Logo
|
Sunday 22nd May 2022
Logo

epaper

चिकित्सा शिक्षा आयोगद्धारा चिकित्सा शिक्षामा लिइने प्रवेश परीक्षामा ‘पर्सेन्टाइल’ प्रणाली लागू



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा दिएकामध्ये ५० प्रतिशत विद्यार्थीले पढ्न पाउने पद्धति लागू गरेको छ ।

पहिलो पटक गत वर्ष सञ्चालित एकीकृत प्रवेश परीक्षाको नतिजालाई लिएर आलोचना भएपछि आयोगले सो पद्दती लागू गरेको हो ।

आयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि २०७७ संशोधन गरेर ‘पर्सेन्टाइल’ प्रणाली लागू गरेको उल्लेख छ । आयोगका अनुसार नयाँ प्रणाली चैत १८ देखि सञ्चालन हुने एमबीबीएसलगायत स्नातक तहका विभिन्न विषयको प्रवेश परीक्षामा लागू हुनेछ ।


आयोगले गत वर्ष कार्यान्वयन गरेको पद्धतिमा दुई सय पूर्णाङ्कमा सञ्चालित परीक्षामा न्यूनतम एक सय अंक अर्थात् ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षामा भर्ना हुन योग्य हुने प्रावधान थियो । तर उक्त प्रावधानका कारण नर्सिङ, फार्मेसीलगायत विषयमा मेडिकल कलेजका लागि तोकिएको सिट संख्याभन्दा पनि न्यून संख्यामा मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । त्यतिबेला प्रश्न अति सजिलो र अति अप्ठ्यारो किसिमको बनाइएको भन्दै पनि आलोचना गरिएको थियो । यस्ता आलोचना र कमीकमजोरीबाट मुक्त हुन ‘पर्सेन्टाइल’ पद्धति लागू गरिएको आयोगले दाबी गरेको छ ।


आयोगको नयाँ निर्णयले मेडिकल कलेजमा सिट खाली रहने सम्भावना टरे पनि कमजोर विद्यार्थीले पनि चिकित्सा शिक्षा पढ्न पाउने जोखिम बढाएको विज्ञहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन डा. जगदीशप्रसाद अग्रवाल पर्सेन्टाइलले गुणस्तरमा सम्झौता गर्ने बताउँछन् । ‘यसमा कम प्रतिशत ल्याउने विद्यार्थीले पढ्ने अवसर पाउँछन् । गुणस्तरमा सम्झौता गर्ने भए किन प्रवेश परीक्षा लिनुप¥यो ?’ उनले भने, ‘कक्षा १२ कै आधारमा योग्यताक्रम निर्धारण गरेर भर्ना लिए भइहाल्छ ।’

आयोगका सदस्य सचिव भोजराज काफ्लेले पर्सेन्टाइल प्रणालीमा गलत उत्तरको नम्बर घटाउने व्यवस्था हुने भएकाले अनुमानका भरमा उत्तर दिने र अंक प्राप्त गर्ने कार्यलाई निरुत्साहन गर्ने बताए । ‘छिमेकी मुलुक र अन्तर्राष्ट्रिय अभ्यासमा पनि यो प्रणाली छ,’ उनले भने, ‘प्रतियोगितात्मक परीक्षाका लागि पर्सेन्टाइल उपयुक्त हुने देखेर लागू गरिएको हो ।’ आयोगकै कतिपय पदाधिकारीले भने एउटै परीक्षाको नतिजा विश्लेषण गरेर प्रणाली बदल्न नहुने सुझाव दिएका थिए । तर मेडिकल कलेजको सिट संख्या खाली हुँदा आयोगमाथि दबाब बढेको थियो । आयोगसँग निजी मेडिकल कलेजहरू असन्तुष्ट थिए । उनीहरूले विद्यार्थी पढाउन नसक्ने भन्दै सरकारलाई सांकेतिक रूपमा कलेजको साँचोसमेत बुझाएर नतिजाको विरोध गरेका थिए । नतिजामा पर्सेन्टाइल लागू गर्नुपर्ने माग उनीहरूको थियो ।

आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले गत वर्षको नतिजा अध्ययन कार्यदलको सुझावअनुसार नै प्रणाली परिवर्तन गरिएको बताए ।

‘परीक्षाको नतिजाको योग्यताक्रममा समावेश हुन न्यूनतम ५० औं पर्सेन्टाइल र सोभन्दा माथि रहेको हुनुपर्ने र प्रत्येक सही उत्तरका लागि एक अंक प्राप्त हुने तथा प्रत्येक गलत उत्तरका लागि शून्य दशमलव २५ अंक घटाइने व्यवस्था संशोधित कार्यविधिमा छ,’ उनले भने । कुनै विषयमा तोकिएको सिट संख्याको आधाभन्दा कम विद्यार्थी प्रवेश परीक्षाको आवेदक भए भने प्रतिशतकै आधारमा योग्यताक्रम निर्धारण गरिने आयोगले जनाएको छ । ‘पर्सेन्टाइल पद्धतिमा कमजोर विद्यार्थीले अवसर पाउँछन् भन्नु सत्य होइन,’ उपाध्यक्ष गिरीले भने, ‘पढ्नयोग्य विद्यार्थी मात्रै प्रवेश परीक्षामा सहभागी हुन पाउँछन्, एकीकृत प्रवेश परीक्षा लिएर भर्नाको योग्यताक्रम मात्रै निर्धारण गरिने हो ।’

गत वर्ष विषयपिच्छे प्रवेश परीक्षा सञ्चालन गरिए पनि यसपटक मिल्दाजुल्दा विषयमा एउटै प्रश्नपत्रबाट साझा परीक्षा गर्न लागिएको आयोगले जनाएको छ । चैत १८, २० र २१ मा हुने प्रवेश परीक्षामा ३६ हजार विद्यार्थी सहभागी हुँदै छन् । गत वर्ष ३२ हजार विद्यार्थीले परीक्षा दिएका थिए । यस वर्ष चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहमा ८ हजार विद्यार्थीले मात्रै पढ्न पाउने गरी सिट संख्या तोकिएको छ । परीक्षा केन्द्र काठमाडौं उपत्यकामा मात्रै तोकिएको छ । गतवर्ष उपत्यका बाहिर पनि परीक्षा केन्द्र थिए । कोभिड महामारीका कारण गत वर्ष काठमाडौं बाहिर पनि परीक्षा केन्द्र राखिएको गिरीले भनेका कुरा कान्तिपुरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्