Logo
|
Wednesday 24th April 2024
Logo

epaper

अकुलोप्लाष्टिः स्वास्थ्य पनि, सौन्दर्य पनि



डा.पूजा राजभण्डारी/ आँखा, अकुलोप्लाष्टीक एवं रि—कन्स्ट्रक्टिभ सर्जन


अकुलोको अर्थ आँखा र प्लास्टिको अर्थ बनाउने हो । यसले बढीभन्दा बढी आँखा र आँखाको वरिपरीका रोगहरुलाई सम्बोधन गर्छ । आँखामा धेरै भागहरु भएपनि अकुलोप्लाष्टीले समेट्ने भनेको आँखाको डिलको रोग, आँखाको ढकनीको रोग, आँखा बस्ने वरिपरीको भागको रोग, आँशुको नलीको रोग आदि पर्छन् । यसका साथै हरेक प्लास्टिक रि—कस्ट्रक्टिभ सर्जरीमा कस्मेटिक सर्जरी पनि जोडिएको हुन्छ । यस विधामा मानिसको रोग निर्मुल सँगसँगै प्राकृतिक रुपमा भएको सुन्दरता पनि कायम राख्ने भन्ने हुन्छ ।

यसरी आँखा र आँखाको वरिपरि गरिने प्लाष्टिक सर्जरीलाई नै अकुलोप्लाष्टि सर्जरी भनिन्छ । यस्तो सर्जरी कतिपय अवस्थामा रोगको उपचारका लागि गरिन्छ भने कतिपय अवस्थामा आँखा र अनुहारको सुन्दरताको लागि गरिन्छ ।

जिज्ञासाः आँखाबाट आँशु बग्ने गर्छ । आँखा पाक्छ । पटक पटक इन्फेक्सन भइरहन्छ । आँखाको नानीमा घाउ हुने समस्या छ र पीडा महसुस हुन्छ । जन्मजात आँखाको नानी ब्लक (टालिएको) भएकाले आँशु बगिरहने समस्या छ ।
समाधानः यस्तो अवस्थामा शल्यक्रियामार्फत आँखाको आँशु जाने नली खोलेर समस्या समाधान गर्न सकिन्छ ।

जिज्ञासाः आँखाको छाला बाहिर फर्केर आएको छ, चोटपटक, अनुहार जलेकाले आँखाको सौन्दर्य विग्रिएको समस्या छ ।
समाधानः अकुलोप्लाष्टी एण्ड रिकस्ट्रक्टिभ सर्जरी गरेर सौन्दर्यता फिर्ता ल्याउन सकिन्छ । यसअन्तर्गत आँखा सिधा बनाउने, भित्र र बाहिर गएको आँखाको सेप मिलाउने पर्दछन् । थायराईड, आँखाको ट्यूमर, ग्लाण्डस्को ट्यूमर, बोनको ट्यूमर आदिका कारण आँखाको स्वास्थ्य र सौन्दर्य दुवै बिग्रिएको पनि हुनसक्छ । यस्तो अवस्थामा राम्रोसँग इन्भेष्टिगेसन गरेर उपचार शुरु गर्नुपर्छ ।

जिज्ञासाः आँखा नजिकै चाउरी परेको छ । आँखाको ढकनी लत्रिएको समस्या छ । आँखाको ढकनी नै बन्द नहुने समस्या छ ।
समाधानः चाउरी परेको आँखा नजिकैको छालालाई इन्जेक्सन लगाएर सिधा बनाउन सकिन्छ । लत्रिएको आँखाको ढकनीको सौन्दर्यता फिर्ता ल्याउन कस्मेटिक सर्जरी गर्नुपर्छ । आँखाको ढकनी राम्रोसँग नखुलेका कारण कतिपय बालबालिकाको आँखा सानो ठूलो देखिने समस्या हुनसक्छ । दृष्टि ढाकेको अवस्थामा भविष्यमा आँखा देख्न नसक्ने संभावना भएकाले एक वर्ष नपुग्दै शल्यक्रिया गरेर समाधानको विकल्प खोज्नुपर्छ । कतिपयको त आँखाको ढकनी नै बन्द नहुने समस्यामा सुक्खा भएर आँखामा घाउ हुने र आँखाको नानी फूट्नसक्छ । यस्तो अवस्थामा तत्काल थेरापेटिक र कस्मेटिक दुवै सर्जरीको जरुरत पर्छ ।

अकुलोप्लाष्टिअन्तर्गत आँखाबाट निरन्तर आँशु वा पिप बगिरहने बिरामीको उपचार, आँखा वरिपरी बोसो, मुसा, मासुको डल्लो र ट्युमर हटाउने, उमेरको कारण आँखाको डिल बाहिर वा भित्र फर्केको उपचार, आँखाको ढकनी तलतिर सरेको उपचार, रोगका कारण आँखा साना वा ठूला भएको उपचार गरिन्छ । यसैगरी आँखाको मुन्द्री बनाउने, मंगोलियन आइलिड सर्जरी, आँखाको बोसो हटाउने, आई ब्रो चिक लिफ्टिङ, अनुहारको चाउरीपन यसैअन्तर्गत पर्दछन् ।

हामीले दृष्टि दोष, उच्चरक्ताप, मधुमेह, थायराइड, बाथरोग र शरीरका अन्य भागका लागेका रोगहका कारण आँखामा पर्ने असरको समेत जाँच गर्दछौं । करिब ८० प्रतिशत थायराइडका कारण आँखामा समस्या भएको पाइएको छ । थायराइडका कारण आँखाको नरम टिस्यूहरुमा एन्टी बडी बनेर आँखाभित्र मासु र पानी भरिएर आउँछ । यसले आँखालाई बाहिर धकेल्छ र आँखाको गेडा डरलाग्दो तरिकाले बाहिर निस्कनसक्छ । आँखामा हुने ट्यूमर क्यान्सर रेटिनोब्लास्टोमा आँखाको ट्यूमरहरुमध्ये धेरैलाई हुने समस्या हो । यो प्रायः बच्चाहरुमा धेरै हुने गर्छ । क्यान्सर, दुर्घटनाबाट आँखा पूरै ड्यामेज भएमा प्रोस्थेटिक (नक्कली) आँखा बनाउनुपर्छ । देख्न नसकेपनि यसले आँखाजस्तै सौन्दर्यता कायम राख्छ । (डा.राजभण्डारी पुल्चोकस्थित नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्