Logo
|
Friday 1st July 2022
Logo

epaper

ब्याक्टेरियामा एन्टीबायोटिक औषधि प्रभावहीन, विश्वभर लाखौंको मृत्यु : अध्ययन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । जथाभावी एन्टीबायोटिक औषधि सेवन स्वास्थ्यका लागि घातक हुने एक अध्ययनले देखाएको छ ।
एन्टीबायोटिक औषधिबारे गरिएको हालसम्मकै बृहत अध्ययनले सन् २०१९ मा विश्वभर एन्टी माइक्रोबियल रेजिस्टेन्स (एएमआर) बाट १२ लाखभन्दा बढीको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ ।

मेडिकल जर्नल ‘द ल्यानसेट’मा प्रकाशित एक प्रतिवेदनअनुसार यसको जोखिम अन्य राष्ट्रको तुलनामा गरिब देशहरुमा धेरै रहेको पाइएको छ ।


चिकित्सा शब्दावलीमा औषधिको प्रभावहीन अवस्थालाई एन्टी–माइक्रोबियल रेजिस्टेन्स (एएमआर) भनिन्छ । ब्याक्टेरिया, भाइरस र परजीवीहरु समयसंगै परिवर्तन हुन्छन् र यीनीहरुमा औषधिको प्रभाव हुँदैन् । जसले संक्रमणपश्चात् उपचार गर्न गाह्रो हुन्छ । यसकासाथै गम्भीर रोग, संक्रमण र मृत्युको जोखिम पनि बढ्ने प्रतिवेदनले औंल्याएको छ ।


प्रतिवेदनमा नयाँ औषधिमा तत्काल लगानी गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । साथै मौज्दात रहेको औषधिको सावधानीपूर्वक सेवन गर्नुपर्ने प्रतिवेदनमा जनाइएको छ ।


बितेका केही वर्षयता सामान्य संक्रमणमा पनि एन्टीबायोटिक औषधिको अत्यधिक प्रयोग भएको छ । फलस्वरुप गम्भिर संक्रमणविरुद्ध एन्टीबायोटिक कम प्रभावकारी भइरहेका छन् ।

हाल सामान्य रोग र संक्रमणका कारणले मानिसको निधन भइरहेको छ । उक्त संक्रमणको पहिले उपचार गरिन्थ्यो र निको पनि हुन्थ्यो । अहिले जुन ब्याक्टेरियाबाट मानिस संक्रमित भइरहेका र ति व्याक्टेरिया प्रतिरोधी बनेका छन् । यसको अर्थ हुन्छ, उनीहरुमा औषधिको असर भइरहेको छैन ।


विगतदेखि विश्वभर एन्टिबायोटिकको प्रभावकारीतालाई लिएर निरन्तर चिन्ता व्यक्त गरिँदै आएको छ । हालसालैै बेलायतका स्वास्थ्य अधिकारीहरूले एएमआर एक ‘लुकेको महामारी’ हो भनेर चेतावनी दिएका थिए । जुन जिम्मेवारीपूर्वक प्रयोग गरिएन भने कोरोना महामारीका कारण एन्टीबायोटिकको असर पुनः देखा पर्नसक्ने उनीहरुको भनाई छ ।

प्रतिवेदनकाअनुसार कोरोना भाइरसको कारणले ठूलो संख्यामा मानिसहरु अस्पताल भर्ना भइरहेका छन् र एन्टीबायोटिक औषधिको प्रयोग पनि बढि भइरहेको छ । यसले एएमआरको जोखिम झन् बढाएको छ ।

घातक
ल्यान्सेटमा प्रकाशित अप्रभावी एन्टिबायोटिकका कारण हुने मृत्युको अनुमान गर्ने यो प्रतिवेदन २०४ देशमा अध्ययन तथा अनुसन्धानपश्चात तयार पारिएको हो । संयुक्त राज्य अमेरिकाको वाशिङ्टन विश्वविद्यालयको नेतृत्वमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूको टोलीद्वारा अध्ययन तथा अनुसन्धान गरिएको हो ।

