Logo
|
Friday 19th April 2024
Logo

epaper

दोस्रो मात्रा कोभिड खोप लगाएका मानिसको सुरक्षामा पनि ह्रास, यसको अर्थ के हो ?



जनस्वास्थ्य सरोकार । अनुसन्धानकर्ताहरूका अनुसार कोभिड-१९ विरुद्धका खोपको दुई मात्रा लगाएका मानिसहरूमा पनि सङ्क्रमण सुरक्षामा केही ह्रास भइरहेको पाइएको छ।

यूकेमा फाइजर वा आस्ट्राजेनेकाको दुवै मात्रा लगाइसकेका झन्डै १० लाख मानिसको सन् २०२१ को मे र जुलाई महिनाका बीच भएका पीसीआर परीक्षण नतिजामा आधारित भएर अनुसन्धान गरिएको थियो।

फाइजरको दुई मात्रा लगाएका मानिसमा पहिलो महिनामा सुरक्षास्तर ८८% रहेको भए पनि पाँचदेखि छ महिनापछि त्यो झरेर ७४% मा भएको पाइयो।

आस्ट्राजेनेका खोपको हकमा त्यो पाँच महिनामा ७७ बाट झरेर ६७% पुगेको पाइयो। विज्ञहरूका अनुसार यसरी सुरक्षाको स्तरमा ह्रास आउनु अपेक्षित नै हो। खोप लगाएका केही मानिसमा सङ्क्रमण भइरहेको भए पनि खोपले गम्भीर बिरामी हुन र मृत्यु हुनबाट राम्रोसँग जोगाइरहेको बताइन्छ।

‘खोपले जीवन जोगाइरहेको छ’

पब्लिक हेल्थ इङ्ग्ल्यान्डको अनुमानअनुसार इङ्ग्ल्यान्डमा मात्रै अहिलेसम्म दिइएको खोपका कारण ८४,६०० जनाको ज्यान जोगिएको छ तथा दुई करोड ३० लाख मानिस सङ्क्रमण हुनबाट रोकिएको छ।

यस अनुसन्धानमा संलग्न जो कोभिड स्टडी एपका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक टिम स्पेक्टरले यसका नतिजाले पूर्ण खोप लगाएका मानिसमा पनि कसरी सङ्क्रमण भइरहेको छ भनेर व्याख्या गर्न सक्ने बताए।

प्राध्यापक स्पेक्टर भन्छन्, “सुरक्षास्तरमा ह्रास आउनु अपेक्षित नै हो । खोप लगाउनु नपर्ने कुनै पनि कारण यसले दिँदैन।”

“खोपले अझै पनि अधिकांश मानिसहरूलाई खासगरी डेल्टा भेरिअन्टविरुद्ध उच्च स्तरको सुरक्षा प्रदान गरिरहेको छ। सकेसम्म धेरै मानिसलाई पूर्ण खोप दिलाउनु निकै जरुरी छ।”

तेस्रो मात्रा आवश्यक पर्ला?

आगामी जाडो यामसम्म खोपले दिने सुरक्षा ५०% सम्म झर्न सक्ने अनुमान गर्दै उनले बूस्टर अर्थात् अतिरिक्त मात्रा आवश्यक पर्न सक्ने बताए। तर अन्य विज्ञहरू भविष्यबारे अहिले नै अनुमान गरिहाल्न नहुने धारणा व्यक्त गर्छन्।

यूकेले आगामी महिनादेखि नै केही मानिसहरूलाई कोभिडको बूस्टर खोप मात्रा दिलाउने ठानिएको छ। त्यसअघि जेसीभीआई भनिने स्वतन्त्र सल्लाहकार निकायले गर्ने सिफारिस उसले कुरिरहेको छ।

प्राध्यापक स्पेक्टर भन्छन्: “धेरै मानिसलाई त्यो (तेस्रो बूस्टर मात्रा) आवश्यक नपर्न सक्छ। कैयौँ मानिसहरूले प्राकृतिक रूपमै बूस्टर पाइसकेको हुनसक्छ किनभने उनीहरूले प्राकृतिक रूपमै कोभिड सङ्क्रमण बेहोरिसकेको हुनसक्छ। अर्थात् एक किसिमले हेर्दा उनीहरूले तीन मात्रा खोप लगाएको जस्तो भइसकेको हुनसक्छ।”

“त्यसैले यो सम्पूर्ण विषयलाई निकै सोचविचारपूर्वक हेरिनुपर्छ। जथाभावी सबैलाई अर्को मात्रा खोप दिनु भनेको स्रोत खेर फाल्नु सरह हुन्छ र अनैतिक पनि। अलि लक्षित खालको कार्य आवश्यक पर्छ।”

यूनिभर्सिटी अफ रेडिङका सेल्युलर माइक्रोबायोलजीका विज्ञ डा. साइमन क्लार्क समुदायमा रहेको सङ्क्रमण स्तरले कुनै व्यक्तिलाई सङ्क्रमण हुने सम्भावना निर्धारण गर्ने बताउँछन्। त्यसैले प्रतिरोध क्षमतामा भइरहेको ह्रासबारे निष्कर्ष निकालिहाल्न कठिन छ।

सोही विश्वविद्यालयका डा. अलेक्ज्यान्डर एड्वर्ड्स भन्छन्ः कसलाई र कहिले बूस्टर खोप मात्रा आवश्यक पर्छ भनेर बुझ्नु महत्त्वपूर्ण छ।

“खोपले सबै सङ्क्रमण नरोक्ने कुरा आश्चर्यजनक होइन। जनस्वास्थ्यमा भेरिअन्टहरूको वास्तविक र महत्त्वपूर्ण प्रभाव पर्छ। यूकेमा यो भाइरसका कारण दुर्भाग्यपूर्ण रूपमा थुप्रै मानिस अझै मरिरहेका छन्।”

“हामीसँग उपलब्ध खोप निकै सुरक्षित र प्रभावकारी छन्,” डा. एड्वर्ड्सले भने।

सुरक्षा कमजोरी तथा त्यसको समयसँगै हुने ह्राससँग जुझ्न सक्नेगरी जनस्वास्थ्यका रणनीति बनाउन उनले सुझाव दिए।

एउटा त्यस्तै अध्ययनको निष्कर्ष अफिस फर न्याशनल स्टटिस्टिक्स तथा अक्सफर्ड भ्याक्सीन ग्रूपले गत साता प्रकाशित गरेको थियो। यूकेमा डेल्टा भेरिअन्टबाट सङ्क्रमित झन्डै चार लाख मानिसको पीसीआर परीक्षणको परिणाममा आधारित उक्त अध्ययनमा फाइजर खोपको दुई मात्रा कोरोनाभाइरसको लक्षणयुक्त सङ्क्रमणविरुद्ध सुरुमा ९०% प्रभावकारी भएको पाइयो भने आस्ट्राजेनेका खोप ७०% मात्रै प्रभावकारी भएको पाइयो। तर तीन महिनापछि फाइजरको सुरक्षा उल्लेखनीय स्तरमा घटेको पाइयो भने आस्ट्राजेनेका खोपले दिने प्रतिरोध क्षमता स्थिर रहेको पाइयो। बीबीसी

प्रतिक्रिया दिनुहोस्