Logo
|
Friday 19th April 2024
Logo

epaper

चितवनमा घट्दै कोरोना सङ्क्रमण



जनस्वास्थ्य सरोकार, चितवन । साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा सङ्क्रमण रहेकामा यही भदौ लागेसँगै सङ्क्रमण घट्दै गएर दैनिक ४० हाराहारीमा झरेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार साउन ७ गते २५५ मा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै साउन १७ गते २२९, साउन २४ गते २३८ मा सङ्क्रमण देखिएको थियो । साउन मसान्तबाट यो सङ्ख्या घट्दै गएको हो । साउन ३१ मा आइपुग्दा २०१ जनामा कोरोना देखिएको थियो ।

जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भदौ महिना सुरु भएसँगै यो सङ्ख्या थप घट्दै गएको हो । कार्यालयको तथ्याङ्कानुसार भदौ १ गते १०६ मा सङ्क्रमण देखिएकामा भदौ १० गते आउँदा ९७ मा झरेको थियो । भदौ २० गते ७० मा झरेकामा २४ गते आइपुगदा यो सङ्ख्या ४१ मा झरेको छ ।

साउनमा २७ हजार १९७ को परीक्षण गरिएकामा पाँच हजार २६५ मा सङ्क्रमण देखिएको थियो । भदौ २४ गतेसम्ममा १५ हजार ६१८ को नमूना परीक्षण गरिएकामा एक हजार ७८५ मा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । साउनमा सङ्क्रमणका कारण ६६ को मृत्यु भएको र भदौमा सो सङ्ख्या ३४ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

उहाँका अनुसार जिल्लामा अहिले ६७५ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ३१ अस्पतालमा उपचाररत छन् भने ६४४ होम आइसोलेशनमा छन् । जिल्लामा हालसम्म २५ हजार १९३ सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४०५ को मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण सहरी क्षेत्रमा कोरोना धेरै देखिएको अधिकृत ढकालले बताउनुभयो । साउनको अन्तिम साता जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्