Logo
|
Thursday 25th April 2024
Logo

epaper

उदयमान युवा औषधि व्यवसायी सुशान्तः देशमा वृहत् चेन अफ फार्मेसीको शुरुवात्

एफडिआईको लगानी भित्र्याउने समेतको योजना



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विगत १० वर्षदेखि औषधि व्यवसायमा समर्पित व्यवसायी सुशान्त मुरारका नेपालको औषधि उद्योगमा नयाँ सोच र सक्रियताका साथ अघि बढेको अनुहार हो । पछिल्लो समय उहाँले ‘चेन अफ फार्मेसी’ को अवधारणा अघि बढाउनुभएको छ । यो आम सर्वसाधारण बिरामीलाई सर्वसुलभ मूल्यमा स्थानीय तहबाट गुणस्तरीय औषधि उपलब्ध गराउने उहाँको पहल हो । सुशान्तले ल्याउनुभएको चेन अफ फार्मेसीको अवधारणा वृहत छ ।

हालसम्म ९ वटा चेन अफ फार्मेसी सञ्चालनमा आइसकेका छन् । बाँकेको नेपालगञ्ज, काठमाडौंभित्र बाँसबारी, महाराजगन्ज, सिनामंगल, बानेश्वर, भैसेपाटी, कुलेश्वर, लगायतका ठाउँहरुमा चेन अफ फार्मेसीको विस्तार भइरहेको छ । जनकपुर र विराटनगरमा पनि चाँडै शुरु हुने उहाँले बताउनुभयो । सन् २०२२ को डिसेम्वरसम्म २० वटा फार्मेसी पुर्याउने योजनामा हुनुहुन्छ सुशान्त । संवेदनशील भएर राम्रो ब्रान्डका औषधि वितरण गर्दा फार्मेसीप्रति जनताको विश्वास बढ्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

ट्रु फार्मेसीया ब्रान्ड

देशका ५० भन्दा बढी ठाउँमा चेन अफ फार्मेसीको विस्तार गर्ने र भविष्यमा पब्लिक लिमिटेडको अवधारणा अघि सार्नुभएको छ सुशान्तले । पब्लिक लिमिटेडमा गएपछि अझ सस्तोमा गुणस्तरीय औषधि उपलब्ध गराउन सकिने उहाँको विश्वास छ । ‘मुख्य–मुख्य शहरमा औषधिको गुणस्तरीयताबारे जनचेतना जगाउँदै देशभर चेन अफ फार्मेसीको महत्व बढाउन सकिन्छ ।’—सुशान्त भन्नुहुन्छ—‘ट्रु फार्मेसीया’ नामबाट चेन अफ फार्मेसीको ब्रान्डिङ गरेका छौं ।’

चेन अफ फार्मेसीमा लगानी

चेन अफ फार्मेसी आफैँमा बृहत योजना हो । यसमा लगानीको मुख्य भूमिका रहन्छ । भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्स, यूरोप तथा अमेरिकामा चेन अफ फार्मेसीको प्रचलन रहे पनि नेपालमा हालसम्म यो अवधारणा आएको छैन । त्यसमाथि चेन अफ फार्मेसीको अवधारणा बुझाउन पनि गाह्रो छ । फार्मेसीको योजनालाई निरन्तरता दिन आर्थिक पाटो कसरी व्यवस्थापन गरिरहनुभएको छ ? भन्ने प्रश्नमा सुशान्त भन्नुहुन्छ–‘बैंकहरुसँग सहकार्यको लागि कुरा गरिरहेका छौं । एफडिआईसँग पनि कुरा भइरहेको छ । एफडिए भन्नाले लगानी यूएस कम्पनिले गर्ने र त्यसको मातहतमा रहेर चेन अफ फार्मेसी चलाउन सक्छौं ।’

एफडिआईको लगानी भित्र्याउनेसम्मको योजना

एफडिएलाई ५० वटा फार्मेसीको डिजाइन दिइसकेको र यसको लागि दुईसय देखि तीनसय करोड रुपिँया आवश्यक पर्ने उहाँको भनाइ छ ।

यसका लागि पर्याप्त लगानी नभएको र एफडिआईलाई लिएर आएको अवस्थामा चेन अफ फार्मेसीलाई धेरै सहयोग हुने मुरारकाको विश्वास छ । नेपाल सरकारले लगभग एफडिआईलाई प्राथमिकता दिएको छ । यसले चेन अफ फार्मेसी सञ्चालन गर्न कठिन नहुने सुशान्तको विश्वास छ ।

सेवामा केन्द्रित

‘स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिले गुणस्तरीयता, सुलभ उपचार र उच्च कोटीको औषधि वितरणमा ध्यान दिनुपर्छ । नाफामुखी भन्दा पनि सेवामा केन्द्रित हुनुपर्ने सुशान्तको भनाइ छ । बिरामीलाई सहजता प्रदान गरी आवश्यक परामर्शको पनि जरुरत पर्छ । ‘कतिपय रोगहरु सामान्य घरेलु उपचारले पनि निको हुन्छन् ।’—सुशान्त भन्नुहुन्छ—‘हाम्रो चेन अफ फार्मेसीको लक्ष्य औषधि बिक्रीका साथै बिरामीलाई सन्तुष्ट बनाउने पनि हो ।’

चेन अफ फार्मेसी के हो ?

