Logo
|
Friday 19th April 2024
Logo

epaper

७ अर्ब लागतको प्रादेशिक अस्पताल भवनको टेण्डर रद्द, पूर्वाधार प्राधिकरणका सीईओ घिमिरेले दिए राजीनामा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । करिब ७ अर्ब रुपैयाँ लागतमा बन्ने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि गरिएको टेण्डर रद्द भएको छ ।


१२ सय शय्याको १० तले भवन निर्माणको लागि गत फागुन ८ गते र चैत २ गते गरी दुई पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम सोमबारको निर्णय अनुसार रद्द गरिएको लुम्बिनी प्रदेशअन्तर्गतको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जानकारी दिएको छ ।


ठेक्का रद्द भएसँगै प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिनुभएको छ । दबाब थेग्न नसकेपछि आफूले राजीनामा दिएको उहाँको भनाइ छ ।


‘ठेक्कामा कताकता मिलेमतो जस्तो पनि देखियो, यसको भागीदार हुनु छैन भनेर मंगलबारबाट लागू हुने गरी राजीनामा दिएको छु,’–उहाँले भन्नुभयो ।


‘मैले गम्भीर भएर सोचें, ७०० करोडको ठेक्कामा प्रतिस्पर्धा हुँदा र नहुँदा १५० करोडको क्षति हुनसक्ने अनुमानसहित देशप्रति गद्दारी गर्नु भन्दा मान्छे भएर बस्नु उचित ठानें । घिमिरेद्धारा सोमबार विज्ञप्ति जारी विज्ञप्तिमा भनिएको छ–‘ठेक्का रद्द गर्दा दलालको दलाल बन्नु नपर्ने निर्णयसहित अस्पताल भवनको ठेक्का रद्द गरेको छु।’


खरिद ऐन २०६३ को दफा २६ अनुसार ठेक्का रद्द गरेर राजीनामा दिएको उहाँको दाबी छ । स्पेसिफिकेसनको मापदण्ड अनुसार रमेश शर्माको जेडआईईसी–शर्मा र रसुवाका कांग्रेस सांसद मोहन आचार्यको रसुवा जेभी मात्र टेण्डरमा सहभागी भएका थिए । मुख्यमन्त्री कुलप्रसाद केसी अध्यक्ष रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरण समितिको निर्णय अनुसार टेण्डर गरिएको थियो ।


१० जना अट्ने लिफ्ट, २ तले अण्डरग्राउण्ड (बेसमेन्ट) निर्माणको अनुभव, ठेकदारले काम गरेको सरकारी अस्पतालको कार्य अनुभव, १ अर्ब ७५ करोडको सर्टिफिकेट लगायतका विषय राखेर अरु कम्पनीहरुलाई प्रतिस्पर्धाबाट बाहिर राख्न खोजिएको ठहर खरिद अनुगन कार्यालयले गरेको थियो ।

निर्माण व्यवसायीहरुले २० देखि ३० प्रतिशतसम्म घटेर काम लिनुपर्ने अवस्था रहेकोमा यो परियोजनामा मिलिमतो गरेर कम्तीमा १० प्रतिशत मात्रै चलखेल हुँदा पनि राज्यको ४५ करोड हिनामिना हुने निर्माण व्यवसायीको दावी छ । निर्माण व्यवसायीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नै यस्तो खालको स्पेसिफिकेसन राख्न लगाएर टेण्डर निकल्न लगाएको आरोप समेत लगाएका छन ।

प्रदेश सरकारले बनाएको गुरुयोजना अनुसार १२ सय शय्याको १० तलाको अस्पताल भवनको माथि हेलिप्याड समेत रहनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्