Logo
|
Friday 1st July 2022
Logo

epaper

ओमिक्रोन भेरिअन्टको सम्भावित तेस्रो लहर छल्न भारतमा के गरिँदैछ ?



जनस्वास्थ्य सरोकार । पुणेस्थित भारतको सबैभन्दा पुरानो जीनोम सीक्वन्सिङ गर्ने केन्द्र न्याश्नल इन्स्टिट्यूट अफ भाइरोलजी (एनआईभी) मा यतिखेर निकै धपेडी छ।

ओमिक्रोन भेरिअन्ट फैलन नदिन भारतले विभिन्न प्रयासहरू गरिरहँा एनआईभीजस्ता प्रयोगशालाहरू अहोरात्र काम गरेर उक्त नयाँ भेरिअन्टबाट सङ्क्रमित मानिसको पहिचान गरिरहेका छन्।

त्यहाँ दिनहुँ ससाना बाकसमा नाक र घाँटीबाट सङ्कलन गरिएका झन्डै १०० वटा नमुना आइपुग्छन्।

सबैभन्दा पहिले दक्षिण अफ्रिकामा देखिएर संसारभरि फैलिरहेको ओमिक्रोन भेरिअन्टको त्रास बढेपछि त्यहाँ पहिलाको भन्दा पाँचगुना बढी नमुना परीक्षणका लागि पठाइन्छ।

हावा नछिर्ने कोठामा विशेषज्ञहरूले सङ्क्रमणबाट जोगिने पहिरन लगाएर ती साना बाकस खोल्छन् र भाइरसलाई छुट्याउँदै राख्ने प्रक्रिया सुरु गर्छन्।

ती नमुनालाई अङ्कको सङ्केत दिएर छुट्याइएको हुन्छ जसले गर्दा वैज्ञानिकहरूले आफूले जाँचिरहेको स्वाब कुन थियो भन्ने थाहा पाउँदैनन्।

एनआईभीकी एक वरिष्ठ वैज्ञानिक डा. वर्षा पोतदार भन्छिन्, “छिट्टै नतिजा दिनका लागि हामीहरूलाई यतिखेर निकै दबाव छ। तर हामीले यो काम छिटो गर्नुपर्छ र यो तत्काल हुने प्रक्रिया होइन।”

उनको फोनमा घण्टी बज्ने काम बिरलै रोकिन्छ। नमुनालाई सीक्वन्सिङ गर्ने उपकरणमा राख्नका लागि तयार पार्न घण्टौँ लाग्छ।

त्यस्तो उपकरण गत वर्षको मार्चमा ल्याइएको थियो।

उक्त उपकरणले निकाल्ने डेटा एउटा सफ्टवेअर प्रोग्र्याममार्फत् सबैभन्दा पहिले चीनको वुहानमा देखा परेको कोरोनाभाइरसको प्रकारसँग तुलना गरिन्छ।

त्यसले वैज्ञानिकहरूलाई कुन भेरिअन्ट भेटियो भन्ने थाहा दिन्छ।

तेस्रो लहरको चेतावनी

यो वर्षको सुरुमा आएको महामारीको दोस्रो लहरका बेला विश्वलाई डेल्टा भेरिअन्टका बारेमा समयमै पर्याप्त विवरण नदिएको भन्दै भारत आलोचित बनेको थियो।

डेल्टा भेरिअन्ट निकै छिटो समयमा विश्वलाई आक्रान्त पार्ने भाइरस बन्न पुग्यो।

त्यसयता के परिवर्तन भयो त?

“त्यसबाट हामीले धेरै सिक्यौँ,” एनआईभीका निर्देशक डा. प्रिया अब्राहमले भनिन्।

“हामीलाई के थाहा छ भने जति धेरै यस भाइरसलाई फैलिने अवसर दिइन्छ, त्यति नै धेरै नयाँ भेरिअन्ट देखा पर्ने सम्भावना रहन्छ। मलाई लाग्छ हामी अब निकै सक्रिय हुन्छौँ, निकै रहन्छौँ।”

