Logo
|
Friday 1st July 2022
Logo

epaper

के तपाईंलाई स्याँ स्याँ भएको छ ? दममात्र नहुनसक्छ




के तपाईंलाई स्याँ स्याँ हुने समस्या छ ? अस्पतालको आकस्मिक कक्षमा बिरामी स्याँस्याँ भएर धेरै व्यक्ति आइपुगेका हुन्छन् । स्याँस्याँ विभिन्न कारणले भएको हुन सक्छ । मुटु, फोक्सो, रगत र किड्नीमा खराबी भएर दम आएको हुनसक्छ । मुटुमा समस्या भएर पनि स्याँस्याँ आएको हुनसक्छ । त्यसैले रोगको निदान राम्रोसँग गर्न नसकिएमा उपचार नै फरक पर्न सक्छ । बिरामीको अवस्था झन सिकिस्त हुन सक्छ ।

दक्ष एवं अनुभवी डाक्टरले बिरामी इमर्जेन्सीमा आउने बित्तिकै तुरुन्तै रोगको पहिचान गर्न सक्नुपर्छ । आइसियू आवश्यक पर्ने वा नपर्ने, अन्य अंगहरु बिग्रन सक्ने सम्भाव्यता भएनभएकोलगायत अक्सिजनको मात्रा घटबढ हुने सम्भाव्यता पहिचान गर्नुपर्छ । रोगको निदान हुने बित्तिकै औषधिउपचार थालेमा बिरामी स्वास्थ्यवस्था इमर्जेन्सी कक्षमै सुधार हुनसक्छ ।


कतिपय दमका बिरामीहरु शरीरमा अक्सिजनको मात्रा घटेर र कार्वनडाइअक्साइडको मात्रा बढेर गाह्रो भएर अस्पताल आएका हुन्छन् । उनीहरुलाई तुरुन्तै बाफ लगाउने, मेसिनबाट सास फेराउने, निश्चित औषधि एवं सुइ दिने, भरपर्दो परामर्श दिएमा बिरामीहरु इमर्जेन्सीमा बस्दाबस्दै ठिक भएका धेरै उदाहरण छन् । यस्ता बिरामीलाई दुइचार दिन सामान्य वार्डमा राखेर डिस्चार्ज गर्न सकिन्छ । इमर्जेन्सी कक्षमा बिरामीको रोग पहिचान नभई गलत उपचार थालिएमा झनै सिकिस्त हुनसक्छ ।
यस्ता बिरामीको उपचारमा डिसिजन मेकिङ एकदमै छिटो लिनुपर्ने हुन्छ । उपचारका क्रममा पनि हरेक दिन बिरामीको अवस्था हेरेर उपचार विधि परिवर्नन गरिराख्नुपर्ने हुनसक्छ । जस्तोः अहिले सजिलो भइरहेको बिरामीलाई एक घण्टापछि गाह्रो हुनसक्छ । यस्तो अवस्थामा तुरुन्तै कारण पत्ता लगाएर उपचार विधि परिवर्तन गर्नुपर्छ । समयमै कारण थाहा पाउन नसकेमा बिरामीको अवस्था झनै बिग्रन सक्छ । क्रिटिकल केयरमा डायग्नोसिस पनि महत्वपूर्ण पाटो हो । यसरी बेलाबेला बिरामीको अवस्था परिवर्तन हुन सक्ने भएकाले डाक्टरले तुरुन्तै निर्णय लिनुपर्छ । यदि हामीले सही निर्णय लिन नसकेमा बिरामीको अवस्था मृत्युउन्मुख हुनसक्छ । त्यसकारण सहि निर्णय लिन अनुभवी चिकित्सक अवश्यक पर्दछ ।

सिओपिडी दम रोगबाट विश्वमा वर्षेनी करिब ३० देखि ४० लाख भन्दा बढीको मृत्यु हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क छ । तिमध्ये ९० प्रतिशत हाम्रो जस्तो विकासोन्मुख मुलुकमा मर्न गरेका छन् । त्यसको मुख्यकारण समयमै उपचार नपाएर हो ।

