Logo
|
Friday 19th April 2024
Logo

epaper

आकर्षक सेवा सुविधा नहुँदा चिकित्सकहरु केन्द्रिकृत हुन बाद्य



डा. प्रज्ञा वस्नेत, डाइरेक्टर, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान


जनस्वास्थ्य सरोकार, काठमाडौँ । दाङ मध्यपश्चिम क्षेत्रमा पर्ने भएकाले यहाँ काठमाडौंको जस्तो हाइफाई प्रविधि ल्याउन निकै मुस्किल छ । प्रायः सबै चिकित्सकहरु केन्दीकृत हुन खोज्छन् । काठमाडौंमा बसेर काम गर्नु र यहाँ काम गर्नुमा निकै अन्तर छ । यहाँ काम गर्दाको चुनौती भनेको दक्ष जनशक्तिको अभाव नै हो । सरकारले चिकित्सलाई आकर्षक सेवा सुविधा दिएर ग्रामीण भेगमा पठाउनुपर्छ । किनभने अस्पतालमा दक्ष जनशक्तिको अभाव हुँदा बिरामीहरु आखिरमा रिफर गर्नुपर्ने काठमाडौ नै हो । हामी यति टाढा काम गर्न आँउदा घरपरिवार छोडेर बाल–बच्चासँगै लिएर आउनुपर्छ । यहाँ बाल–बच्चा पढाउन राम्रो शैक्षिक संस्थाको पनि अभाव छ । हवाइ सेवा पनि उपलब्ध नभएकाले गर्दा यात्रा गर्न कठिन पर्छ । राज्यले राम्रो सेवा सुविधा दिएर चिकित्सकलाई जुनसुकै ग्रामीण क्षेत्रमा पनि बसेर काम गर्छु भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनुहुन्छ राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती अस्पताल घोराही दाङकी डाइरेक्टर प्रज्ञा वस्नेत । डा. प्रज्ञासँग जनस्वास्थ्य सरोकारले लिएको अन्तर्वार्ता ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कस्तो सेवा दिइरहेको छ ? बिरामीको चाप कतिको छ ?
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दक्ष जनशक्तिको अभाव थियो । तर हाल हामीसँग जनशक्ति पनि राम्रै छ । यसअघि अस्पतालमा छाला रोग विशेषज्ञको पनि अभाव थियो । तर अहिले हामीले छाला रोग विशेषज्ञ पनि थपेका छौ । सबै विभागमा दक्ष जनशक्ति पर्याप्त भएकाले अस्पतालले राम्रो सेवा दिइरहेको छ ।

दक्ष जनशक्ति वृद्धिसँगै बिरामीलाई राम्रो सेवा दिएको हुनाले हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढेको छ । दिनमा साढे ४ सयदेखि ५ सयको हाराहारीमा बिरामीहरु उपचारको लागि अस्पताल आउने गरेका छन् ।


विगतको तुुलनामा कोभिड संक्रमण कम भएपछि अस्पतालमा बिरामीको संख्या कस्तो छ ?
कोभिड संक्रमणको जोखिम कम भएसँगै अस्पतालमा बिरामीको संख्या एकदमै बढेको छ । कोभिडका कारण अस्पताल भर्ना हुने बिरामीको संख्या भने घटेको छ । हाल अस्पतालमा कोभिडको बिरामीको भर्ना पनि खासै छ्रैन् । एक–दुई जना मात्र कोभिड आइसियुमा भर्ना हुनुहुन्छ । कोभिड एकदमै घटेका कारण अन्य रोगका बिरामीको संख्या बढेको हो ।


