Logo
|
Thursday 25th April 2024
Logo

epaper

सिभिल हस्पिटलको लापरबाहीबारे मेडिकल काउन्सिलले छानविन गर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले सिभिल अस्पतालको लापरबाहीका कारण मृत्युवरण गरेका पत्रकार एलबी विश्वकर्माको घटनाबारे छानविन गर्ने भएको छ ।

श्रमजीवी पत्रकार सङ्घ नेपालसँग काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले के–कति लापरवाही भएको हो सोको विषयमा छानविन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । छानविनका लागि काउन्सिलको टिमले तत्काल काम थाल्ने अध्यक्ष कोइरालाको भनाइ छ ।

टिभी टुडे टेलिभिजनमै कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि यही माघ ५ गते बुधबार राति ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको थियो । पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा पुर्याएपनि पैसा नभएका कारण त्यहाँबाट फर्काइएको थियो ।

पत्रकार सङ्घ–सङ्गठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको घटनाको न्यायिक छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् । सङ्घले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै सिभिल अस्पतालमा धर्ना दिँदै आएको छ ।

सङ्घले सिभिल अस्पतालले आफूखुसी छानविन समिति गठन गरेको भन्दै तत्काल खारेज गरी नेपाल मेडिकल कान्सिलको नेतृत्वमा न्यायिक छानविन समिति गठन गर्नुपर्ने र पत्रकारलाई सिभिल अस्पतालसहित देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।

सङ्घले पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गरेको भन्दै आन्दोलन गर्दै आएको छ । उपचारका लागि सिभिल अस्पताल पुर्याइएका पत्रकार विश्वकर्मालाई कोरोना टेस्टविना उपचार नहुने भनेर लापरवाही गर्दा उनको मृत्यु भएको सङ्घको भनाइ छ ।

अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गरेका थिए । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानविन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारवाही गर्नुपर्ने माग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्