यस टोलीले सन् २०१९ मा एएमआरले भूमिका खेलेको रोगका कारण ५० लाख मानिसको मृत्यु भएको अनुमान गरेको छ । यो १२ लाख मृत्युको अतिरिक्त हो, जसको लागि एएमआर प्रत्यक्ष कारण थियो । अर्थात् ६० लाखभन्दा बढी मानिसको मृत्यु हुनुमा एएमआरको भूमिका हुनसक्ने अध्ययनकर्ताले जनाएका छन् । यसको तुलना अन्य रोगसँग गर्ने हो भने सोही वर्ष ८ लाख ६० हजार एड्सबाट र ६ लाख ४० हजार मानिसहरुको निधन मलेरियाबाट भएको थियो ।


एएमआरबाट हुने मृत्युदरमध्ये धेरै निमोनियाजस्ता लोअर रेस्पिरेटरी इन्फेक्सन अर्थात श्वासप्रश्वासम्बन्धी संक्रमण र ब्लडस्ट्रीम इन्फेक्सनबाट भएको थियो । जसले सेप्सिस निम्त्याउन सक्छ ।


एमआरएसए (मेथालिन प्रतिरोधी स्टैफिलोकोकस अरियस) विशेष रुपमा घातक थियो । यसकासाथै औषधिको प्रभावहीनतालाई ईकोलाई र अन्य धेरै ब्याक्टेरियाबाट हुने रोगलाई कारण मानिएको थियो ।


अनुसन्धानमा अस्पतालबाट लिइएको बिरामीको रेकर्ड, अध्ययन र डाटा स्रोतका आधारमा साना बालबालिकाहरू सबैभन्दा बढी जोखिम रहेकोे बताइएको छ । एएमआरसम्बन्धित मृत्युमध्ये प्रत्येक पाँचौं घटना पाँच वर्ष मुनिको बच्चाको थियो ।

दक्षिण एसियामा प्रभाव
यस प्रतिवेदनकाअनुसार दक्षिण एसियाका देशहरुमा सन् २०१९ एएमआरका कारणले ३ लाख ८९ हजारभन्दा बढी व्यक्तिहरुको निधन भएको छ ।


यस प्रतिवेदनको निष्कर्षमा प्रतिक्रिया जनाउँदै भारतीय चिकित्सा अनुसन्धान परिषद् तथा आईसीएमआरकी वरिष्ठ वैज्ञानिक डा. कामिनी वालियाले एएमआर एक विश्वव्यापी आपतकाल भएको बताउनुहुन्छ ।


‘ब्याक्टेरिया प्रतिरोधी बन्दै गएकाले एन्टीबायोटिक विश्वव्यापी स्वास्थ्य आपत्काल बनेको छ । जसलाई विश्वको कुनै पनि सरकारले बेवास्ता गर्न हुँदैन ।’—डा. कामिनी भन्नुहुन्छ ‘हामीले एन्टिबायोटिकको प्रयोगलाई निकट भविष्यका लागि प्रभावकारी होस् भन्ने सुनिश्चित गर्न समयमै अनुगमन गर्नुपर्छ।’


यसैगरी युनिभर्सिटी अफ वाशिंङ्टनको इन्स्टिट्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनका प्रोफेसर क्रिस मरेले नयाँ तथ्याङ्कले विश्वभर एन्टिमाइक्रोबियल प्रतिरोधको वास्तविक तह उजागर गरेको बताउनुभयो । प्रोफेसर मरेकाअनुसार एन्टिमाइक्रोबियल प्रतिरोधको दौडमा अगाडि रहन तत्काल कारबाही आवश्यक छ ।


यस्तै, वाशिंङ्टन डीसीको सेन्टर फर डिजिज डाइनामिक्स, इकोनोमिक्स एन्ड पोलिसीका डा. रामानन लक्ष्मीनारायणले एएमआरलाई नियन्त्रण गर्न औषधिको प्रयोग बुद्धिमानीपूर्वक गर्न आवश्यक रहेको बताउनुभयो ।


‘सर्वप्रथम कुनैपनि संक्रमण हुनबाट बच्नुपर्छ ।’—डा लक्ष्मीनारायण भन्नुहुन्छ, ‘मौज्दात एन्टिबायोटिकको उचित र ध्यानपूर्वक प्रयोग गरिनुपर्छ । यससँगै नयाँ एन्टिबायोटिक पनि ल्याउनुपर्छ ।’ बीबीसीहिन्दीबाट साभार

प्रतिक्रिया दिनुहोस्