एउटै कम्पनिले ठाउँ–ठाउँमा फार्मेसी खोलेर चेन बनाउने हो । एकिकृत रुपमा फार्मेसी स्थापना गर्दा जनताले सर्वसुलभ मूल्यमा औषधि पाउनेछन् । यसका साथै बिरामीहरुले चाहेअनुसारको औषधिको ब्रान्ड पनि चेन अफ फार्मेसीबाट उपलब्ध हुनेछ । ‘हामीले औषधि कुन ब्रान्डको राख्ने भनेर मापदण्ड तयार गरेका छौं ।

मापदण्डअनुसार पहिलो प्राथमिकता यूएसएफडीए र त्यसपछि डब्लूएचओलाई प्राथमिकता दिनेछौं’ —उहाँ भन्नुहुन्छ—‘डब्लूएचओ मापदण्डअनुसार उच्च गुणस्तरीय औषधि उत्पादन गर्ने स्वदेशी कम्पनिहरुलाई प्राथमिकतामा राखेका छौं । त्यसपछि आयातित ब्रान्ड रहनेछन् । हाम्रो लक्ष्य स्थानीय तहमा सर्वसुलभ मूल्यमा जनताले गुणस्तरीय औषधि पाउन सकून भन्ने हो ।’

यसकासाथै हाल ९ वटा फार्मेसीमा १५० जनाले रोजगारी पाएका छन् । कम्तिमा एकहजार जनालाई रोजगारी दिने चेन अफ फार्मेसीको लक्ष्य रहेको छ ।

गुणस्तरीयतामा विशेष ध्यान

बिक्रीबितरण गर्ने मात्र नभई औषधिको गुणस्तरीयतामा विशेष ध्यान पुर्याउनुपर्छ । हरेक व्यक्तिपिच्छे स्वभाव पनि फरक हुन्छ । त्यसैले बिरामीको स्वभावलाई मध्यनजर गरेर औषधि वितरणमा ध्यान पुर्याउनुपर्छ । गुणस्तरमा केन्द्रित रहेर बिरामीलाई खुशी र सन्तुष्ट गराउने चेन अफ फार्मेसीको उद्देश्य रहेको व्यवसायी सुशान्तले स्पष्ट पार्नुभयो ।

जथाभावी एन्टीबायोटिकको प्रयोग नगर्ने

जथाभावी एन्टीबायोटिकको प्रयोग गर्न हुँदैन । यस्ता संवदेशनशील औषधि आफैँ खरीद गरेर सेवन गर्न गर्न नहुने जानकारी गराउँदै सुशान्त भन्नुहुन्छ—‘औषधि खानै परेको परिस्थितिमा चिकित्सकको परामर्श लिनुपर्छ । चिकित्सकले पनि बिरामीलाई राम्रो कम्पनिको औषधि लेखिदिनुपर्छ । बजारमा पाइने फूड सप्लिमेन्टको प्रयोग गर्नुभन्दा आफ्नै घरवरपर पाइने सागपात, दाल, फलफूललगायतका खानामा जोड दिनुपर्छ ।

सबै प्रकारका औषधिलाई प्राथमिकता

शुरुका दिनहरुमा जनरल एन्टीबायोटिक, ग्याष्ट्रिक, एलर्जीका औषधि बिक्रीवितरणबाट काम थालेका सुशान्त फूड सप्लिमेन्ट भित्र्याउने पहिलो व्यापारी हुनुहुन्छ । त्यसपछि उहाँले आफ्ना पाइला डर्माकस्मेटिकतिर बढाउनुभयो ।

हाल उहाँले सर्जिकल, चेन अफ फार्मेसी र इन्जेक्टवल औषधिहरुको सुरुवात गर्नुभएको छ । देशका सबै ठाँउबाट सर्वसुलभ मूल्यमा औषधि उपलब्ध गराउनेतर्फ अघि बढिरहेको सुशान्तले जानकारी गराउनुभयो ।

सफल व्यवसायिमा हुनुपर्ने गुण

गुणस्तरीय सेवा र निरन्तरता नै सफल व्यवसायीमा हुनुपर्ने गुण भएको सुशान्तको ठम्याइ छ । ‘व्यापारमा कमाउने होडबाजी भन्दा पनि स्वास्थ्य क्षेत्रमा लगानी गरेपछि गुणस्तरीय सेवामा जोड दिनुपर्छ ।’—सुशान्तले भन्नुभयो—‘रुपियाँ बिस्तारै आउने विषय हो ।’ देशको मूल्य, मान्यता, नियम, कानुनभित्र रहेर सेवा विस्तार भइरहेको उहाँको भनाइ छ ।

मिहनेतको फल

शुरुका दिनहरुमा बजारमा स्थापित हुन धेरै गाह्रो थियो । गुणस्तरीय सेवालाई निरन्तरता दिँदै गयौं । चिकित्सकहरुको साथ र सहयोगबाट आज चेन अफ फार्मेसीको कन्सेप्टसम्म पुग्न सफल भएको सुशान्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्