Logo
|
Wednesday 13th November 2024
Logo

epaper

अस्पताल निरन्तरताको रेसिङः प्रा.डा. मधुको हातमा स्टेरिङ



उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलकी संस्थापक अध्यक्ष हुनुहुन्छ प्रा.डा. मधु दीक्षित देवकोटा । यस बाहेक उहाँले आफ्नो जीवनको ३४ वर्ष त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जमा अध्यापनमा बिताउनुभयो । सन् १९८४ मा शिक्षण अस्पताल महाराजगञ्जमा मेडिकल अफिसरको रुपमा सेवामा प्रवेश गर्नुभएकी डा. मधु पछिल्लो समय सहायक डिनसम्म हुनुभयो । त्यतिखेर शैक्षिक र योजना गरी उहाँलाई दुई वटा पोर्टफोलियोको जिम्मा दिइएको थियो । श्रीमान, वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटा बिरामी परेपछि उहाँलाई उपचारार्थ बेलायत लानुपर्यो र डा. मधुले सो कार्यलाई निरन्तरता दिन सक्नुभएन । कुर्सी खाली रहँदा व्यवस्थापनलाई गाह्रो होला भनेर उतैबाट राजिनामा पठाउनुभयो । डा. देवकोटाको अवसान उपरान्त उहाँ पूर्णकालीन रुपमा न्यूरो अस्पतालको व्यवस्थापनमा आवद्ध रहिरहनुभएको छ । अहिले प्रा.डा उपेन्द्र देवकोटा नभएको अवस्थामा प्रा.डा. मधुले अस्पताल कसरी सञ्चालन गरिरहनुभएको छ ? भन्ने जिज्ञासा उब्जिनु पनि स्वभाविक हो । जनस्वास्थ्य सरोकारका लागि पुरुषोत्तम घिमिरेले ‘कर्पोट हेल्थ’ शीर्षकमा प्रा.डा. मधुलाई प्रस्तुत गर्नुभएको छ, जानौं उहाँकै शव्दमा सफलताको राज ।

कर्मथलो

सन् १९८९ मा वेलायतबाट पिडियाट्रिक्स (वाल स्वास्थ्य) को उच्च अध्ययन सकेर फर्केपछि म पुनः चिकित्सा शास्त्र अध्ययन संस्थानमा काम गर्न थाले । पछि मैले जर्मनीको हाइडलवर्ग युनिभर्सिटीबाट एमएस्सी इन कम्युनिटी हेल्थ एण्ड हेल्थकेयर म्यानेज्मेन्ट अध्ययन गरेँ र फेरि त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानमा अध्यापनलाई निरन्तरता दिएँ । त्यसैलाई आफ्नो कर्मथलो बनाएँ ।

जीवनको सार्थकता

देशको जुनसुकै जिल्लामा गएपनि मैले पढाएका डाक्टर, पब्लिक हेल्थका विद्यार्थीहरु भेट्न पाउँछु । मेरा धेरै विद्यार्थीहरु स्वास्थ्यका अगुवा हुनुहुन्छ र देशभरका अस्पताल एवं पब्लिक हेल्थका कार्यक्रमहरुको कार्यान्वयनमा अग्रणी भुमिकामा हुनुहुन्छ । अध्ययन अध्यापन, अनुसन्धान एवं स्वास्थ्य मन्त्रालयका लागि नीति परामर्श सम्बन्धि कार्यको सिलसिलमा देशका धेरैजसो जिल्लामा पुग्ने अवसर पाएकोमा मलाई गर्वको अनुभूति हुन्छ ।

मैले नेपाल सरकारको मातृ तथा शिशु स्वास्थ्य, पोषण, स्वास्थ्य सेवामा पिछडिएका समुहको पहुँच, लैङ्गिक विभेद एवं महिला हिंसा लगायतका १० भन्दा वढि स्वास्थ्य नीति, योजना र रणनीति लेख्ने मौका पाएँ । नीतिगत तहको यस योगदानको फलस्वरुप मुलुकमा आमा र नवजात शिशुको मृत्यु संख्यामा ह्रास आयो, कुपोषणको स्थितिमा पनि सुधार आएको छ । यसले नेपाल संसारकै लागि मातृ मृत्युदर एवं वालवच्चामा कुपोषण घटाई उदाहरणीय बन्न पुग्यो विश्व समुदाय माझ । यसरी थोरै भएपनि मुलुकको नीतिगत तहमा योगदान गर्न पाएकोमा जीवनले सार्थकता पाएको महसुस गर्छु ।

