Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोरोनाको त्रासमा नर्सिङ सेवाः अग्रपंक्तिमा लड्ने सेना बराबर




जनस्वास्थ्य सरोकार, काठमाडौं । ‘उहाँ एक वास्तविक देवदूत हुनुहुन्छ । दुर्गन्ध र चिच्याहटले भरिएको यो अस्थायी अस्पतालमा, उहाँ एउटा विभागबाट अर्को विभागमा पुग्नुहुन्छ र प्रत्येक बिरामीलाई कृतज्ञता र स्नेहको अभिव्यक्ति दिनुहुन्छ । राति सबै डाक्टर र कर्मचारी आ–आफ्नो कोठामा सुत्दा उहाँ हातमा बत्ती लिएर हरेक ओछ्यानमा पुग्नुहुन्छ र बिरामीको पीडामा साथ दिनुहुन्छ ।’ सन् १८५४ मा क्रिमियन युद्धमा फ्लोरेन्स नाइटिंगेलले गरेको योगदानबारे टाइम्स अखबारमा प्रकाशित भएपछि यो समाचारको आधारमा उहाँले ‘दि लेडी विथ ए ल्याम्प’ को उपनाम प्राप्त गर्नुभयो ।


सेतो कोट, कपालमा सेतै रिबन, मुस्कानसहित औषधि बोकेर बिरामी अगाडि टक्क उभिन्छिन् । अनि बिरामीको पीडामा आमाको जस्तै माया र ममतामयी सेवा दिन्छिन्, लचकदार भएर निस्वार्थ बिरामीको सेवामा लागिरहन्छिन्….लागिरहन्छिन्… । हरेक वर्ष माघको १५ गतेका दिन नेपाल नर्सिङ दिवस मनाइरहँदा मनमस्तिष्कमा आउने यादगर परिकल्पना हुन् यी ।

फ्लोरेन्स नाइटिंगेललाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ । फ्लोरेन्स नाइटिङगेल, दया र सेवाको प्रतीक, “द लेडी विथ द ल्याम्प“ भनेर चिनिन्छन ्। उहाँ एक समृद्ध र उच्च वर्गको ब्रिटिश परिवारमा जन्मनुभएको थियो ।

कोरोना त्रासका कारण सेतो कोट लगाउने नर्स, डाक्टर अनि पारामेडिक्सहरूलाई पनि राष्ट्रिय सुरक्षाका दृष्टिले लडाईंका बेला अग्रपंक्तिमा लड्ने सेना बराबर मानिन थालिएको छ ।


राणा शासक वीर शमशेरले विक्रम सम्बत् १९४७ साल साउनमा ‘वीर अस्पताल’को स्थापना गरेपछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन्न सक्ने ब्यत्तिहरू मात्रै थिए । वीर अस्पतालको इतिहास पल्टाउँदा उतिबेला ड्रेसिङलगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वयंले गर्ने गर्दथे ।

तर नर्सिङ्ग सेवाको नेपाली इतिहास वि.सं २०१३ बाट शुरु भएको देखिन्छ । केही गृहणीहरू लगायतका नेपाली चेलीले औपचारिक रूपमा नर्सिङ्गको तालिम लिएपछि यो सेवा सुरु भएको हो । राणा शासनका बेला सभ्रान्त परिवारमा स्वास्थ्य–उपचार अनि नर्सिङको महत्व चाल पाएर नेपालमा नर्सिङ्गको सुरुवात भएको विश्वास गरिन्छ ।

राणाशासनकै बेला चार नेपाली चेली विद्यावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली चेलीहरूले भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ्ग कोर्स गरेर आउने चलन थियो । तर अहिले धेरै नर्सिङ कलेज छन् । बर्षेनी करिब २ हजारको हाराहारीमा नर्स उत्पादन भइरहेका छन् ।

उच्च परिवारमा जन्मिएकी फ्लोरेन्सले सेवाको बाटो रोज्नुभएको थियो । सन् १८४५ मा, परिवारको सबै विरोध र क्रोधको बावजुद, उहाँले समस्यामा परेका मानिसहरूको सेवा गर्ने वाचा गर्नुभयो । डिसेम्बर १८४४ मा, उहाँले चिकित्सा सुविधा सुधार गर्न एक कार्यक्रम शुरू गर्नुभयो । पछि उहाँले एक प्रख्यात रोमन राजनीतिज्ञ सिड्नी हर्बर्टसँग मित्रता गाँस्नुभयो ।


नर्सिङका अलावा लेखन र प्रयोगात्मक तथ्याङ्कमा उहाँको पूरा ध्यान थियो । फ्लोरेन्सको सबैभन्दा महत्वपूर्ण योगदान क्रिमियाको युद्धमा थियो । अक्टोबर १८५४ मा उहाँसहित ३८ महिलाहरुको एक समूह टर्कीमा घाइतेको सेवा गर्न पुग्नुभयो । यस समयमा उहाँको सेवा कार्यको लागि, लेडी विथ द ल्याम्पको उपाधिबाट सम्मानित हुनुभयो ।


डाक्टरहरू गएपछि रातको अन्धकारमा मैनबत्ती बालेर घाइतेको सेवा गर्नुहुन्थ्यो । तर द्वन्द्वका घाइतेको सेवा गर्दागर्दै उहाँलाई गम्भीर संक्रमणले आक्रमण गर्यो ।


सन् १८५९ मा, फ्लोरेन्सले सेन्ट थोमस अस्पतालमा नाइटिंगेल प्रशिक्षण विद्यालय स्थापना गर्नुभयो । यसै बीचमा उहाँले नोट्स अन नर्सिग नामक पुस्तक लेख्नुभयो । उहाँले आफ्नो बाँकी जीवन नर्सिङको कामको विस्तार र आधुनिकीकरणमा बिताउनभयो । सन् १८६९ मा उहाँलाई रानी भिक्टोरियाद्वारा रोयल रेड क्रस प्रदान गरिएको थियो । उहाँको मृत्यु १३ अगस्ट १९१० मा ९० वर्षको उमेरमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्