Logo
|
Thursday 28th March 2024
Logo

epaper

५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि डाक (डीएके) फाउण्डेशन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवंम् प्राविधिक सहयोग गर्ने जनाइएको छ ।

अस्पतालको १६औँ वार्षिक साधारणसभाका अवसरमा आवश्यकता र सर्भेक्षणका आधारमा यसै आर्थिक वर्षभित्र २० आँखा परीक्षण शिविर, १० विद्यालयमा आँखा कार्यक्रम र विभिन्न नौ स्थानमा अस्पतलले शल्यक्रिया शिविर सञ्चालन गर्ने जानकारी दिइयो । अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले सामाजिक सङ्घसंस्थासँग मिलेर सेवा विस्तार गर्ने, सर्वसाधारणलाई आँखा स्वास्थ्य शिक्षा अवगत गराउने र आँखा उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिक आँखा उपचारमा पहुँच सहज तुल्याउन प्राथमिक केन्द्र र गुणस्तर अभिवृद्धि संयन्त्र विस्तार गर्न लागिएको छ ।” नेपालमा आँखा उपचार सेवाका लागि ४८ वर्षअघि स्थापना भएको अग्रणी सो अस्पतालले न्यून शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ । आँखा सेवामा पहुँच विस्तारलाई तीव्रता प्रदान गर्ने कार्यक्रमसहित अघि बढिरहेको अस्पतालमा १५ विशेषज्ञ चिकित्सकसहितको जनशक्तिबाट सेवा प्रदान गरिँदै आएको छ ।

अस्पतालले खोकना, टोखा र थानकोटका भिजन सेन्टरलाई निरन्तरता दिँदै साँखुलगायतका थप तीन स्थानमा पनि थप सेन्टर स्थापना गर्ने कार्यक्रम अघि सारेको छ । उपत्यका बाहिर बाराका सिमरामा आँखा उपकार केन्द्र स्थापना गरिसकेको छ भने गोरखाको भच्चेकमा पनि स्थापनाका लागि अध्ययन भइरहेको जनाएको छ ।

कोभिड–१९को सङ्क्रमण जोखिमकाबीच गत आर्थिक वर्षमा उक्त अस्पतालबाट ६५ हजार ४२९ ले ओपिडीबाट सेवा लिएकामा चालु आर्थिक वर्षमा ६८ हजार जनाले त्यो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा अस्पतालले नौ शल्यक्रिया शिविरमा पाँच हजार सात जनाको आँखा परीक्षण र ४६५ को शल्यक्रिया भएको अस्पताल सञ्चालक समितिका सचिव मेघराज गजुरेलले जानकारी दिनुभयो । त्यस्तै सात आँखा परीक्षण शिविरबाट दुई हजार ७३३ सर्वसाधारण लाभान्वित भएका थिए । अस्पताले ८० वर्ष नाघेकालाई २५ प्रतिशत र गरिबलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार गर्दै आएको छ ।

अस्पतालले गत वर्ष एक हजार आठ गरिब बिरामीलाई उपचारमा पूर्ण तथा आंशिक छुट प्रदान गरेको थियो । गत आर्थिक वर्ष २०७७÷७८ मा अस्पतालले रु ११ करोड नौ लाख ११ हजार आम्दानी भएकामा रु नौ करोड १६ लाख ६६ हजार खर्च भएको विवरण कोषाध्यक्ष सविता भण्डारीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ । अस्पतालका संस्थापक डा रामप्रसाद पोखरेलले नेपालमा आँखा उपचार सेवा र जनशक्ति वृद्धिमा भएको प्रगतिप्रति खुशी व्यक्त गर्दै यसको श्रेय त्रिपुरेश्वर आँखा अस्पतालको समेत रहेको बताउनुभयो ।

अस्पतालका प्रमुख डा कमल खड्काले अस्पतालकातर्फबाट आँखा उपचार सेवा दूरदराजका गाउँबस्तीमा पु¥याउने कोसिस भइरहेको जानकारी दिनुभयो । उक्त आँखा अस्पतालले हाल दैनिक सरदर ४०० देखि ६०० सर्वसाधारणलाई आँखा उपचार सेवा पु¥याउँदै आएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस्