Logo
|
Friday 19th April 2024
Logo

epaper

आज फागूपूर्णिमाः रङ र लोला खेल्दा आँखा र कान बचाएर रमाइलो गर्न विज्ञहरुको सुझाव

राजधानीमा सुरक्षा व्यवस्थामा कडाइ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज फागूपूर्णिमा । यसलाई रंगको पर्वका रुपमा पनि लिइन्छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागुपूर्णिमा मनाइन्छ । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज (बिहीबार) र तराई मधेसमा भोलि (शुक्रबार) होलीको रुपमा मनाइँदै छ ।

आजको फागुपूर्णिका दिन भक्तपुरस्थित निकोसेरामा आफ्नै घरमा रमाउँदै भान्जि प्रतिमा दाहाल, छोरा सुयोग घिमिरे, छोरी संयुक्ता घिमिरे र भान्जि शर्मिला दाहाल ।

फागुपूर्णिमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धासम्मले उत्सवका रुपमा एकापसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मीठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

फागुपूर्णिमा एक आपसमा रङ दलिने हुनाले यसबाट सजग र सचेत हुन पनि जरुरी हुन्छ ।

रंग आँखामा पार्न हुँदैन । यसमा खतरानाक रसायन हुने भएकाले दृष्टि गुम्न सक्छ, छालामा एलर्जी हुनसक्छ । लोला प्रहारले आँखा र कानमामा लागेर समस्या ल्याउनसक्छ ।


लापरबाही किसिमले अबिर प्रयोग गर्नाले छाला चिलाउने वा पोल्ने, एक्जिमा देखिने हुन सक्छ । डन्डीफोर भएकाहरूलाई रासायनिक रंगले झन् समस्यामा पार्नसक्ने वरिष्ठ छाला एवं सौन्दर्य विशेषज्ञ प्रा.डा. धर्मेन्द्र कर्णको भनाइ रहेको छ ।

होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाउने, शरीरमा तेल वा मोइस्चराइजर र फाउन्डेसन लगाउनाले सम्भावित खतराबाट केही हदसम्म बच्न सकिने चिकित्सकहरुले सुझाएका छन् । कुनै समस्या भएमा तत्काल चिकित्सकको सुझाव र सल्लाह लिनुपर्ने उनीहरुको भनाइ छ ।

रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा एक हजार ३०० ट्राफिक प्रहरी खटाई व्यवस्थापन कडा गरेको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको जनाएको छ ।

बिहीबार बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने जनाइएको छ ।

उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादकपदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको छ । बिहानैदेखि मापसे कडाइका साथ परीक्षण गर्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्