Logo
|
Wednesday 24th April 2024
Logo

epaper

चितवन मेडिकल कलेज बन्यो क्युएए प्रमाणपत्र प्राप्त गर्ने नेपालकै पहिलो मेडिकल कलेज



जनस्वास्थ्य सरोकार, चितवन । शैक्षिक क्षेत्रमा विशिष्ट तथा नेतृत्वदायी संस्थाको रुपमा विकास गरेको भन्दै चितवन मेडिकल कलेजलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र प्रदान गरेको छ ।
यससँगै चितवन मेडिकल कलेज क्युएए प्रमाणपत्र प्राप्त गर्ने नेपालकै पहिलो मेडिकल कलेज बनेको छ ।
आयोगको कार्यलयमा आयोजित एक कार्यक्रमबिच आयोगका अध्यक्ष प्रा. भीमप्रसाद सुवेदीले कलेजका अध्यक्ष प्रा. डा. हरिश्चन्द्र न्यौपाने, प्रिन्सिपल प्रा.डा. ममता तिवारी सहितको टोलीलाई सो प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

कलेजकी प्रिन्सिपल प्रा.डा. ममता तिवारीले आयोगद्धारा प्राप्त क्युएए प्रमाणपत्रले गौरव महशुस गराएको बताउनुभयो । उहाँले प्रमाणपत्र प्राप्त गरेसँग थप चुनौती र जिम्मेवारी थपिएको भन्दै संस्थाले प्रदान गर्ने शिक्षामा गुणस्तरीयता कायम राख्ने कुरामा पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. न्यौपानेले क्युएए प्रमाणपत्र प्राप्त गर्ने नेपालकै पहिलो मेडिकल कलेज बनेको बताउनुभयो । उहाँले यस प्रक्रियामा सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावक, कलेज व्यवस्थापक, शिक्षक, त्रिभुवन विश्वविद्यालयलगायत सम्पूर्ण सरोकारवालालाई आभार व्यक्त गर्नुभयो ।

गुणस्तरीयताको प्रमाणपत्र प्राप्त गरेसँगै यसको पहिलो फाईदा विद्यार्थीले प्राप्त गर्नेछन् । विद्यार्थीले प्राप्त गर्ने प्रमाणपत्रले स्वदेश तथा विदेशमा मान्यता पाउने छन् । प्राध्यापक तथा कर्मचारीले समेत गर्व गर्नसक्ने वातावरण सिर्जना भएको डा तिवारीको भनाई छ ।


प्रमाणपत्र प्राप्त गर्नका लागि आयोगले गुणस्तरका लागि तोकिएका नीति, नियम, भौतिक संरचना, शिक्षण सिकाइ क्रियाकलाप, विद्यार्थी मूल्यांकन प्रक्रिया, समुदायसँगको सम्बन्ध, सामाजिक संघ संस्थासँग क्याम्पसको सम्बन्ध, अनुसन्धान, पाठ्यक्रम मूल्यांकन लगायतका १२० वटा मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्