Logo
|
Thursday 25th April 2024
Logo

epaper

भरतपुर अस्पतालको शय्याले धानेन प्रसूति सेवा

ठाउँ अभावले भुइँमा बस्नुपर्ने बाध्यता



जनस्वास्थ्य सरोकार, चितवन । प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि शय्याले धान्न मुस्किल हुँदै गएको छ । शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो ।

चितवन र छिमेकी जिल्लाका महिलाको प्रसूतिको पहिलो चाहना भरतपुर अस्पताल हुने गर्दछ । गर्भवतीले परीक्षण निजीमा गर्दै आए पनि बच्चा जन्माउन भने भरतपुर अस्पताल आउने गर्दछन् । अन्यत्र काम गर्ने चिकित्सकले समेत प्रसूति सेवा लिन भरतपुर अस्पताल आएको पाइन्छ ।

अस्पतालमा साउनयता पुस मसान्तसम्म सात हजार १९८ जना आमाले शिशु जन्माइसकेका छन् । गत वर्ष भरमा यो सङ्ख्या नौ हजार ७६६ थियो । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल दैनिक ४० देखि ४५ जनाले त्यहाँ बच्चा जन्माउने गरेको बताउनुभयो ।

तीमध्ये ३० देखि ३३ प्रतिशतको शल्यक्रिया गरेर बच्चा झिक्ने गरिएको छ । गत वर्षभन्दा यो वर्ष सङ्ख्या निकै बढेको भन्दै उनले यस वर्ष १२ हजारभन्दा बढीले सेवा लिने देखिएको बताउनुभयो ।

बच्चा जन्माइसकेका आमाहरु ठाउँ अभावमा भुइँमा बस्नुपर्ने बाध्यता रहेको छ । पोख्रेलले भन्नुभयो–“अहिले दैनिक १०/१५ जना भुइँमा सुत्न बाध्य छन् ।” अस्पतालमा १५० शय्या प्रसूतिका लागि छुट्याइएको छ । शल्यक्रियापछि राख्ने पोष्टअपमा १२ शय्या प्रसूतिका लागि छ ।

यससँगै १६ वटा मेडिकल क्याबिन भएको पोख्रेलले बताउनुभयो । “बिरामीको चाप बढी भएका कारण सुत्केरी भइँमा सुत्न बाध्य रहेका छन् ।”– उहाँले थप्नुभयो । चाहेर पनि शय्यामा राख्न नसकिएको उहाँको भनाइ छ ।

शल्यक्रिया गरेकालाई भुइँमा राख्न नमिल्ने हुँदा सामान्य अवस्थामा सुत्केरी भएकाहरुलाई भुइँमा राखिन्छ । शल्यक्रिया गरेकाहरुलाई सात आठ दिनसम्म राख्नुपर्ने हुँदा शय्याको अभाव हुने गरेको हो । कोभिड प्रकोपसँगै पछिल्ला महिनाहरुमा १५ देखि २० जना सङ्क्रमितको प्रसूति त्यहाँ हुने गरेको छ । तीमध्ये ३० प्रतिशत हाराहारीलाई शल्यक्रिया गर्ने गरिन्छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्ण पौडेल प्रसूति गर्नेहरुको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको भन्दै सोचेजस्तो व्यवस्थापन गर्न अझै नसकिएको स्वीकार गर्नुहुन्छ । १६ जना विशेषज्ञ चिकित्सकसहित १२५ हाराहारीमा स्वास्थ्यकर्मी र कर्मचारी यो विभागमा कार्यरत छन् ।

डा पौडेलले भन्नुभयो–“अस्पतालमा छुट्टै प्रसूति गृह आवश्यक रहेको छ ।” अस्पतालले प्रसूति सेवामा राम्रो सेवा दिनका लागि आवश्यक गृहकार्य भइरहेको उनले जानकारी दिनुभयो। पौडेलले थप्नुभयो–“सङ्घीय अस्पताल भएकाले चितवनसहितका छिमेकी जिल्लाका महिलाहरुका लागि प्रसूति सेवाको केन्द्र बनेको छ ।”

अस्पतालले छुट्टै प्रसूति गृह निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को काम अघि बढाएको छ । सुरुमा सुविधासम्पन्न ५० शय्या र थप गर्दै लैजाने गरी प्रसूति गृह निर्माण गर्न लागिएको उहाँको भनाइ छ । सरकार र विकास समितिको संयुक्त लगानीमा भवन निर्माण गर्न लागिएको हो ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले निजी अस्पतालमा जाँदा सामान्य प्रसूतितर्फ ध्यान नै नदिएर शल्यक्रिया गर्ने गरेकाले भुइँमा नै सुत्नु परे पनि भरतपुर अस्पताल आउन रुचाउने गरेको बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा चिकित्सकसँगै लामो अनुभव भएका स्वास्थ्यकर्मी रहेकाले धेरैले सामान्य तरिकाले बच्चा जन्माउने गरेका छन् । उहाँले भन्नुभयो –“प्रसूतिमा हाम्रो अस्पतालमा जस्तो अनुभवी अन्यत्र कहीँ छैनन् ।”

भरतपुर अस्पतालमा २४ घण्टामा ८५ जनासम्मले बच्चा जन्माएको तथ्याङ्क रहेको छ । यसमध्ये ४२ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो । यसैवर्ष पनि ७० जनासम्मको प्रसूति गराइएको अस्पतालले जनाएको छ । गतवर्ष कोभिडका कारण प्रसूति गराउनेको सङ्ख्या घटेको थियो ।

भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष अस्पतालमा तीन लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ । अस्पतालमा ६०० शय्या छन् । रासस

प्रतिक्रिया दिनुहोस्