Logo
|
Saturday 20th April 2024
Logo

epaper

ताकममा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माण सुरु



जनस्वास्थ्य सरोकार, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका(७ ताकममा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु भएको छ।

सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार ताकममा भवन निर्माण हुन लागेको हो। धवलागिरि गाउँपालिकाका इञ्जीनियर सोबिन जिसीले पाँच शय्या क्षमताको अस्पतालका लागि दुईतले १६ कोठे भवन निर्माण सुरु भएको जानकारी दिनुभयो ।

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टा(छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो, उनले भने आगामी २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

भवन निर्माणका लागि बिएम(आइएस(एसी जेभी बुर्तिबाङ बागलुङले रु चार करोड ७९ लाख ४० हजार ३३४ मा ठेक्का सम्झौता गरेको छ। विद्युतीय माध्यमबाट भएको ठेक्का प्रतिस्पर्धामा छवटा कम्पनी सहभागी थिए। गत चैत महिनामा सम्झौता गरेको ठेकेदारले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलान (डिपिसी) सकेको छ।

निर्धारित समयभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित औजार, निर्माण सामग्री जुटाएर मजदुर परिचालन गरेको निर्माण व्यवसायीले बताएका छन्। विसं २०७७ पुसमा भएको धवलागिरिको विशेष गाउँसभाले ताकममा पाँच शय्या क्षमताको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो।

निर्णयानुसार गत वर्षदेखि नै ताकम स्वास्थ्यचौकीमा स्थापना भएको कोरोना अस्थायी अस्पताललाई निरन्तरता दिइएको छ। एक चिकित्सक, दुई नर्सका साथै ताकम स्वास्थ्यचौकीका मौजुदा जनशक्तिले सेवा दिइरहेका छन्। धवलागिरिको वडा नं ७ मै पर्ने अर्को बस्ती धारापानीमा गत वर्ष स्थापना भएको स्वास्थ्यचौकी र वडा नं ३ मुना स्वास्थ्यचौकीको भवन पनि निर्माण भइरहेको छ।

ताकममा अस्पताल सञ्चालन भएपछि भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरिका बासिन्दालाई स्वास्थ्योपचारमा सहज भएको छ। चिकित्सकको सेवाका लागि दरबाङ, बेनी, बागलुङ, पोखरालगायत बजारमा पुग्नुपर्ने बाध्यता कम भएको छ। गाउँगाउँमा चिकित्सक पुगेर घुम्ती शिविर सञ्चालन गरी सेवा दिएका छन्।

धवलागिरिको ताकमका साथै मङ्गला र अन्नपूर्ण गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण सुरु गरेका छन्। मङ्गलाले अर्मन स्वास्थ्यचौकीको भवन परिसर र अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोबामा अस्पताल भवन निर्माण गर्न लागेका छन्। अस्पताल बनाउन सरकारले गत आवमा अन्नपूर्ण र धवलागिरि गाउँपालिकालाई रु ७०र७० लाख, रघुगङ्गा र मङ्गला गाउँपालिकालाई रु ८५ ८५ लाख बजेट पठाएको थियो।
रासस

प्रतिक्रिया दिनुहोस्