के कस्ता चुनौतीहरु छन् ?
केही सयम अघिसम्म राप्ती स्वास्थ्य प्रतिष्ठानमा डाक्टर, फिजिसियन, सर्जन, छाला रोग विशेषज्ञ लगायतका दक्ष जनशक्तिको अभाव थियो । तर विगतका दुई–तीन महिनामा हामीले सबै विभागमा एक–दुई जना चिकित्सकहरु थप गरेर बिरामीलाई पहिलाको भन्दा राम्रो सेवा दिइरहेका छौँ । तर हामीलाई भवनको अभाव भएकाले काम गर्न निकै कठिन छ । हामी अहिले पनि पुरानै भवनमा काम गरिरहेका छौ । अर्को नयाँ भवन बन्दै छ । तर हामीलाई हस्तान्तरण गरिसकेको छैन । त्यसैले पुरानै भवनमा काम गर्न गाह्रो छ ।

बजेट अभावका कारण अस्पतालमा प्रयोग हुने अन्य थुप्रै उपकरणहरु खरिद गरेर प्रयोगमा ल्याउन पनि सकेका छैनौं । एकदुई महिनामा एमआरआई सेवा दिने तयारी पनि गरिरहेका छौँ । यस्ता चुनौतीका बाबजुद पनि हामीले अस्पतालमा उपलब्ध सेवामा केही कमी कमजोरी नगरी निरन्तर सेवा दिइरहेका छौं ।

अस्पतालको आम्दानीबाट उपकरण खरिद गर्ने अवस्था छ कि छैन ?
अस्पतालको मात्रै आम्दानीले उपकरणहरु खरिद गर्न अलि गाह्रो नै हुन्छ । कर्मचारीहरुलाई तलब पनि त दिनुपर्यो, त्यसैले यस्तोे अवस्थामा अस्पतालको आम्दानीले मात्रै उपकरण खरिद गर्न मुस्किल नै देखिन्छ । यसरी नै अस्पतालले भविष्यमा अझै राम्रो सेवा प्रदान गर्दै गयो भने राम्रो आम्दानी भएको अवस्थामा खरिद गर्न पनि सकिएला । अहिले सुरुवाती चरणमा अस्पतालले नै सबै उपकरण खरिद गर्न नसक्ने भएकाले अहिलेको लागि अनुदान वा बजेटमै निर्भर गर्नुपर्ने हुन्छ ।

बिरामीले के–कस्ता सुविधा पाइरहेका छन् ? कस्ता बिरामीलाई रिफर गरिएको छ ?
अहिले अस्पतालमा प्राइभेट वार्ड पनि निर्माण भएको छ । प्राइभेट वार्डमा बिरामीहरुले काठमाडौको जस्तै सेवा सुविधायुक्त क्याबिनहरुको सेवा पाइरहेका छन् । तिर्न गर्नसक्ने बिरामीले प्राइभेट वार्डको सुविधा लिनसक्छन् । यसबाहेक हाड–जोर्नीेदेखि शल्यक्रिया, बच्चाको आइसियू, एनआइसियु लगायतका सबै सुविधा यहि अस्पतालले दिइरहेको छ । खासै पहिलाको जस्तो रिफर गर्नुपर्ने अवस्था छैन् । तर दिमागको समस्या भएर आएकालाई न्युरो सेन्टरमा अथवा मुटु क्यान्सर लगायतको जटिल रोग लागेका बिरामीको केशमा भने यहि सम्बन्धि उपचार हुने अस्पतालमा रिफर गर्न निकै आवश्यक छ । यस्ता निकै जटिल रोगहरु लागेका बिरामीहरुलाई मात्रै रिफर गरिदै आएको छ । नत्र सकेसम्म यहि अस्पतालमा हामी आफैले उपचार गरिरहेका छौं ।

काठमाडौंको तुलनामा ग्रामीण क्षेत्रको अस्पतालमा काम गर्दा कस्तो अन्तर पाउनुभयो ?
दाङ मध्यपश्चिम क्षेत्रमा पर्ने भएकाले यहाँ काठमाडौंको जस्तो हाइफाई प्रविधि ल्याउन निकै मुस्किल छ । प्रायः सबै चिकित्सकहरु केन्दीकृत हुन खोज्छन् । काठमाडौंमा बसेर काम गर्नु र यहाँ काम गर्नुमा निकै अन्तर छ । यहाँ काम गर्दाको चुनौती भनेको दक्ष जनशक्तिको अभाव नै हो ।

