Logo
|
Friday 29th March 2024
Logo

epaper

मिर्गौला तस्करी : काभ्रेमा गोप्य चहलपहल !



जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । यही फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपैयाँ दिने आश्वासन पनि दिए ।

युवाले ‘सोचौँला’ भन्दै उनीबाट छुट्टिएको सुनाए । मोटरसाइकलमा आउने गरेका केही पुरुषले मिर्गौलाकै विषयमा पटक–पटक कुरा गर्ने गरेको पाँचखाल नगरपालिका–७ जोर पिपलस्थित लामीडाँडा–पलाञ्चोक सडकखण्ड छेउ निवासी एक महिलाले बताइन् ।

‘अहिले यस्तो कुरा नगर्नुस्, मिर्गौलाको कुरा गर्नेबारे यहाँका नेतालाई भनेर सबै मिलेर लखेट्ने गरेको छौँ भनेपछि भाग्छन्’, ती महिलाले भनिन् । उनका अनुसार स्थानीय जनप्रतिनिधिद्वारा त्यस्ता शङ्कास्पद व्यक्ति बस्तीमा आए तत्कालै खबर गर्न भनिएको छ ।

पाँचखालको होक्से तथा मण्डनदेउपुरको ज्याम्दी आसपासका बस्तीमा गोप्य रूपमा अझै पनि मिर्गौला बेचबिखनका विषयमा कुराकानी गर्न जाने गरेको स्थानीयवासी बताउँछन् ।


‘मिर्गौलाको विषयमा कुरा गर्न कोही आए हामीले तुरुन्तै खबर गर्न स्थानीयवासीलाई भनेका छौँ’, पाँचखाल–८ का वडाध्यक्ष पुष्कार ढकालले भने । उनले फोन आए नम्बर र व्यक्ति स्वयं आएर गाडी नम्बरसमेत उपलब्ध गराउन अनुरोध गरिएको बताए ।

मिर्गौला आवश्यक पर्ने परिवार तथा तस्करी गर्नेले काभ्रे नै सम्झने गरेको घटना विवरणले देखाएको पाइन्छ । जिल्लाको होक्से र ज्याम्दी दुई दशकदेखि ‘बैंक अफ किड्नी’को नामले देश–विदशेमा बदनामी कमाएको क्षेत्र पर्दछन् । पछिल्लो वर्ष मिर्गौला बेच्नेहरू नै यसबारे चेतनामूलक अभियानमा लागेपछि तस्करीमा केही आएको देखिन्थ्यो । तर, यही वर्ष मिर्गौला तस्करीका दुई घटना सार्वजनिक भएका छन् ।

गत साउन अन्तिम साता बनेपा प्रहरीले बनेपा नपा–५ का २८ वर्षीय एक युवाको मिर्गौला बिक्री गरेको आरोपमा काभ्रेपलाञ्चोककै तीन जनालाई पक्राउ गर्यो । उनीहरुले दाजुको मिर्गौला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गौला भारतमा लगेर बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनायो । घटनाक्रमले भने जिल्लामा मिर्गौला तस्कर पुनः सक्रिय भएको देखाएको छ ।

उक्त घटनामा भुम्लु गाउँपालिकाका ३५ वर्षीय कुमार परियार, उनका भाइ ३३ वर्षीय देवराज र पाँचखालका ३१ वर्षीय कुमार परियारलाई मिर्गौला तस्करीमा संलग्न रहेको जनाउँदै पक्रेको हो ।

आरोपितले ती युवाको एउटा मिर्गौला भारतको कोलकातास्थित एमआरआई अस्पतालमा शल्यक्रिया गरी बिक्री गरेको अनुसन्धानबाट खुलेको थियो । दाजुको मिर्गौला बिक्री गर्ने तस्कर खोज्दाखोज्दै तस्करले निशानामा पारेका उनै युवाको जाहेरीपछि प्रहरीले तस्करीको खोजबिन थालेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्