Logo
|
Friday 19th April 2024
Logo

epaper

कैलाशनगरबाट पनि चितवन मेडिकल कलेजको सेवा



जनस्वास्थ्य सरोकार, चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले सेटेलाइट क्लिनिकलाई थप व्यवस्थित गरेर सेवा विस्तार गरेको हो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उक्त क्लिनिकबाट सबै खालको रोगको परीक्षण गरिने छ । गुणस्तर कायम गर्दै सेवा विस्तार गरेको उहाँको भनाइ छ । क्लिनिकबाट हरेक दिन बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म बहिरङग सेवा उपलब्ध हुनेछ ।

उहाँका अनुसार विशेषज्ञ चिकित्सकको निगरानीमा मेडिकल अधिकृत भई काम गरेको अनुभव प्राप्त चिकित्सक क्लिनिकमा उपलब्ध हुनेछन् । छिट्टै विशेषज्ञ सेवा दिने तयारी गरिएको लम्सालले बताउनुभयो ।

क्लिनिकमा आउने बिरामीको एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला परीक्षणको सुविधा समेत त्यहीबाट हुने छ । अस्पतालका प्रयोगशाला विभाग प्रमुख डा सञ्जय यादवका अनुसार यहीँबाट नमूना सङ्कलन गरेर मेडिकल कलेजको भरतपुरस्थित प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

यादवले भन्नुभयो –“नमूना यही सङ्कलन हुन्छ, छिटोभन्दा छिटो भरतपुरमा पठाएर परीक्षण गराउँछौं । अनलाईनमार्फत् परीक्षणको रिपोर्ट यही आउँछ ।” क्लिनिकमा डे केयरसँगै फार्मेसीकोसमेत सुविधा रहेको छ । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले छिट्टै नेपाल सरकार, स्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकासँग समन्वय गरी नियमित खोप लगायतका सरकारी स्वास्थ्य सेवा पनि यहीँबाट सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।

स्थानीयवासीलाई सहज उपचार सेवा दिनका लागि यो क्लिनिक सञ्चालन गरिएको उहाँको भनाइ छ । क्लिनिकमा सबै खालका रोगको परीक्षण हुने उहाँले जानकारी दिनुभयो । चितवन मेडिकल कलेजको भरतपुरस्थित अस्पतालमा दैनिक एक हजार २०० हाराहारी बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्