Logo
|
Thursday 28th March 2024
Logo

epaper

उपचार अभावमा मानसिक रोगी वर्षौदेखि काठको खोरमा बन्धक



जनस्वास्थ्य सरोकार, भोजपुर । उपचार गर्न आर्थिक अभाव भएपछि मानसिक रोगी दुई दाजुभाइ वर्षौंदेखि खोरमा थुनिन बाद्य भएका छन् ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका २ जिमिगाउँका एकै परिवारका मानसिक रोगी दाजुभाइलाई लामो समयदेखि काठको खोरमा थुनेर राखिएको हो ।

उपचार गर्न नसकेपछि कान्छा छोरा ३३ वर्षीय डेगराज चौहान सात वर्षदेखि र जेठो छोरा ३७ वर्षीय डम्बर चौहानलाई दुई वर्षदेखि खोरमा थुरेर राख्नु परेको बुवा छत्रबहादुर चौहानले बताउनुभयो । उनीहरूलाई खोरमा थुनेर नराखे परिवारका सदस्य तथा बटुवालाई नै कुटपिट गर्ने, अपशब्द बोल्ने, बाहिर कुद्ने, मानिसलाई चिथोर्ने, बरबराउनेलगायत क्रियाकलाप गर्ने उहाँको भनाई छ ।

‘आर्थिक अवस्था कमजोर छ। उपचार गर्ने पैसा छैन। कमाएर ल्याउने छोराहरूमा मानसिक रोग छ‚’ उहाँले भन्नुभयो– ‘उनीहरूलाई सम्हालेर राख्न नै समस्या छ। खोरमा राखेन भने अनेक उप्रदो गर्छन्। आफ्ना छोरा हुन् माया त लाग्छ नि। तर‚ पनि पशु झैं खोरमा राख्नु परेको छ।’

ती दाजुभाइलाई ललितपुरको पाटनमा रहेको मानसिक अस्पतालमा उपचार गराए पनि रकम अभाव भएपछि घरमै ल्याएर राखेको छत्रबहादुरले बताउनुभयो । उनीहरूलाई नियमित औषधि खुवाउन नसकेको कारण झनै समस्या भएको उहाँको भनाइ छ ।

छत्रबहादुरका तीन छोरामध्ये जेठो र कान्छालाई मानसिक समस्या छ। माइलो छोरा छुट्टिएर बसेका छन्। मानसिक समस्या भएका कारण व्यक्तिगत सरसफाइलगायतका कुरामा अरूको सहायता आवश्यक पर्ने भए पनि आफ्ना छोराहरूलाई सरकारले अपाङ्गता परिचयपत्रसमेत नदिएको छत्रबहादुरको गुनासो छ।

गाउँपालिका उपाध्यक्ष धनमाया राईले आर्थिक अभावमा उपचारबाट बञ्चित भएका चौहान दाजुभाइको पहिचान भएकाले अब चाँडै अपाङ्गता परिचयपत्र बनाएर सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताउनुभयो । ‘उहाँहरूको अवस्थाबारे हामीलाई जानकारी भएपछि आवश्यक सहयोगमा जुटेका छौँ‚’ उहाँले भन्नुभयो– ‘उनीहरूलाई राज्यबाट पाउने सुविधा दिलाउन प्रक्रिया अघि बढाएका छौँ।’

प्रतिक्रिया दिनुहोस्