Logo
|
Thursday 25th April 2024
Logo

epaper

मुगुमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै



जनस्वास्थ्य सरोकार, मुगु । मुगुमा जनस्वास्थ्यको समस्याका रुपमा रहेका टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २८ हजार ७८३ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो।

बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ।

टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको कार्यालय प्रमुख उमेश गौतमले जानकारी दिनुभयो । एक भायलमा पाँच मात्रा रहेको रङविहीन तयारी झोलका रुपमा रहेको खोप एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने उहाँको भनाइ छ।

प्रमुख गौतमका अनुसार खोप अभियानका लागि खोप लगाउने स्वास्थ्यकर्मीको तालिमसमेत सञ्चालन गरिनेछ। अभियानअन्तर्गत २१ हजार ११६ विद्यार्थी र विद्यालय बाहिरका १५ महिनादेखि १५ वर्षसम्मका सात हजार ६६७ बालबालिकालाई खोप दिइने प्रमुख गौतमले जानकारी दिनुभयो।

टाइफाइड खोपको प्रभावकारिता ९६।९७ प्रतिशत रहेको बताइन्छ। यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनेलगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने प्रमुख गौतमले बताउनुभयो ।

प्रतिलाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधिको समेत व्यवस्था गरिएको उहाँको भनाइ छ। टाइफाइड रोकथामका लागि यो खोप प्रभावकारी हुने विश्वास गरिएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्