दम रोग धेरैजसो धुम्रपान गर्नेलाई हुने गरेको पाइएको छ । हाम्रो देशमा इनडोर एयर पोलुसन (घरभित्र हुने पोलुसन) बाट दमका बिरामी बढिरहेका छन् । गाउँघरमा अझै पनि दाउरा, गुइँठा बालिन्छ । घरभित्रै धुम्रपान गर्ने कारण परिवार र स–साना बालबालिकालाई प्रत्यक्ष असर परिरहेको हुन्छ । त्यसबाहेक पुजाआजा गर्दा प्रयोग हुने धूप, अगरबत्ति, लामखुट्टेको कोइल, इँटा भट्टा एवंं कलकारखानामा काम गर्दा धुवाँ धूलोको सम्पर्कमा आउने व्यक्तिलाई बढी दम हुने गरेको पाइन्छ ।

आईसियूदेखि मृत्युसम्म
धँुवाको असरले श्वास नलीहरु खुम्चिन थाल्छन् । यसले श्वास फेर्न गाह्रो, खोकी, थकान, खकार आइरहने जस्ता समस्या देखिन्छन् । कालान्तरमा रोग बढ्दै गएपछि शरीरमा अक्सिजनको मात्रा घट्न थाल्दछ । बिरामीले घरमै अक्सिजन लगाएर बस्नुपर्ने अवस्थासमेत आउनसक्छ । कतिपय दमका रोगीलाई मौसन परिवर्तन, निमोनिया र वायुप्रदुषण बढ्दा दमको अट्याक आउनसक्छ । यस्ता बिरामीलाई एक्कासी सास फेर्न गाह्रो हुने, अक्सिजनको तह घट्ने जस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा बिरामीलाई तुरुन्त अस्पताल पुर्याउनुपर्छ । कतिपय दम रोगीमा शरीरमा अक्सिजनको मात्रा घटेको धेरैपछि सम्म पनि थाहा नहुने भएकाले उनीहरु सिकिस्त अवस्थामा अस्पताल आइपुग्छन् । यस्तो अवस्थामा कृत्रिम श्वासप्रश्वासको सहारा लिनुपर्छ । शरीरमा अक्सिजन कम भएको बेला बिरामीलाई आइसियूमा राख्नुपर्छ । भेन्टिलेटरमा पुगेका करिव ३० देखि ५० प्रतिशत बिरामीहरुको मृत्यु हुनसक्छ ।


घट्दो उमेर बढ्दो दम
सिओपिडी उमेर बढ्दै जाँदा हुने दम हो । यो ४५ वर्षमाथिका उमेरसमुहलाई बढी हुने गर्दछ । दम रोग भएका बिरामीलाई कम्लिकेसन हुने सम्भावना बढी हुन्छ । दम रोगीलाई मुटु रोग, मस्तिष्कघात, प्यारालाइसिस, मिर्गौला रोगको जोखिम उच्च हुन्छ । यस्ता बिरामीहरुलाई बारम्बार निमोनिया भइरहने, खकार ननिस्क्ने जस्ता समस्या भइरहन्छ । दमका रोगीहरु आफ्नो जीवनलाई बेकार ठान्छन् । अरुको सहारामा बाँच्नुपर्ने भएकाले आफू बोझ भएको महशुुस गर्छन् । जसले उनीहरुमा नकारात्मक भाव पैदा हुन्छ । दम रोगीमध्ये झण्डै ३० देखि ४० प्रतिशत डिप्रेसनमा गएको पाइन्छ । यसले झनै कम्लिकेसन बढाउन सक्छ ।

बिरामीको उमेर, अन्य दीर्घ रोग जस्तै, सुगर, प्रेसर, मिर्गौला रोग भएनभएको, पहिले निमोनिया भएर फोक्सो बिग्रेको छ/छैन इत्यादि कारक तत्वहरुले परिणाम राम्रो आउने वा नआउने निर्धारण गर्दछ ।

आइसियूमा भर्ना हुने अधिकांश दमका मात्रै हुन्छन् ?
करिब दुइ तिहाइ बिरामी श्वासप्रश्वास सम्बन्धि समस्याका कारण मेडिकल आईसियूमा भर्ना भएका हुन्छन् । यसरी आईसियूमा भर्ना हुनेमध्ये धेरैजसो निमोनिया र दम बिग्रिएका बिरामीहरु हुन्छन् । यस्ता व्यक्तिहरुलाई कोभिड भएमा आइसियूमा भर्ना गरेर उपचार गर्नुपर्छ । कतिपय बिरामीहरु अरु रोगका कारण पनि आइसियूमा भर्ना गर्नुपर्ने हुनसक्छ । तर यस्ता बिरामीहरुको उपचार चल्दाचल्दै निमोनिया भइदिने वा श्वासप्रश्वाससम्बन्धि समस्या देखिएर सँगैसँगै उपचार गर्नुपर्ने पनि हुनसक्छ ।

