Logo
|
Saturday 23rd November 2024
Logo

epaper

‘इमर्जेन्सी नर्सेस तालिम’ र ‘इमर्जेन्सी नर्सिङ एजुकेसन’ मा सक्रिय धर्मलक्ष्मी श्रेष्ठ

निजी अस्पतालहरुमा ‘इमर्जेन्सी नर्सेस तालिम’ को बढ्दो माग



धर्मलक्ष्मी श्रेष्ठ ‘सोसाइटी अफ इमर्जेन्सी नर्सेस अफ नेपाल’ की अध्यक्ष हुनुहुन्छ । उहाँ त्रिभुवन विश्वविद्यालय (त्रिबि) शिक्षण अस्पतालमा विशिष्ट नर्सिङ प्रशासक हुनुहुन्छ । उहाँ अस्पतालमा ३९ वर्षदेखि कार्यरत हुनुहुन्छ । धर्मलक्ष्मीले बि.सं.२०४० सालदेखि नर्सिङ सेवा शुरु गर्नुभएको थियो । त्रिबि शिक्षण अस्पतालको सुरुवातीदेखि काम गर्दै आउनुभएकी श्रेष्ठले अस्पतालको नर्सिङ डाइरेक्टर भएरसमेत काम गरिसक्नुभएको छ । ६२ वर्षकी श्रेष्ठ इमर्जेन्सी र नर्सिङ एजुकेसन तालिम प्रदान गर्नमा सक्रिय हुनुहुन्छ । श्रेष्ठले बि.सं २०३७ सालमा तत्कालीन सातदोवाटोस्थित सान्तावन नर्सिङ क्याम्पस (मिसन) बाट पिसिएल नर्सिङ गर्नुभएको थियो । उहाँले पाल्पास्थित तानसेन मिसन हस्पिटलमा एक वर्ष काम गर्नुभएको थियो । जनस्वास्थ्य सरोकारका लागि पुरुषोत्तम घिमिरेले इमर्जेन्सी नर्सेस तालिमबारे धर्मलक्ष्मीसँग गरेको कुराकानीको केही अंश ।

नर्सिङ पेशाको धर्म के हो ?

नर्सिङ पेशामा छिरेपछि सिकिस्त अवस्थाका बिरामीसँग एडजस्ट गर्न सक्ने आत्मवल लिनुपर्छ । मरेको मान्छेलाई पूर्णरुपमा केयर गरेर पठाउनुपर्छ । त्यसैले नर्सले सोसल्ली, स्प्रेच्युअल्ली, मेन्टल्ली र साइकोलोजिकल्लीमा ट्याक्टफूल भएर काम गर्नुपर्छ । धनि गरिब जो भएपनि उपचारमा आएका बिरामीलाई भेदभाव गर्न हुँदैन ।

मानवताको नाताले उपचार गर्न आएका व्यक्तिलाई भरपर्दो केयर गर्नुपर्छ भन्ने कुरा मनमा लिएर काम गर्नुपर्छ । बिरामीको पीडा आफ्नै परिवारका सदस्यको पीडाजस्तै बोध गरेर केयर दिनुपर्छ । सिकिस्त बिरामी आएपछि म बूढी भएँ भनेर चुप लागेर बस्ने कुरा आउँदैन ।

हामी चौबीसै घण्टा अलर्ट भएर बस्नुपर्छ । ८ घण्टाको ड्युटीपछि पनि विभागमा सिकिस्त बिरामीको चाप बढेर ड्युटीमा रहेका नर्सलाई बिरामी व्यवस्थापन गर्न गाह्रो भएमा हामी आराम गरेर घर बस्न सक्दैनौं । अस्पताल आएर समस्या समाधानको व्यवस्था मिलाउनुपर्छ । कोभिड महामारीको समयमा आफैं कोभिड संक्रमित भएर पनि हप्ता दिनपछि ड्युटीमा आएँ । त्यो बेला विभागका ४५ जना नर्समध्ये करिब ३३ जनालाई कोभिड पोजेटिभ देखिएको थियो । यस्तो अवस्थामा घरमा आराम गरिरहेको बेला पनि वार्डको अवस्थाबारे इन्क्वाइरी गरेको थिएँ ।

इमर्जेन्सी मेडिसिन तालिम कसरी बिस्तार गर्दै हुनुहुन्छ ?

हामीले नर्सलाई मात्र नभई डाक्टरहरुलाई पनि इमर्जेन्सी मेडिसिनको तालिम प्रदान गरेका छौं । शिक्षण अस्पतालमा नर्सिङ फिल्डबाट इन्सर्भिस ट्रेनिङ गरिरहेका छौं । बाहिरका हस्पिटलहरुमा प्राथमिकताका आधारमा छनौट गरेर तालिम प्रदान गरिरहेका छौं ।

हामीले २ व्याचलाई ३ महिनाको इमर्जेन्सी नर्सेस तालिम दिइसकेका छौं । पहिलो व्याचमा हस्पिटलभित्र तालिम दियौं । दोस्रो व्याचदेखि निजी अस्पतालहरुकासमेत गरेर २६ जनालाई तालिम दिइसकेका छौं । यसका लागि हामीले आफैंले पाठ्यक्रम विकसित गरेका छौं । निजी अस्पतालहरुमा इमर्जेन्सी नर्सेस तालिमको माग बढ्दै गएको छ ।

इमर्जेन्सी नर्सेस तालिमको माग कहाँ कहाँबाट आएको छ ?