सरकारले चिकित्सलाई आकर्षक सेवा सुविधा दिएर ग्रामीण भेगमा पठाउनुपर्छ । किनभने अस्पतालमा दक्ष जनशक्तिको अभाव हुँदा बिरामीहरु आखिरमा रिफर गर्नुपर्ने काठमाडौ नै हो । हामी यति टाढा काम गर्न आँउदा घरपरिवार छोडेर बाल–बच्चासँगै लिएर आउनुपर्छ । यहाँ बाल–बच्चा पढाउन राम्रो शैक्षिक संस्थाको पनि अभाव छ ।

हवाइ सेवा पनि उपलब्ध नभएकाले गर्दा यात्रा गर्न कठिन पर्छ । राज्यले राम्रो सेवा सुविधा दिएर चिकित्सकलाई जुनसुकै ग्रामीण क्षेत्रमा पनि बसेर काम गर्छु भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।

ग्रामीण ठाँउमा काम गर्दा त्यही अनुसारको सेवा सुविधा पाउनुभएको छ त ?
चिकित्सकले काम मात्रै गर्ने होइन उहाँहरु पनि सबै सेवा सुविधा चाहिन्छ । पहिलो कुरा त दाङमा यात्रा गर्नै समस्या छ । हवाई सेवा पनि छ्रैन् । त्यसबाहेक बालबच्चा पढाउने राम्रो शैक्षिक संस्था भएको भए लामो समय यही बस्ने बारे पनि सोच्थें होला । जस्तै धरानको जस्तो वातावरण भएमा जो पनि बस्न तयार हुन्छ । धरानमा पहिला केही थिएन पछि यस्तो वातावरण बन्यो कि चिकित्सकहरुलाई त्यहि काम गर्ने लालच हुन थाल्यो । ग्रामीण क्षेत्रको समस्यालाई ध्यानमा राखेर राज्यले सहज तरिकाले काम गर्ने वातावरण बनाइदिनुपर्छ ।

त्यहाँ कार्यरत चिकित्सहरुले सरकारी अस्पतालको जस्तै सुविधा पाउनुहुन्छ ?

यो अटोनोमस संस्था हो । यस संस्थामा काम गरेपछि बाहिर अन्य संस्थामा काम गर्न पाइँदैन । असिस्टेन्ट प्रोफेसरको लेभलबाट भत्ताको व्यवस्था छ । तोकिएको तलबमा अर्को सय प्रतिशत अलाउन्स जोडेर दिइन्छ ।

राप्ती स्वास्थ्य प्रतिष्ठानमा कार्यरत चिकित्सकहरु हालको पारिश्रामिकले सन्तुष्ट हुनुहुन्छ ?
करिब ६ महिनादेखि हाम्रो पारिश्रमिकको स्केल अलिकति बढेको छ । त्यसैले अहिले यहाँ कार्यरत चिकित्सकहरु आफ्नो पारिश्रमिकदेखि सन्तष्ट नै हुनुहुन्छ ।

कस्ता बिरामीलाई सेन्ट्रलमा रिफर गर्ने र कस्तालाई त्यही उपचार गर्ने किसिमको संरचना विकास गर्नसक्ने केही भिजन बनाउनुभएको छ ?
विशेषगरि अस्पतालमा न्युरो तथा मुटुको उपचार गर्ने उपकरणको अभावले त्यससँग सम्बन्धि बिरामी रिफर गर्नैपर्ने अवस्था छ । सरकारले न्युरो तथा कार्डियो सेन्टरहरु निर्माण गरिदिएमा सकेसम्म ति बिरामी अन्य अस्पतालमा रिफर गर्नुपर्ने थिएन ।

(डा.प्रज्ञा आँखा रोग विशेषज्ञ हुनुहुन्छ । उहाँ करिब डेढ वर्षदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइरेक्टर हुनुहुन्छ । यसअघि उहाँले करिब ९ वर्षसम्म किस्ट मेडिकल कलेजमा सेवा गर्नुभएको थियो ।)

प्रतिक्रिया दिनुहोस्