Logo
|
Saturday 20th April 2024
Logo

epaper

कोभिड निमोनिया सिकिस्त आमाबाट समय अगावै सुरक्षित जुम्ल्याहा शिशुको जन्म

अस्पतालमा मल्टिडिसिप्लेनरी टिम एप्रोच



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बसुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले कोभिड पोजिटिभ निमोनिया भएकी सिकिस्त आमाबाट समय अगावै सुरक्षित डेलिभरि गराई प्रि—म्याच्युअर्ड जुम्ल्याहा छोरीको जन्म दिन सफल भएको छ । हाल आमा बच्चा दुवैको स्वास्थ्यवस्था सामान्य रहेको छ ।


१८ दिनको अस्पताल बसाईपछि उनीहरुलाई डिस्चार्जसमेत गरिएको छ । लमजुङको दुधपोखरी स्थायी घर भई हाल काठमाडौंको चण्डोलमा बस्दै आएका एमबहादुर गुरुङकी २७ वर्षीया रञ्जना गुरुङलाई गर्भवती भएको ३२ हप्तामा कोभिडको निमोनिया भयो । उनको अवस्था निकै नाजुक थियो । सास फेर्न गा¥ह्रो भएको थियो ।


४ अगष्ट २०२१ देखि पाँच दिन आईसियूमा भर्ना गरेर समस्या कम भएपछि हस्पिटलले सुरक्षित तवरले शल्यक्रियामार्फत ३२ हप्ताका प्रिम्याच्युअर्ड जुम्ल्याहा बच्चालाई ९ अगष्ट २०२१ मा जन्म दिन सफल भएको छ । जब कि ३७ हप्ता पुरा भइसकेको बच्चा मात्र म्याच्युअर्ड मानिन्छ ।


आमा रञ्जना गुरुङले खुशी हुँदै भन्नुभयो—‘यसरी आमा र बच्चा सुरक्षित भइएला भन्ने कल्पनासमेत गरेको थिइनँ । डाक्टर नर्स सबैको प्रयासले ज्यान जोगियो ।’


‘धेरैजसो कोभिड पोजेटिभ भएर निमोनिया भएका आमाहरुको डेलिभरी हुँदा प्रिटर्म नै हुने गर्छ । बच्चा जन्मिसकेपछि हामीले निकै होसियारपुर्वक केयर गर्यौं ।’—अस्पतालकी बालरोग विशेषज्ञ डा. सुदिप्ता मल्लले भन्नुभयो—‘ बच्चा जन्मेपछि बाल स्कोरिङ (बच्चाको बुद्धि बिकास र शारीरिक बनावट) हेर्छौं । त्यो हेर्दा बच्चा ३० देखि ३२ हप्ताको हाराहारी देखियो । यद्यपी यो प्रिटर्म बच्चा हो । प्रिटर्म बच्चाहरुमा जन्मिसकेपछि धेरै किसिमका कम्लिकेसन हुन्छन् ।’


प्रिटर्म डेलिभरीबाट जन्मेका बच्चाहरुमा सेप्सिस इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ । तापक्रम र सुगरको मात्रा मेन्टेन हुन गा¥ह्रो, बच्चाको स्वासप्रश्वासमा समस्या, बच्चाको मस्तिष्क राम्रोसँग विकास भएको हुँदैन ।

बच्चा जन्मिसकेपछि एक दुई दिनमा उनीहरुमा श्वासप्रश्वासको समस्या देखियो । उनीहरुको २० सेकेन्ड भन्दा धेरै सास रोकिने समस्या भयो । यो सँगै अनुहार निलो हुने र मुटुको धड्कन कमी हुने गरेकाले जुम्ल्याहा बच्चाको एनआईसियूमा उपचार भयो ।


‘हुन त अहिले बच्चाहरु ३४ हप्ता पूरा भइसकेका छन् । महिना पुगेर जन्मिने भनेको ३७ हप्ता माथिलाई भनिन्छ । चुनौति त धेरै छन् ।’ डा. मल्लले भन्नुभयो—‘तर अहिलेको अवस्था हेर्दा बच्चाको शारीरिक तौल बढ्दो क्रममा छ । श्वासप्रश्वासमा समस्या छैन । तापक्रम आफैं मेन्टेन गरिरहेका छन् । वार्मरमा राख्नुपरेको छैन । सुगर लेबल राम्रो छ । सेप्सिस इन्फेक्सन छैन । दुवैले राम्रोसँग आमाको दुध चुस्न सक्ने भएका छन् । दुधको मात्रा पनि पूर्ण भइसकेको छ । आमा पनि दुध खुवाउन र बच्चालाई स्याहार गर्न सक्षम भइसकेकाले उहाँलाई डिस्चार्ज गरिएको हो ।’

खासगरी आमा कोभिड पोजेटिभ भएपनि उनीबाट जन्माइएका नवजात शिसुहरुमा इन्फेक्सन हुने निकै नै कम सम्भावना हुन्छ । बच्चा जन्मिसकेपछि सामान्यत २ दिन, ७ दिन र २—३ हप्तामा कोभिड जाँच्ने गरिन्छ ।


अस्पतालकी मेडिकल डाइरेक्टर एवं वरिष्ठ स्त्री तथा प्रशुति विशेषज्ञ डा. सभाना प्रधानले भन्नुभयो—‘हामीले यी जुम्ल्याहाको २ दिन र ७ दिनमा कोभिड परीक्षण गर्दा दुईपटक नै निगेटिभ आएको छ । आमामा संक्रमण भएपनि बच्चामा हुने संभावना निकै न्युनतम हुन्छ ।’


आमा पोजेटिभ भएमा पनि बच्चालाई आमाबाट बञ्चित गर्नुपर्छ भन्ने हुँदैन । आमा र बच्चा दुवैलाई सँगै राख्न सकिन्छ । स्तनपान गराउन पनि मिल्छ तर निकै सावधानी अपनाउनुपर्छ । मास्क, स्यानिटाइजर प्रयोग गरेर स्तनपान गराउन सकिन्छ ।

धेरैले कोभिड पोजेटिभ गर्भवती महिलालाई हस्पिटलमा भर्ना लिन चाहँदैनन् । यस प्रकारका सिकिस्त बिरामीहरुका लागि ठूला पाश्चात्य देशहरुमा मल्टिडिसिप्लेनरी टिम एप्रोच गरी उपचार सेवा उपलब्ध गराएजस्तै अस्पतालले सेवा दिएको अस्पतालकी प्रमुख कार्यकारी अधिकृत सची रेग्मीले बताउनुभयो ।

अस्पतालले एनेस्थेसियोलोजिष्ट, पेडियाट्रिसियन, एनआईसियु, पिजिसियन, सर्जन गाइनोकोलोजिष्ट, ब्लड बैंक सबैको योजनावद्ध टिम एप्रोच व्यवस्थापन गर्न सकेको उहाँले स्पष्ट पार्नुभयो । ‘अस्पतालको वेल म्यानेज्मेन्टका कारण इमर्जेन्सी अपरेशन गर्नुपर्दा पनि निर्धक्क भएर गर्न गर्न सकेका छौं ।’—सिईओ रेग्मीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्