भारतको जनसङ्ख्याको आकारका कारण त्यसमा केही सीमितता रहेको डा. अब्रहाम बताउँछिन्।

“हामी यूके वा अमेरिकाजस्ता विकसित देशजस्तो छैनौँ। तर मलाई लाग्छ हामीले परेर धेरै सिकेका छौँ। र ती उपायसँगै सबैजना सचेत रहनुपर्छ,” उनले भनिन्।

“मलाई लाग्छ तेस्रो लहर आउने कुरा हामी कति हार्दिकतापूर्वक त्यसलाई निम्तो दिन्छौँ भन्नेमा भर पर्छ। खोप लगाउन नचाहने र साँघुरा ठाउँमा जमघट गरिरहने हो भने तेस्रो लहर आउनेछ।”

करोडौँ मानिस जोखिममा

भारतको आधाभन्दा धेरै वयस्क जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेको छ। तर करोडौँ मानिसहरू अझै जोखिममा छन्।

चिकित्सकहरूले चेतावनी दिंदै यदि ओमिक्रोनका कारण तेस्रो लहर आएमा स्वास्थ्य सुविधाले छिट्टै थेग्न नसक्ने अवस्था सिर्जना हुनेछ।

मुम्बईका एक चिकित्सक डा. स्वप्नील पारिख भन्छन्, “दोस्रो लहरमा अस्पतालको क्षमता अलिकति मात्र नपुगेको हैन, स्वास्थ्यसेवाको माग पनि कैयौँ गुणा धेरै भएको थियो। त्यसैले सानो मात्रै पनि तेस्रो लहर आएमा, जुन धेरै सम्भावित पनि छ, त्यसले हाम्रो स्वास्थ्य प्रणालीमा चाप बढाउने।”

त्यसैले के तेस्रो लहर आउला भनेर सोच्नुभन्दा पनि त्यो कहिले आउला भन्ने सोचेर तयारी थाल्नुपर्ने उनको धारणा छ।

सरकारले तयारीसाथ रहेको बताए पनि डा. पारिखले अझै धेरै गर्न आवश्यक रहेको औँल्याए।

उनी भन्छन्, “मलाई लाग्छ सक्दो धेरै मानिसलाई खोप लगाइहाल्नुपर्छ। खासगरी जोखिमपूर्ण स्वास्थ्य अवस्थामा रहेका र ज्येष्ठ नागरिकहरूलाई तेस्रो मात्रा दिन सुरु गर्नुपर्छ।”

त्यस्तो प्राथमिकतामा अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यसेवाका कर्मचारीलाई समेत राखिनुपर्ने उनको धारणा छ।

“यो देशमा हामीले दोस्रो लहरका बेला महामारीको जुवा खेल्यौँ र हार्‍यौँ । त्यसैले यसपटक उल्टो गरौँ। चाहिनेभन्दा धेरै तयारी गरौँ।”

जीन सीक्वन्सिङको भूमिका के हो?

भाइरसको आनुवंशिक संरचना भेरिअन्ट पत्ता लगाउनका लागि महत्त्वपूर्ण छ।

आनुवंशिक तत्त्वको सूक्ष्म निरीक्षण गरेर वैज्ञानिकहरूले कुनै व्यक्तिमा ओमिक्रोनको सङ्क्रमण छ वा विद्यमान र तीव्र गतिमा फैलिएको डेल्टा भेरिअन्टको सङ्क्रमण छ भन्ने पहिल्याउन सक्छन्।

यो प्रक्रियाले विश्लेषण गरिएको स्वाबका बारे मात्र जानकारी दिन्छ। तर प्राप्त परिणामका आधारमा वैज्ञानिकहरूले नयाँ सङ्क्रमणको कति अनुपात नयाँ भेरिअन्ट हुन सक्छ भन्ने आकलन गर्छन्।

यूके र दक्षिण अफ्रिकाका वैज्ञानिकहरू यो प्रविधि प्रयोग गर्ने मामिलामा अग्रपङ्क्तिमा छन्।

त्यसैले यी देशमा धेरै सङ्क्रमितमा ओमिक्रोन पुष्टि भएको छ। तर यो नयाँ भेरिअन्ट त्यहीँ उत्पत्ति भएको सङ्केत भने होइन। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्