिएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले डेल्टा प्लस सहजै फैलने र यो फोक्सोका कोषहरूमा सहजै टाँसिने बताउँदै उक्त भेरिअन्ट मनोक्लोनल एन्टीबडी भनिने उपचार पद्धति प्रतिरोधी रहेको बताएको छ।

तर अग्रणी भाइरोलोजिस्टहरूले ती निष्कर्षहरूलाई बल पुर्‍याउने पर्याप्त तथ्याङ्क नरहेको भन्दै डब्ल्यूएचओ त्यसलाई चिन्ताको भेरिअन्टका रूपमा राखिसकेको छैन्।

भारतमा डेल्टा प्लस भेरिअन्टले महामारीको लहरलाई अझ खतरनाक बनाएको थियो ।

तर डब्ल्यूएचओले लाम्ब्डालाई हालै चिन्ताको भेरिअन्टका रूपमा सूचीकृत गरेको छ। मुख्य गरी दक्षिण अमेरिकी र द एन्डिज९पेरू, चिले, आर्जेन्टिना र इक्वेडर०मा देखा परेका सङ्क्रमणसँग यो भेरिअन्ट जोडिएको छ।

यो भेरिअन्ट २९ वटा देशमा देखिएको बताइन्छ। यो नयाँ भेरिअन्ट पत्ता लगाउने अनुसन्धानकर्तामध्येका एक पेरूका सूक्ष्म प्राणीशास्त्री पाब्लो सुकायामाले तीव्र रूपमा फैलिने हुनाले लाम्ब्डा अझ सङ्क्रामक हुनसक्ने बताउनुभयो।

बढी सङ्क्रमण हुनुको अर्थ थप अस्पताल भर्ना हुने अवस्था र मृत्यु निम्तिने उनको भनाइ छ।

विभिन्न घटनाहरूमा यो भेरिअन्टका कारण पेटमा समस्या हुनसक्ने देखिएको छ तर यो भेरिअन्ट बढी खोप प्रतिरोधी छ या छैन भन्नेबारे एकदमै सीमित प्रमाण छ।

डब्ल्यूएचओले पूर्ण प्रभाव थाहा पाउन अझै अध्ययन हुनुपर्नेमा जोड दिएको छ।

के खोपले भेरिअन्टबाट सुरक्षा दिन्छ ?

अध्ययनहरूले सार्स कोभटुका नयाँ भेरिअन्टविरुद्ध पनि खोपहरूले प्रभावकारी रूपमा काम गर्ने देखाएको छ।

तर सुरुमा देखिएको कोरोनाभाइरसभन्दा नयाँ भेरिअन्टमा मुख्य गरी पहिलो डोजपछि खोपहरू कम प्रभावकारी देखिएका छन्।

पब्लिक हेल्थ इङ्ल्यान्डले गरेको एउटा अध्ययनले फाइजर वा आस्ट्राजेनेकाको एउटा खोपले डेल्टा भेरिअन्टविरूद्ध ३३ प्रतिशत सुरक्षा दिने पाइएको थियो। अल्फा भेरिअन्ट विरुद्ध त्यो सुरक्षा ५० प्रतिशत थियो।

दोस्रो मात्रा लगाएपछि फाइजरबाट ८८ प्रतिशत र आस्ट्राजेनेकाबाट ६० प्रतिशत सुरक्षा पाइएको थियो।

अक्सफर्ड विश्वविद्यालयले गरेको अलग्गै अध्ययनले भारतमा पहिचान गरिएको डेल्टा र कापा भेरिअन्ट विरुद्ध फाइजर र आस्ट्राजेनेका दुवै खोप प्रभावकारी रहको पाइएको थियो।

खोपहरू शत प्रतिशत प्रभावकारी नभएकाले भेरिअन्टहरूका कारण मुख्य गरी एउटै मात्र मात्रा खोप लगाएका मानिसहरू अस्पताल जानुपर्ने र ज्यानसमेत गुमाउने अवस्था आउनसक्ने अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ।

सीडीसीका अनुसार अमेरिकीमा जुन १४ सम्म खोपको पूर्ण मात्रा लगाएका १४ करोड ४० लाख मध्ये ३७ सय २९ जनामा सङ्क्रमण देखिएको थियो भने ६७१ जनाले ज्यान गुमाएका थिए।

नयाँ भेरिअन्टसँग हामी कसरी जुझ्न सक्छौँ ?

द्रुत ढङ्गले डेल्टा भेरिअन्ट विस्तार भएपछि इङ्ग्ल्यान्ड, स्कटल्यान्ड र नर्दर्न आयरल्यान्ड सरकारले बढी उमेर समूहलाई दिइने खोपको पहिलो र दोस्रोमात्रा लगाउने अवधि घटाएका छन्।

अब ४० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिहरूले आठ हप्ताको अन्तरमा दोस्रो खोपको लागि समय लिनसक्नेछन् र सप्ताहान्तमा पनि खोप लगाइनेछ। यसअघि १२ हप्ताको समय सीमा राखिएको थियो।

विज्ञहरूले भाइरसलाई निगरानी गर्नुपर्ने, सङ्क्रमणलाई नियन्त्रणमा लिइनुपर्ने र स्वास्थ्यप्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिइरहेका छन्

भारतमा देशको कुल जनसङ्ख्याको ४ प्रतिशत भन्दा कमले खोपको पूर्ण मात्रा लगाएका छन्। जम्मा १८ प्रतिशतले पहिलो मात्रा लगाएका छन्।

त्यही भएर विज्ञहरूले डीएनए सिक्वेन्सिङ भनिने विधिबाट भाइरसको अनुगमन गर्नुपर्नेमा जोड दिइरहेका छन्। त्यसो गर्दा भाइरसका नमुनाहरूमा आनुवंशिक परिवर्तनहरूको पहिचान गरिन्छ।

कतिपयले सङ्क्रमण घटाउन आवश्यक सुरक्षाका कदमहरू चाल्नुपर्ने र महामारीसँग जुझ्न दीर्घकालीन तयारी गर्नुपर्नेमा जोड दिएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्