Logo
|
Saturday 28th December 2024
Logo

epaper

नेपालमा पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु

एक महिनाभित्र बजारमा उपलब्ध हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो ।

टिजिङ्गका कार्यकारी निर्देशक शैलेश वैद्यले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने जानकारी दिनुभयो ।

कम्पनीले भारतको हैदरावादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको जनाएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा १६ रोपनी जग्गामा कम्पनी स्थापना गरी करीब रु ३२ करोड लगानीमा औषधि उत्पादन शुरु गरिएको हो । तत्काल क्यान्सरसम्बन्धी पाँच औषधि उत्पादन गर्ने र पछि अरू ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

कार्यकारी निर्देशक वैद्यले अत्याधुनिक प्रविधिमा बनाइएको उद्योग विश्वस्वास्थ्य सङ्गठनको जिएमपी स्ट्यान्डर्ड र औषधि उत्पादन संहिता–२०७३ अनुरुप बनाइएको नेपालकै नमूना कम्पनी भएको जिकिर गर्नुभयो ।

उहाँले आफ्नो कम्पनीले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताउनुभयो । सो अवसरमा टिजिङ्ग कम्पनीले ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिको समेत अनावरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्