विरासत धान्ने प्रण

प्रा.डा. देवकोटाकोे अनुपस्थितिमा अस्पताल सञ्चालन गर्न गाह्रो होला कि भन्ने मलाई ठूलो पिर लागेको थियो । त्यो बेलामा मैले उहाँलाई सोधेकी पनि थिएँ—उहाँले केहि सोचेर भन्नुभयो, ‘तिमी अस्पतालको निर्माणदेखि व्यवस्थापनसम्म सबैमा संलग्न भएकाले यो अस्पताल सञ्चालन गर्न सक्छौ । आफ्नो बच्चालाई झैँ स्याहार गरेर तिमीले यो हस्पिटल हुर्काउन सक्छौं ।’

अर्को महत्वपूर्ण कुरा उहाँले मलाई भन्नुभएको थियो—‘मैले यहाँ काम गर्ने राम्रो मान्छेहरु रोजेको छु । बिऊ गतिलो छ, तिमीले बिरुवालाई उकेरा मात्र लगाए पुग्छ । तसर्थ, प्रा.डा. उपेन्द्र देवकोटाको देहवसानपछि मैले उहाँको विरासत धान्ने प्रण गरेँ ।

सेवाको निरन्तरता

डा. देवकोटा नभएपछि यसले अस्पताल सञ्चालन गर्न सक्दिन कि भन्ने आँकलन पनि गरियो । तर उहाँको देहावसान भएको पनि आज साँढे ३ वर्ष भइसक्यो । हस्पिटलमा आउने बिरामीको चाप घटेको छैन । बिरामीहरुले विगतको जस्तै गुणस्तरीय सेवा र सुविधा प्राप्त गरिरहेका छन् । अस्पताल उहाँले बसालेकै प्रणालीमा चलेको छ । मेरो हेल्थ म्यानेज्मेन्टको उच्च अध्ययन, अस्पतालको स्थापना कालदेखि व्यवस्थापनमा समलग्नता, पब्लिक हेल्थमा सिकेको अनुसन्धान र एभिडेन्स वेस्ड मेडिसिन अर्थात प्रमाणमा आधारित भई समिक्षा र संशोधन लगायतका कुरा व्यवहारमा उतार्ने प्रयास गरी रहेकी छु ।

This image has an empty alt attribute; its file name is dr-madhu-12.png

‘पेसेन्ट फस्ट’

डाक्टर देवकोटाले मस्तिष्क तथा स्नायुरोगको संवेदनशीलतालाई ध्यानमा राखी पेसेन्ट फस्ट (पहिला बिरामी) भन्ने विशिष्ट सिद्धान्त प्रतिपादित गर्नुभएको थियो । त्यसैअनुरुप आज पनि बिरामीलाई केन्द्र बिन्दुमा राखी अति विशिष्ट चिकित्सक एवं प्राविधिक स्वास्थ्यकर्मीको टोली (मल्टी डिसिप्लिनरी टीम) बाट रोगको निदान एवं उपचारको समुचित व्यवस्थापन गरिएकोे छ ।

फराकिलो दायरा

उपलब्ध सेवाहरुलाई अझै बढि गुणस्तरीय बनाउन यस अस्पतालमा लामो समय डा. देवकोटासँग काम गरेका अनुभवी स्वास्थ्यकर्मीहरु सहित स्नायु तथा स्नायुसम्बद्ध विशेषज्ञहरुको समुह २४ सै घण्टा सेवारत रहेका छन् । थप नयाँ प्रविधि एवं सोहि अनुरुप दक्ष विशेषज्ञहरुको आगमनले यस अस्पतालमा प्रदान गरिने स्नायुसम्बन्धि सेवाको दायरा अझै फराकिलो, विस्तृत एवं गुणस्तरीय बनेको छ ।

फलस्वरुपः एन्युरिज्म जस्तो जटिल समस्यामा पहिला टाउको खोलेर क्लिपिङ्ग गरिन्थ्यो भने अहिले क्वाइलिङ्ग अर्थात टाउको नखोलिकनै गरिने इन्डोभ्यास्कुलर विकल्प हामीले हाम्रा बिरामी एवं उनका परिवारजन माझ राख्न पाएका छौँ । विश्वस्तरीय उच्च प्रविधिप्रति हाम्रो प्रतिवद्धताको ज्वलन्त उदाहरण हो यो ।

