Logo
|
Friday 19th April 2024
Logo

epaper

किन आउँछ पेटबाट गुडगुड आवाज ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । धेरैले पेटभित्रबाट गुडगुड आवाज आएको सुनेका छौं । मेडिकल भाषामा यसलाई स्टोमक ग्रोलिङ् भनिन्छ । पेटबाट गुडगुड आवाज आउँदा पाचन प्रक्रियासँग जोडिन्छ ।
सामान्यतया खाना खाइसकेपछि पाचन अवधिभर पेट र आन्द्रा भित्रबाट आवाज आउँछ । यसबाहेक पेट खाली भएको बेला खाना, पानी आन्द्राहुँदै जाँदा पनि यस्तो आवाज आउँछ । गुडगुड आवाजलाई प्रायः सामान्य मानिन्छ ।

तर बारम्बार असमान्य रुपमा पेटभित्रबाट आवाज आउँदा पाचन तन्त्रभित्र केही गम्भिर समस्या भएको संकेत हुनसक्छ । यसलाई वेवास्ता गर्नु हुँदैन ।
सामान्यतया हामीले खाएको खाना सानो आन्द्रामा पुग्दा शरीरले खाद्य पदार्थलाई तोड्न र पौष्टिक तत्वहरु अवशोषणको लागि एन्जाइम जारी गर्छ । पाचन प्रक्रियाको यस अवस्थामा गुडगुड आवाज आउन सक्छ ।


भोक लाग्नु पनि गुडगुड आवाज आउनुको अर्को कारण हुनसक्छ । लामो समयसम्म केही खानेकुरा नखाँदा शरीरले नियमितझै पाचन प्रक्रिया सुरु गर्छ । गुडगुड आवाज एक पटकमा २० मिनेटसम्म आउन सक्ने अनुमान गरिन्छ । यसबाहेक हरेक समय खाना खाँदा पेटबाट आवाज आउन पुनः सुरु हुनसक्छ ।


उत्तर अमेरिकाको एन्डोक्र्रिनोलोजी एन्ड मेटाबोलिज्म क्लिनिकद्वारा प्रकाशित एक लेखअनुसार भोक लागेको समयमा मस्तिष्कमा हार्मोन जस्तो पदार्थले खानेकुरा खाने इच्छालाई सक्रिय गर्छ । त्यसपछि पेटलाई संकेत प्राप्त हुन्छ । फलस्वरुप पाचनतन्त्रका मांशपेशीहरु खुम्चिएर पेटबाट आवाज आउने कारण बन्छ ।


आवाज आउने सामान्य र गम्भिर लक्षण
भोक लाग्नु र पाचन प्रक्रिया हुनु यसको सामान्य कारण हो । यसबाहेक अन्य कारण पनि हुनसक्छन् । ती कारणहरुमध्ये क्रोहन रोग, फूड एलर्जी, झाडापखाला, ग्यास्ट्रोइन्टेस्टाइनल ब्लीडिङ, आन्द्रा संक्रमण र ठूलो आन्द्रा सुन्निने हुनसक्छन् । पेटबाट आउने आवाजसँगै अन्य समस्या भएको महशुस भएपछि तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्छ । यसबाहेक यसबाट बच्न नियमित खानपानमा ध्यान पुर्याउनुपर्छ ।

पानी पिउने
पेटबाट गुडगुड आवाज आउँदा एक गिलास पानी पिउँनु लाभकारी उपाय हुनसक्छ । विशेषगरी लामो समयदेखि खानेकुरा नखाएको समयमा प्रशस्त पानी पिउनुपर्छ । पानीले पेट भर्नुकासाथै पाचन प्रक्रियामा पनि मद्दत गर्छ । पेटको आवाज कम गर्न मात्रा मिलाएर पानी पिउनुुपर्छ ।

खाना खाने
पेटबाट गुडगुड आवाज आउँनु खानेकुरा चाहिएको संकेत हुनसक्छ । त्यसैले भोक लाग्नेबित्तिकै केही खानेकुरा खाइहाल्नुपर्छ । दिनमा कम्तिमा ४ देखि ६ पटक थोरैथोरै खानेकुरा खाइरहनुपर्छ ।

हर्बल–टी
पुदिना, अदुवा, सौंफले बनेको हर्बल चिया खाँदा पाचन प्रक्रियामा सहयोग पुग्छ । हर्बल चियाले आन्द्राको मांशपेशीलाई आराम दिनुकासाथै पेटको एैठनलाई पनि कम गर्छ । अदुवाले पेट सुन्निएको कम गर्छ । यससँगै पुदिनाले ग्याष्ट्रिक र तनावबाट राहत दिन्छ ।

लसुन
लसुनमा एलिसिन भन्ने तत्व पाइन्छ । यस तत्वले ग्याष्ट्रिकको समस्या भएका व्यक्तिलाई धेरै फाइदा गर्छ । एलिसिनले पेट सुन्निएको कम गर्छ । पाचन प्रक्रियालाई राम्रो बनाउन दैनिक बिहान खाली पेट काँचो लसुनको सेवन गर्नुपर्छ ।

पाचनतन्त्र बलियो बनाउने खानेकुरा
पाचन प्रक्रिया बलियो बनाउन र पेटलाई तन्दुरुस्त राख्न खानामा दही, चिया सीड्स, बीड्स, अदुवा र किमची (बन्दागोभीको सलाद) र माछा खानुपर्छ । यसबाहेक प्रशस्त मात्रामा पानी पनि पिउनुपर्छ ।

कफीभन्दा ग्रीन–टी
कफी एक अम्लीय पेय पदार्थ हो । यसको अत्यधिक सेवनले पेट गडबढ हुनसक्छ । कफीभन्दा ग्रीन–टी पिउनु उत्तम विकल्प हुन्छ । यसले पेट सुन्निएको र ग्याँस भरिएको समस्यालाई कम गर्छ । ग्री–टीमा स्वस्थ बायोएक्टिभ यौगिक र एन्टीअक्सिडेन्ट गुण पनि हुन्छ । यसले पेटको अल्सरलाई पनि कम गर्न सहायक भुमिका खेल्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्