भरपर्दो उपचार कसरी रोज्ने ?
आइसियूको क्वालिटी केयरमा दक्ष चिकित्सक, नर्स, अन्य कर्मचारी एवं स्रोत साधनको ठूलो भूमिका रहन्छ । डाक्टर, नर्स र बिरामीको अनुपात जहाँ राम्रो छ त्यहाँको स्वास्थ्यको गुणस्तर धेरै राम्रो हुन्छ । डब्लुएचओको मापदण्डमा आइसियूमा एक जना बिरामीका लागि एक नर्स चाहिन्छ भनिएको छ । तर कतिपय अस्पतालमा आइसियू कक्षमा एकदुइ जना नर्सले पुरै आइसियू हेरिरहेका हुन्छन् । भेन्टिलेटर चलाउन पनि दक्ष जनशक्ति चाहिन्छ ।


बिरामीको समयमै रोगको निदान हुन सकेमा मात्र राम्रो उपचार राम्रो हुन्छ । दक्ष जनशक्तिले आकस्मिक कक्षमा आएका बिरामीको एसेस्मेन्ट (चेकजाँच) गर्ने बित्तिकै अवस्था थाहा पाउछन् । जसले गर्दा बिरामीले तुरुन्तै सहि उपचार पाउन सक्छन् ।

कति दिनसम्म आइसियूमा ?
दमको अट्याक आएका बिरामीलाई दुइ तीन दिन बाइप्याप मेसिनमा राखेर अवस्था सामान्य भएपछि वार्डमा सार्न सकिन्छ । कोभिड संक्रमण भएर आइसियू भर्ना भएका बिरामीलाई शुरु गर्नेबित्तिकै औषधिले काम गरेमा दुइतीन दिनमा अक्सिजन छुटाएर वार्डमा सार्न सकिन्छ । कसैको आइसियूमा राख्दा पनि निमोनिया बढ्ने, अक्सिजन लेवल घट्ने र बिरामीको अवस्थामा सुधार नआउने हुनसक्छ । त्यस्ता बिरामीलाई दुइ हप्ता सम्म आइसियूमा राख्नुपर्ने हुनसक्छ ।


ख्याल राख्नुपर्ने कुरा

क्रिटिकल केयरमा सेवाको गुणस्तर (क्वालिटी अफ केयर) हेर्नुपर्छ । सेवाको गुणस्तर राम्रो भए परिणाम राम्रो आउँछ र बिरामीलाई मृत्युको मुखबाट बचाउन सकिन्छ । डब्लुएचओको मापदण्ड अनुसार आइसियूमा एक बिरामीलाई एक नर्स आवश्यक पर्दछ ।

तर सरकारी अस्पतालका आइसियू कक्षमा एकजना नर्सले चार पाँच जना सम्म बिरामी हेर्नुपरिरहेको अवस्था छ । नर्स र बिरामीको अनुपात मिलेमा परिणाम राम्रो आउँछ । क्रिटिकल केयर सम्बन्धि अनुभव भएका दक्ष डाक्टर र नर्सले उपचार सेवा दिँदा अस्पतालको बसाइ पनि छोटो हुन्छ । कोभिडका बिरामीहरुलाई पाँचदेखि सात दिनमा डिस्चार्ज गर्दछौं । कतिपय अस्पतालहरुमा कोभिडका बिरामीहरु दुइहप्ता सम्म अस्पतालमा बस्नुपर्छ । यहाँ कोभिडको बिरामीको आइसियूमा हुने मृत्युदर पश्चिमी देशका इन्टेनसिभ केयर युनिटको मृत्युदरसँग दाज्न मिल्ने छ । अस्पतालको बसाइ जति छोटो भयो बिरामीलाई त्यति सस्तो पर्न जान्छ । (डा पंगेनी ह्याम्स अस्पतालमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्