Logo
|
Friday 19th April 2024
Logo

epaper

शरीरमा भिटामिन ‘सी’ को कमि भएमा देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या



जनस्वास्थ्य सरोकार, काठमाडौं । भिटामिन ‘सी’ स्वस्थ शरीरका लागि आवश्यक पर्ने भिटामिन मध्ये एक हो । यसले शरीरलाई बलियो बनाउन र विभिन्न किसिमका रोगसँग लड्ने क्षमता बढाउन मद्दत गर्छ । शरीरमा भिटामिन ‘सी’ को कमी भएमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखिन सक्छन् ।
शरीरमा भिटामिन ‘सी’ को कमि हुँदा यस्ता समस्या देखिन सक्छन्
एनिमिया
शरीरमा भिटामिन ‘सी’ को कमीले एनिमिया रोग हुनसक्छ। भिटामिन ‘सी’ ले आइरनको अवशोषण गर्न मद्दत गर्छ । यसले एनिमिया हुनबाट जोगाउँछ।
रातो रक्तकोषिका प्रभावित
शरीरमा भिटामिन ‘सी’ को कमिले रातो रक्तकोषिकाहरु प्रभावित हुन्छन् । शरीरमा रातो रक्तकोषिकाको मात्रा पनि घट्ने र गुणस्तरमा ह्रास आउनसक्छ । जसले व्यक्तिलाई सास फेर्न समस्या, थकान, कमजोरी र तौल घट्ने जस्ता समस्या देखिन सक्छन् ।
अनुहारमा चाउरीपना आउने
शरीरमा भिटामिन सीको कमीले छाला रुखो हुन्छ । हातखुट्टाका छाला सुख्खा हुन्छ । अनुहार र आँखा वरिपरी चाउरी पर्न थाल्छ । भिटामिन सीले बुढ्यौली र अनुहारको चाउरीपना हटाउन मद्धत गर्छ।

घाउ ढिलो निको हुने

शरीरमा चोटपटक जुनसुकै बेला लाग्न सक्छ । समयसँगै घाउ आफै निको हुँदै जान्छ । तर, घाउ निको हुन ढिलो भएमा शरीरमा भिटामिन ‘सी’ को कमी भइरहेको बुझ्न सकिन्छ। भिटामिन सीको कमीले शरीरमा लागेको घाउ निको हुन लामो समय लाग्छ ।

आँखा कमजोर हुनु
शरीरमा भिटामिन ‘सी’ को कमीले आँखा सम्बन्धी समस्या निम्त्याउन सक्छ । आँखामा मोतियाबिन्दुको समस्या हुनसक्छ ।

स्कर्वी रोग
भिटामिन ‘सी’ को कमीले स्कर्वी रोग लाग्न सक्छ । यसले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । रोग लागेपछि नङ कमजोर हुने, कपाल झर्ने, जोर्नी दुख्ने, थकान र कमजोरी महशुस हुने जस्ता लक्षणहरु देखिन सक्छन् ।


भिटामिन ‘सी’ को फाइदा

  • भिटामिन ‘सी’ ले शरीरका तन्तुहरुको बृद्धि, विकास र मर्मत गर्दछ ।
  • भिटामिन ‘सी’ एन्टिअक्सिडेन्टको उत्कृष्ट स्रोत हो । यसले क्यान्सर, हृदय रोग र गठिया बाथ जस्ता रोगविरुद्ध सुरक्षा प्रदान गर्छ । भिटामिन ‘सी’ ले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । चिसो र फ्लूबाट बचाउँछ।
  • शरीरमा आइरनको कमि हुनबाट बचाउँछ ।
  • भिटामिन ‘सी’ कोलेजन संश्लेषणका लागि आवश्यक मानिन्छ । त्यसकारण छालाका लागि राम्रो मानिन्छ ।

भिटामिन ‘सी’ का मुख्य स्रोत

अमला, कागती, सुन्तला, अंगूर, टमाटर भिटामिन सीका मुख्य स्रोतहरु हुन् । त्यस्तै अम्बा, मूलाको पात, किसमिस, दूध, चुकन्दर, हरियो धनिया, पालक शलगम र बेरीमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्