Logo
|
Thursday 25th April 2024
Logo

epaper

चिसो मौसममा उच्च रक्तचापको जोखिम, कसरी जोगिने ?



जनस्वास्थ्य सरोकार, चितवन । चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने चिकित्सकले बताएका छन्। जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ। अस्पतालमा अन्य समस्या लिएर आएका बिरामीमासमेत उच्च रक्तचापको समस्या देखिने गरेको छ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले आफूमा रक्तचाप छैन भन्नेहरुमा पनि रक्तचाप बढेको बताउनुभयो । “चिसो मौसम सुरु भएयता अन्य प्रयोजनले परीक्षणमा आउने बिरामीमा उच्च रक्तचाप धेरैमा देखिन थालेको छ।”-उहाँले भन्नुभयो ।

यसअघि कहिल्यै रक्तचाप उच्च नदेखिएका र थाहासमेत नपाएकामासमेत समस्या देखिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “मलाई उच्च रक्तचाप छैन भन्नुहुन्छ, तर परीक्षण गर्दा रक्तचाप उच्च देखिएको छ।”

हरेक तीन जना उच्च रक्तचापका बिरामीमध्ये एक जनालाई आफूमा रक्तचाप रहेको थाहा नहुने गरेको अनुभव सुनाउनुभयो । रक्तचाप पत्ता लागेर नियमित औषधि सेवन गरेका भन्दा रक्तचाप रहेको तर थाहा नै नपाएका बढी जोखिममा रहेको उहाँले बताउनुभयो । “उच्च रक्तचाप भएर पनि थाहा नपाउनु वा परीक्षण नगर्नु अत्यन्त जोखिमपूर्ण हो।”

उहाँले समय समयमा रक्तचाप परीक्षण गर्न पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो “म स्वस्थ छु भनेर यसै बस्नु हुँदैन, समय समयमा परीक्षण गराउनुपर्छ।”

डा अधिकारीले आफूकहाँ दुई दिनको बहिरङग परीक्षणमा आउने बिरामीको रेकर्डमा नै करिब २५ प्रतिशतमा पहिलो पटक अत्यधिक रक्तचाप देखिएको बताउनुभयो ।


गर्मी मौसममा पसिना बढी आउने हुँदा पसिनाबाट नूनको मात्रा बाहिरिने र शरीरमा नून घट्ने बताउँदै उहाँल जाडो समयमा शरीरमा नूनको मात्रा बढी हुने जानकारी दिनुभयो ।

डा अधिकारीले भन्नुभयो, “जाडोमा शरीरका रगतका नलीहरु खुम्चिन्छन् र जाम हुन्छन्। यस्तो अवस्थामा नलीहरुले निचोरेर रगतलाई मुटुमा फिर्ता पठाउँछन्।”

मुटुले पनि आफूसँग आएको रगतलाई पुनः ९पम्प० फाल्ने काम गर्छ। यसरी नली खुम्चिएर फिर्ता पठाएको रगत मुटुले तत्काल नली तर्फ नै फिर्ता पठाउदा रक्तसञ्चारको प्रवाह नमिलेपछि रक्तचाप बढ्ने अधिकारीको भनाइ छ।

जाडो मौसममा मादक पदार्थ, चुरोटलगायतका सूर्तिजन्य पदार्थ, माछामासु बढी प्रयोग गर्ने हुँदा पनि यो मौसममा रक्तचाप बढ्ने उहाँले बताउनुभयो। विश्वको जनसङ्ख्याको करिब ४ भागमा एक भाग उच्च रक्तचाप भएका मानिस हुनथालेको बताउँदै डा अधिकारीले भन्नुभयो “जबकी विश्वमा करिब २५ प्रतिशत जनसङ्ख्या त बच्चा र युवकको छ।”

नियमित व्यायाम, दैनिक करिब ३० मिनेटको फटाफट हिँडाइ, नून तथा चिल्लो कम सहितको सन्तुलित भोजन, योगा, तनावमुक्त जीवनशैली र विज्ञको परामर्शमा आवश्यक परे औषधि सेवन गरी रक्तचापलाई १३०र८० भन्दा कम राख्ने लक्ष्य राख्न उहाँले सुझाव दिनुभयो ।

चितवन मुटु अस्पतालका अध्यक्ष एवं मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी जाडो मौसममा उच्च रक्तचापसँगै मुटुको समस्या पनि बढी हुने बताउनुभयो । उनले हृदयघात र हर्टफेलिर हुनसक्ने जोखिम रहेको बताउनुभयो ।

डा लौडारीले अगाडि भन्नुभयो,“जाडो मौसममा हातखुट्टाको रक्तनली खुम्चिने गर्दछ, जसलाई पेरिफेरल भ्यासोकन्स्ट्रीक्सन स्ट्रोक भनिन्छ।” धेरै चिसोमा हिँड्डुल नगर्न सुझाव दिँदै उनले घाम लागेको समयमा र चिसो कम भएको समयमा हिँड्डुल गर्न सुझाव दिनुभयो ।

नून, चिल्लो पदार्थ कम गर्न, मदिरा र धूमपान सेवन नगर्न, नियमित व्यायाम गर्न, मधुमेह, कोलस्ट्रोल र उच्च रक्तचापको नियमित परीक्षण गर्न उहाँले सुझाव दिनुभयो। रासस

प्रतिक्रिया दिनुहोस्