Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशमा चालीस हजार क्षयरोगी पहिचान र उपचारको पहुँच बाहिर



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा अझै ४० हजार क्षयरोगी पहिचान र उपचारको पहुँच बाहिर रहेका छन् । राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि यो एक गम्भिर चुनौतिको विषय भएको विज्ञहरुले बताएका छन् ।


विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रद्धारा आयोजित कार्यक्रममा क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामीको अनुपात हेर्दा अझै प्रति वर्ष झन्डै ४० हजार भन्दा बढी व्यक्तिको रोग पत्ता लगाई उपचारको दायरामा ल्याउन आवश्यक रहेको औंल्याइएको छ ।


राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि यो एक चुनौती रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्दका निर्देशक डा.सञ्जय कुमार ठाकुर बताउनुहुन्छ ।


नेपालमा वार्षिक ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरेका छन् । तर, गत आर्थिक वर्ष २०७७ /७८ को तथ्याङ्क हेर्दा २८ हजार ६७७ जना क्षयरोगका बिरामी मात्र उपचारको दायरामा आएका छन् । जसमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र करिब ७ प्रतिशत बालबालिका रहेका छन् । त्यस्तै हरेक वर्ष १६ हजार जना क्षयरोगीको मृत्यु हुने केन्द्रले जनाएको छ ।


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० देशको सूचीमा समावेश गरेको छ । औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रुपमा २ हजार २ सय रहेको छ ।


आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५ सय ६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान भएकोमा ४ सय १८ जना मात्र उपचारमा दर्ता भएका छन् । यसरी अनुमानित औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको संख्या हेर्दा १ हजार ६ सय ३१ जनाको रोग पत्ता लगाई उपचारमा ल्याउन चुनौती देखिएको केन्द्रले जनाएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले लुकेर रहेका क्षयरोगीको पहिचान गर्न चुनौति रहेको बताउनुभयो । उहाँले क्षयरोगीको पहिचान र उपचारका लागि लगानी बढाउन सके क्षयरोगबाट हुने मृत्युलाई रोक्न सकिने बताउनुभयो ।


त्यसैगरी कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा. राजेश साम्भाजिराव पाण्डवले क्षयरोग सेवाको पहुँच बढाउन, प्रभावित व्यक्तिको सशक्तिकरण, अनुसन्धान तथा नवीनत कार्यक्रममा लगानी गर्न सुझाव दिनुभयो ।


क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणको दिशा निर्देश र विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चपर्षीय रणनितिक योजना २०७७/७८ देखि २०८२/८३ तयार गरेको छ ।


क्षयरोगमुक्त नेपाल घोषणा अभियानले राजनितिक प्रतिबद्धता, समुदायको संलग्नता, अपनत्व र नेतृत्व विकास, गैर सरकारी र निजी क्षेत्रको सुदृढीकरण, स्थानीय श्रोतको परिचालन र एकीकृत कार्यक्रमको रुपमा सञ्चालन गरी प्रत्येक स्थानीय तहलाई क्षयरोग मुक्त गर्दै क्षयरोग निवारणका लक्ष्य हासिल गर्ने उद्देश्यले यो आर्थिक वर्ष २५ वटा स्थानीय तहमा अभियानका कार्यक्रमहरु सञ्चालन भईरहेको केन्द्रका निर्देशक डा ठाकुरले बताउनुभयो । उहाँले आगामी ४ वर्ष भित्रमा ७ सय ५३ वटै स्थानीय तहमा अभियान कार्यान्वयनमा ल्याइने स्पष्ट पार्नुभयो ।


त्यस्तै २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत ८ सय ९६ माईक्रोस्कोपिक केन्द्रहरु, ८४ जिनएक्सपर्ट केन्द्रहरु, २ कल्चर तथा डि.एस.टि. र एलर्पि निदान सेवाहरुले सेवा प्रदान गरेका थिए भने उपचार सेवा अन्तर्गत ५ हजार ५ सय ३ डट्स केन्द्रहरु, २२ डी.आर. उपचार केन्द्र, ८१ डी.आर. उपचार उपकेन्द्रहरु र ६ डी.आर., होस्टेलहरु र १ डी.आर. होम मार्फत सेवा प्रदान भएको थियो ।

‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइँदैछ।


प्रतिक्रिया दिनुहोस्