प्रतिवद्धताको उपज

मुलुकमा न्यूरो सर्जरी सेवा दुई जना मान्छेहरुको प्रतिवद्धताले शुरु भएको हो । डा. दिनेश नाथ गंगोल र उहाँको चेला डा. उपेन्द्र देवकोटा । यसै प्रतिवद्धताले १९८९ मा डा. देवकोटालाई बेलायतबाट नेपाल फर्कायो । त्यतिखेर उहाँ मुलुककै एक मात्र न्यूरो सर्जन हुनुहुन्थ्यो । वीर अस्पतालमा उहाँ २४ सै घण्टा बिरामीको सेवामा खटिनुहुन्थ्यो । न्यूरोसर्जरीका साथसाथै उहाँले न्यूरो–साइन्सको विकासलाई ग्राह्यता दिनु भयो र सन् १९९८ मा नेप्लिज सोसाइटी अफ न्यूरो साइन्सेस्को स्थापना गर्नुभयो । यसमा न्यूरो सर्जनका साथसाथै न्यूरो एनेस्थेसियोलोजिष्ट, न्यूरो नर्स, न्यूरो प्याथोलोजिष्ट लगायतको संलग्नता थियो । उहाँ त्यतिबेलादेखि नै न्यूरो साइन्सको विकासका लागि चाहिने ‘तालिम, अनुसन्धान र सेवालाई ट्राइपोड अर्थात तीनवटा खुट्टा’ को रुपमा विकास गर्नुपर्छ भन्ने कुरामा दृढ हुनुहुन्थ्यो । छिटै उहाँले मुलकमा पहिलो सर्जिकल सुपर स्पेयिलालिटी तालिम (एमसिएच न्यूरो सर्जरी) सन् २००१ मा शुरु गर्नुभयोे । उहाँबाट प्रेरित एवं तालिम प्राप्त गर्नुभएका २० भन्दा बढी न्यूरो सर्जन देशका विभिन्न भागमा कार्यरत रहनुभएको छ । अहिले सर्जरीभित्र धेरै सुपरस्पेशियालिटीको विकास भइसकेको छ । तर नेपालमा सुपरस्पेशियालिटी तालिमको शुरुवातको श्रेय डा. देवकोटालाई नै जान्छ । आशा गरौं सर्जिकल सेवाको गुणस्तरीयतामा त्यसले ल्याएको सुधारमा देवकोटाको मुल्याङ्कन समयले गर्नेछ ।

आत्मसात्

यस अस्पतालमा प्रा.डा. उपेन्द्र देवकोटाले आफ्नो जीवनको उत्तराद्र्धको अमूल्य ११ वर्ष बिरामीहरुको सेवामा समर्पित गर्नुभयो । नेपालमा न्यूरो सर्जरी जस्तो जटिल सेवाको प्रारम्भ एवं त्यसको निरन्तरताका लागि आफूले भोगेको समस्याहरुको जगमा, आफ्नो परिकल्पना अनुरुप उच्चस्तरको स्नायुसम्बन्धी सेवा प्रदान गर्न मिल्नेगरी यस अस्पताल स्थापित गर्नुभयो । यहाँको भवनको संरचना, उच्च प्रविधिका उपकरणको जडान तिनको सम्भार, उपलब्ध सेवाको गुणस्तरीयताको सुनिश्चितताका साथै अस्पताल व्यवस्थापनको प्रणाली पनि स्थापित गर्नुभयो । उहाँको यसै भावना र सर्मपणलाई आत्मसात गर्दै उहाँले देखाएको बाटोमा नै अगाडि बढिरहेको छ, यो संस्था ।

दूरदर्शी विचारमा कटिवद्ध

डा. देवकोटा टेक्निकल, म्यानेज्मेन्ट, लिडरसिप क्वालिटीमा दूरदर्शी विचारका धनी हुनुहुन्थ्यो । उहाँको कमी कसैले पनि कहिल्यै पूरा गर्न सक्दैन । तर उहाँले देखाएको बाटोले निरन्तरता पाएको छ । डा. देवकोटाको सपना साकार पार्न म लगायत हाम्रो परिवार एवं उहाँबाट तालिम प्राप्त गरेका र उहाँसँग काम गरेका हामी न्यूरो परिवारका स्वास्थ्यकर्मी कटिवद्ध छौं । गुणस्तरीय सेवाका लागि चाहिने सबै पूर्वाधारको व्यवस्थापन गरिएको छ ।

पहिलो वाइप्लेन क्याथ ल्याब

उहाँलाई नेपालमा न्यूरो इन्डोभास्कुलर सेवालाई बढाउने ठूलो इच्छा थियो । त्यहि अनुरुप अस्पताल व्यवस्थापनले मुलुकै पहिलो वाइप्लेन क्याथ ल्याब भित्र्याएको छ । यसले नेपालमा मृत्युको तेस्रो प्रमुख कारकको रुपमा रहेको पक्षघात र ब्रेन ह्याब्रोइजको विशिष्टि उपचारमा महत्वपूर्ण योगदान पुर्याएको छ । पक्षाघातको सम्पूर्ण सेवा (कम्प्रिहेन्सिव केयर) जसमा औषधिको प्रयोगबाट रगतको थेग्लो पगाल्ने, क्याथल्याबबाट थ्रम्बेक्टोमी गरी मस्तिष्कमा जमेको थेग्लो निकाल्नेदेखि मस्तिष्कको चाप कम गर्ने शल्यक्रिया अहिले यस अस्पतालबाट २४ सैं घण्टा उपलब्ध छन् ।

