Logo
|
Thursday 28th March 2024
Logo

epaper

हिमाली जिल्ला म्याग्दीमा बहुक्षेत्रीय पोषणका लागि रु ४६ लाख थप



जनस्वास्थ्य सरोकार, म्याग्दी । हिमाली जिल्ला म्याग्दीका छ ओटै स्थानीय तहमा बहुक्षेत्रीय पोषणको आंशिक प्याकेज अन्तर्गत चालू आर्थिक वर्षमा रु ४६ लाख लगानी गरिने भएको छ । गत आर्थिक वर्षदेखि नै कार्यक्रम सञ्चालनमा रहेका जिल्लाका छ ओटै स्थानीय तहका लागि चालू आर्थिक वर्षमा रु ४६ लाख थप गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव वसन्त अधिकारीका अनुसार बहुक्षेत्रीय कार्यक्रमभित्र रहेको पोषण प्रवद्र्धनका लागि उक्त रकम लगानी गरेर आमा र बच्चाको स्वास्थ्यलाई बलियो पार्ने प्रयास गर्न लागिएको हो । उनले बेनी नगरपालिकाले रु आठ लाख र बाँकी रहेका मङ्गला, धौलागिरि, अन्नपूर्ण, रघुगङ्गा र मालिका गाउँपालिकाले समानरुपमा रु सात–सात लाख ६० हजार प्राप्त गर्ने बताए ।

‘यो रकम स्थानीय तहमा पठाएपछि कार्यक्रममा राखिएका शीर्षक र उपशीर्षकमा खर्च गर्नुपर्छ । यसबाट सुनौला हजार दिनका आमा र बच्चा तथा पाँच वर्षसम्मका बच्चा तथा आम नागरिक सबैको पोषणको अवस्थामा सुधार ल्याउने खालका कार्यक्रम सञ्चालन गरेको हुनुपर्छ,’ सहसचिव अधिकारीले भने । 

सुनौला हजार दिनको अवधिमा ८० र पाँच वर्षभित्रमा ९० प्रतिशत मस्तिष्कको विकास हुन्छ । बच्चालाई पोषणको आवश्यकता पर्ने बेला नै यही हो । यसलाई प्रभावकारी बनाउने काम स्थानीय तहको भएको उहाँको भनाइ थियो । पञ्चाननब्बे प्रतिशत क्रोनिक रोग खानाका कारणबाट सुरु हुने भएकाले खानपानका विषयमा विशेष ध्यान दिन र त्यसका लागि स्थानीय तहहरूले जोड दिनुपर्ने खालका कार्यक्रम ल्याउनु आवश्यक भएकोले कार्यक्रम लागू भएका ठाउँमा सोही अनुसारको सहजीकरणको काम भइरहेको बताइएको छ ।

बालबालिकाको स्वास्थ्यमा समस्या आउन नदिन विद्यालयमा खाइने खाजा, अस्पतालमा प्रदान गरिने खाना, खाद्य सुरक्षा र सुरक्षित खाने पानीमा विशेष जोड दिनुपर्ने आवश्यकता रहेको सम्बद्ध स्वास्थ्यकर्मीका भनाइ थियो । बहुक्षेत्रीय पोषण कार्यक्रम देशका ७७ जिल्लामध्ये ७४ जिल्लाका ७२० स्थानीय तहमा कार्यान्वयन गरिएको छ । कास्की, चितवन, काठमाडौँ, भक्तपुर र ललितपुरमा भने यो कार्यक्रम लागू गरिएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्