निजामति कर्मचारी अस्पतालमा क्रिटिकल केयर नर्सिङको स्नातक अध्ययन
अस्पतालद्धारा २ करोड रुपियाँ बिनियोजन
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामति कमर्चारी अस्पतालमा क्रिटिकल केयर नर्सिङको स्नातक अध्ययन हुने भएको छ । क्रिटिकल केयरमा व्याच्लर इन नर्सिङ साइन्स (बीएनएस) अध्यापन गराउन अस्पतालले २ करोड रुपियाँ बिनियोजन गरेको छ ।
शैक्षिक सत्र २०७८/०७९ का लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले हस्पिटमा क्रिटिकल केयर अध्यापनका लागि ३० सिट दिने निर्णय गरे छ । सो निर्णयसँगै अस्पतालले क्रिटिकल केयरमा बीएनएस अध्यापनका लागि आवश्यक पर्ने सम्पूर्ण जनशक्ति र पूर्वाधार तयार पारिसकेको छ ।
निजामति कमर्चारी अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विधाननिधी पौडेल भन्नुहुन्छ—‘चिकित्सा शिक्षा आयोगको इन्स्पेक्सन भएपछि आगामी शैक्षिक सत्रदेखि क्रिटिकल केयरमा बीएनएस नर्सिङ पढाउने अवसर पाउँछौं र यसका लागि हामीले बजेटको सुनिश्चितता गरिसकेका छौं ।’ अहिले अस्पतालले शिक्षक, लाइब्रेरी, कक्षाकोठा, शिक्षक तलब, नेट इन्टरनेट, परीक्षा खर्चलगायतका लागि २ करोड रुपियाँ छुट्याइएको छ । एमडी एमएस चलाउँदा वर्षमा करिब ५ करोड रुपियाँ खर्च हुने अस्पतालको अनुमान छ । अस्पताल विकास समिति वोर्डले पनि यहाँ पोष्ट ग्राजुएसनको एमडी, एमएस, डिएमलगायत विभिन्न एकेडेमिक कार्यक्रम चलाउने निर्णय गरिसकेको छ ।
एकेडेमिक कार्यक्रम सञ्चालन गर्दा आर्थिक भार थपियो नि भन्ने प्रश्नमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको यो अस्पतालका लागि यो बजेट ठूलो भार नभएको बताउनुहुन्छ । उहाँले अस्पतालमा एकेडेमिक कार्यक्रम सञ्चालन भएपछि यहाँका बिरामीले पाउने सेवा सुविधाको स्तर बढ्ने, बिरामीको कन्सल्टेसन र केयर राम्रोसँग हुने जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक पौडेलको चार ४ वर्षे कार्ययोजनामा अस्पतालमा पोष्ट ग्राजुएटलगायतका एकेडेमी सेन्टर बनाउने उद्देश्य छ । सोही अनुसार एउटा एकेडेमिक कार्यक्रममा खुट्टा टेक्न सफल भएको उहाँले बताउनुभयो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एफिलेटेड भएकाले आगामी दिनहरुमा एमडी एमएसका कार्यक्रमहरुलाई विस्तार गर्दै जाने योजना रहेको प्रा.डा. पौडेलले सुनाउनुभयो । प्रतिष्ठानको पाठ्यक्रमअनुसार एकेडेमीक कार्यक्रम सञ्चालन गर्न अस्पताल र प्रतिष्ठानबीच सम्झौता भइसकेको छ ।
नेपालका लागि क्रिटिकल केयर नर्सिङ सेवा अति आवश्यक छ । क्रिटिकल केयरमा दक्ष जनशक्तिको उत्पादनले अस्पतालमा पनि सघाउने र विद्यार्थीहरुले एकेडेमिक अध्ययन लिएर जाने भएकाले सबैलाई लाभ हुने ठानिएको छ ।
क्रिटिकल केयरको बिएनएस ३ वर्षे कोर्ष हो । पिसिएल नर्सिङ पास गरेर काम गरेको अनुभवको आधारमा चिकित्सा शिक्षा आयोगले परीक्षा लिने र परीक्षामा पास भइसकेपछि न्याम्सले स्वीकृति दिएको ठाउँमा पठाइने छ । अध्ययनका लागि विद्यार्थीले आयोगमा ५ लाख रुपियाँ बु्झाउनुपर्छ ।
शैक्षिक सत्र २०७८/०७९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट सञ्चालित ब्याच्लर इन नर्सिङ साइन्सेस विषयको स्नातक तहमा १०० सिट विद्यार्थी भर्नाका लागि प्रस्ताव गरिएकोमा हाल १ सय ५० विद्यार्थी अध्ययन गराउन सकिने भएकाले सोही अनुसार सिट निर्धारण गरिदिन चिकित्सा शिक्षा आयोगलाई गत फागुन २९ गते पत्राचार गरेको थियो ।
जस अनुसार क्रिटिकल केयरमा व्याच्लर इन नर्सिङ साइन्सेस (बीएनएस) अध्यापनका लागि निजामति कर्मचारी अस्पताललाई ३०, भरतपुर अस्पताललाई ४० र बीर अस्पताललाई ४० जना भर्ना गर्ने कोटा छुट्याएको छ । यसैगरी व्याच्लर इन पेडियाट्रिक क्रिटिकल केयर नर्सिङका लागि कान्ति बाल अस्पतालले ४० जना नर्स अध्यापन गराउने स्वीकृति पाएको छ । यसैगरी ४० जनाको व्याच्लर इन मिडवाइफ्री साइन्सेस (बीएमएस) अध्यापन गराउने क्षमता राखेको प्रतिष्ठानले बीर अस्पतालाई २० र परोपकार प्रशुति तथा स्त्री रोग अस्पताललाई २० जना अध्यापन गराउने कोटा छुट्याएको छ ।