महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

जनस्वास्थ्य सरोकार, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका १ रामनगरमा एम्बुलेन्सले ठक्कर दिँदा एकजना साइकलयात्रीको मृत्यु भएको छ । सम्सी माईस्थान सडक अन्तर्गत रामनगरमा गएराति स १ च १३९३ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गौशाला नगरपालिका ११ भरतपुरका ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।
रातिको समयमा गौशालाबाट रामनगरतर्फ जाँदै गरेको समयमा पछाडिबाट आएको एम्बुलेन्सले ठक्कर दिँदा महतो घाइते भएका थिए । गम्भीरअवस्थामा रहेको महतोलाई तत्काल उपचारको लागि जनकपुर लाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतक महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले बताउनुभयो । अहिले ठक्कर दिने एम्बुलेन्स चालक सर्लाही वरहथवा नगरपालिका ९ का ३४ वर्षीय रामविहारी महतो प्रहरीको नियन्त्रणमा रहेको डीएसपी विष्टले जानकारी दिनुभयो।