उत्प्रेरणामा खर्च

यो अस्पताल नाफा कमाएर निक्षेप बाँड्नका लागि बनाइएको होइन । यो त देशप्रतिको माया र स्नायु विज्ञानप्रतिको कटिवद्धताबाट सृजित संस्था हो । त्यसैले अस्पतालमा बिरामीहरुबाट लिइएको सेवा शुल्कलाई हामीले गुणस्तरीय सेवाका लागि अपरिहार्य विषयवस्तु जस्तै – अस्पतालको पूर्वाधार एवं प्राविधिक विकास र प्रवर्धन तथा कर्मचारीहरुको उत्प्रेरणामा खर्च गर्दै आएका छौं ।

सपनाको त्यो बाटो

हाम्रो पूँजी भनेको हाम्रा बिरामीहरु हुन् । कर्पोरेट कल्चरभन्दा अलि माथि छौं हामी । यहाँ आएका बिरामीहरुलाई उच्चतम प्रविधिको प्रयोग गरेर विशिष्ट डाक्टरहरुबाट सुरक्षित सेवा उपलब्ध गराएर बिरामी निको पार्ने हाम्रो ध्येय र कर्तव्य हो । मानवीय मूल्य मान्यतामा करुणा, इन्टेग्रेटी, एथिक्सबाट बिमुख हुन हुँदैन । उच्च प्रविधि र मानवीय मूल्य मान्यतालाई म्याच गराउन सक्नु नै डा. देवकोटाको सपनाको बाटो हो । यसैमा हाम्रो प्रयास जारी छ ।

व्यक्तित्व र भोगाइ

मैले भोगेको दुःख र संघर्षले मलाई खारेको हो कि जस्तो लाग्छ । वास्तवमा म आफ्नो व्यक्तित्व र आफ्नो भोगाइसँग मेल खाने साधारण मान्छे हुँ । मेरी आमा गान्धीवादी महिला हुनुहुन्थ्यो । उहाँले धेरै पढ्नुभएको पनि थिएन । तर मन सफा र सेवाभाव राख्ने , फाटेको लुगा भएपनि सिएर सफा बनाएर लगाउन लाज मान्न हुँदैन भन्नुहुन्थ्यो । मैले अवसर पाएँ, पढेँ, एउटा विशेष मान्छेसँग जीवन निर्वाह गरेँ । त्यहि शिक्षा मैले हाम्रा ३ वटा छोरीहरु लाई दिएकी छु । ‘हिजोको तिमी भन्दा आजको तिमी अझैराम्रो मान्छे कसरी बन्ने’ भनेर छोरीहरुलाई भन्ने गर्छु ।

This image has an empty alt attribute; its file name is upendra-devkota-neuro-hospital-768x576.jpeg

प्रकृतिसँग पौंठा

प्रकृतिसँग रमाउन खोज्छु । घरको गार्डेनमा काम गर्न पाउँदा खुशी हुन्छु । कहिलेकाँही त शनिबार बिहान ६ बजेदेखि साँझसम्म पनि गार्डेनमा व्यस्त हुन्छु ।

मेरो विश्वास

म आफ्नो टिमप्रति बढी समवेदनशिल छु । मलाई टिममा हिँडे भने सफलता पाउँछु भन्ने विश्वास छ । डा. देवकोटाको सपनालाई निरन्तरता दिन उहाँले सिकाएका जनशक्तिलाई इज्जत दिएर काम गर्न पाउनु नै मेरो लागि सफलता हो । म टिमलाई विश्वास र माया गर्दछु । मलाईसबैको साथ र सहयोग प्राप्त छ ।

थप उर्जा

यस अस्पतालले राम्रो गरेको देख्दा खुशी महसुस गर्छु । उपेन्द्र देवकोटा नभएपनि यस अस्पतालबाट प्रदान गरिने गुणस्तरीय सेवा प्रति विश्वस्त हाम्रा बिरामीहरु नै मेरो पनि विश्वास र आस्थाको केन्द्र रहनु भएको छ । उहाँहरुबाटनै अस्पताल सञ्चालनका लागि मलाई थप उर्जा प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्