काम पाउने आशा बोकेर नर्सहरुले इमर्जेन्सी तालिम लिने गरेका छन् । ह्याम्स हस्पिटलले माग गरेकाले पहिलोपटक निजी अस्पतालमा चैतको ६ गतेदेखि तीन महिनाको इमर्जेन्सी नर्सेस तालिम शुरु गर्दैछौं । यसमा ३० जना नर्सले भाग लिँदै छन् । आनन्दवन हस्पिटलमा पनि माग आइरहेको छ । चितवन मेडिकल कलेज र बिराट मेडिकल कलेजबाट पनि माग आएको छ ।

इमर्जेन्सी नर्सेस तालिम लिन कति शुल्क तिर्नुपर्छ ?

अहिले हामीले तीन महिनाको तालिममा ४० हजार रुपियाँ लिने गरेका छौं । त्यसमा लजिङ, फूडिङ र स्टेशनरीका सम्पूर्ण सामान उपलब्ध गराइन्छ ।

तालिममा के कस्ता ज्ञान उपलब्ध गराइन्छ ?

तीन महिनाको इमर्जेन्सी नर्सेस तालिममा सैद्धान्तिक र व्यवहारिक रुपमा सिपिआर दिने तरिका, इमर्जेन्सी विभागमा आइपुगेका बिरामीको प्राथमिकता छुट्याउने, इमर्जेन्सी डिजास्टर आएमा व्यवस्थापन कसरी गर्ने ? जस्ता ज्ञान सिकाइन्छ ।

घटनामा तत्काल एक्सपोज गराउँदा बिरामीको उपचारमा धेरै सकारात्मक प्रभाव पर्ने देखिएकाले दुई हप्ता फिल्डमा एक्पोज गराउँछौं ।

इमर्जेन्सी नर्सेस तालिम कहिलेदेखि शुरु भएको हो ?

इमर्जेन्सी नर्सेस तालिम सन् २०१९ देखि त्रि.बि.शिक्षण अस्पतालबाट शुरु भएको हो । शुरुमा १२ जना सिनियर नर्सलाई ट्रेनरको रुपमा छनौट गरेका थियौं । त्यसपछि त्रिबि शिक्षण अस्पताल आसपासका निजी अस्पतालहरुले पनि थाहा पाउँदै गए । त्यहाँ काम गर्ने नर्सहरुबाट पनि तालिमको माग बढ्न थाल्यो ।

इमर्जेन्सी नर्सेस तालिमको महत्व कसरी महसुस गर्नुभयो ?

घटनास्थलमा नै आधारभूत केयर दिन सकेमा कतिपय बिरामी अस्पतालमा आउन नपर्ने र आउनेहरुको पनि उपचार गर्दा प्रतिफल राम्रो देखिने गरेको पाइएको छ ।

यहाँले अनुभव गरेको कुनै अविश्मरणीय घटना छ ?

म एउटा घटना सुनाउँछु । यो घटना नुवाकोटको हो । त्रिशुली अस्पतालमा एकजना आमा सुत्केरी भइन् । उनलाई अत्यधिक ब्लिडिङ भयो । त्रिशुली अस्पतालमा यो समस्या व्यवस्थापन हुन नसकेपछि उनलाई महाराजगञ्ज शिक्षण अस्पतालमा रिफर गरियो । उनलाई सानो भन्दा सानो क्यानुला लगाइएको थियो । यहाँसम्म आईग्दा त्यो क्यानुला ब्लक भएकाले सुत्केरीको अवस्था सिकिस्त थियो । निकै कठिनाइका साथ उपचार गरियो ।

यो घटनाबाट तपाईंलाई महसुस भएको कुरा बताइदिनुस् न ?

स्लाइन पानी चढाउँदा ठूलो क्यानुला लगाइएमा त्यसबाट रगत पनि ट्रान्सफ्युजन गर्न सकिन्छ र दुई साइटबाट स्लाइन दिन सकिन्छ ।

यदि त्यो सुत्केरीलाई ठूलो क्यानुला लगाएको थियो भने उनी सिकिस्त हुने थिइनन् । यसरी नेपालमा पोष्टनेटल मोर्टालिटी दर बढेको पनि सुत्केरी हुँदा अत्यधिक ब्लिडिङ हुने कारणले हो । यो बेलामा समस्या व्यवस्थापन गर्न सकेमा आमा र बच्चा दुवै जीवित रहन मद्धत पुग्छ ।

त्यसैले गाउँतहदेखि नै नर्सहरुलाई आधारभूत र तत्काल बिरामी व्यवस्थापन गर्न सक्ने सिपको जरुरत पर्छ ।

तालिमलाई बिक्रेन्द्रीकरण गर्ने कुरामा कतिको सचेत हुनुहुन्छ ?

काठमाडौं बाहिरबाट आउने सहभागीहरुलाई तीन महिना एक्सपोज हुन गाह्रो हुने रहेछ । त्यसैले इमजेन्सी नर्सेस तालिम काठमाडौंमा मात्र सिमित नगरी गाउँस्तरमा केन्द्रित गर्ने अवधारणा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्