Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

सहकारीले सञ्चालनमा ल्यायो आँखा उपचार केन्द्र



जनस्वास्थ्य सरोकार, कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । च्यारिटी हेल्थ फाउण्डेशन कैलालीसँगको साझेदारीमा सहकारीले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । सर्वसाधारणलाई सहज र सुलभरूपमा सेवा प्रदान गर्ने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन गरिएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताउनुभयो ।

“सहकारीको उद्देश्य नाफा आर्जन गर्ने मात्र होइन”, उहाँले भन्नुभयो “सामाजिक क्षेत्रमा समेत लगानी गर्नुपर्छ । त्यही भावनाले प्रेरित भएर उपचार केन्द्र सञ्चालन गरेका छौँं ।” फाउन्डेशनले उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधि तथा जनशक्तिको व्यवस्थापन गरेको छ । सहकारीले उपचार केन्द्र सञ्चालनका लागि घरभाडा, विद्युत् र खानेपानीको महसुल तिर्ने सम्झौता गरेको छ ।

वैशाख महिनादेखि नै सहकारीले उपचार केन्द्र सञ्चालन गर्ने लक्ष्य लिएको भए पनि कोरोनाको सङ्क्रमण बढेपछि गरिएको बन्दाबन्दीका कारण विलम्ब गरी उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । उपचार केन्द्रबाट हुने आम्दानीबाट आँखा उपचारमा संलग्न प्राविधिकको तलबलगायतको सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

बिरामीको चापअनुसार थप जनशक्ति थप्नुपरेमा सहकारीले सम्पूर्ण खर्च बेहोर्ने गरी राख्ने सहकारीका अध्यक्ष शिवराज भट्टले बताउनुभयो । वैशाख महिनादेखि नै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सम्झौता गरिएको भए पनि कोरोनाको बढ्दो सङ्क्रमणका कारण सञ्चालनमा विलम्ब भएको उहाँले बताउनुभयो ।

उपचार केन्द्रमा पुग्ने बिरामीको अबदेखि निरन्तररूपमा उपचार हुने उहाँको भनाइ छ । सहकारीमा आबद्ध १३ हजार ५०० सदस्यलाई आँखा उपचारमा छुट दिने व्यवस्थासमेत गरिएको छ । त्यसका लागि कार्ड बनाउने कार्य भइरहेको सहकारीका पदाधिकारीले बताएका छन् । केन्द्रमा उपचारका लागि आउने बिरामीका लागि रु ५० दर्ता शुल्क निर्धारण गरिएको छ । बाह्य क्षेत्रभन्दा निकै सहुलियत मूल्यमा उपचार केन्द्रबाट बिरामीलाई आवश्यक औषधि उपलब्ध गराइने बताइएको छ ।

नगरपालिका क्षेत्रमा आँखा उपचारको व्यवस्था नहुँदा नगरवासीले टाढाको महेन्द्रनगर र धनगढी पुगेर चर्को शुल्क तिरेर उपचार गराउँदै आएका छन् । झलारी बजारमै आँखा उपचार केन्द्र सञ्चालन भएपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् ।

च्यारिटी हेल्थ फाउण्डेशनसँगको सहकार्यमा सहकारीले गत महिना शुक्लाफाँटा–९ मा आँखा शिविरसमेत सञ्चालन गरेको थियो । शिविरमा ३०० भन्दा बढी आँखाका बिरामी लाभान्वित भएका थिए । शिविरमा बिरामीको उपचारसँंगै निःशुल्क चश्मा र औषधि वितरण गरिएको थियो । फाउण्डेशनको सहकार्यमा सहकारीले केही दिनभित्रै शल्यक्रियासहितको बृहत् आँखा शिविर सञ्चालन गर्ने योजनासमेत बनाएको छ । नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले आँखा उपचार केन्द्रका लागि आवश्यक पर्ने सहयोग नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्